७ वैशाख २०८१ शुक्रबार
राजनीति

नुवाकोटको चार स्थानीय तहको नेतृत्व पुरानै

नुवाकोटको ४ स्थानीय तहको नेतृत्व गर्ने अवसर पुरानै अनुहारले पाएको छ। लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र म्यागङ गाउँपालिकाको नेतृत्व दोहोरिएको हो। 

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत  लिखु गाउँपालिकाको अध्यक्षमा धुव्र श्रेष्ठ, सूर्यगढी गाउँपालिकाको अध्यक्षमा सन्तबहादुर घले, पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा रमेश तामाङ र म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङ दोश्रो कार्यकालको लागि विजयी भएका हुन्। 

सूर्यगढी गाउँपालिकाको उपाध्यक्ष मञ्जु बुढाथोकी पनि दोश्रो कार्यकालको लागि विजयी भएकी छिन्। पञ्चकन्या गाउँपालिकाका अध्यक्ष नेकपा (माओवादी केन्द्र) को हुन् भने बाँकी नेपाली कांग्रेसको रहेका छन्।

नेकपा एमालेबाट विदुर नगरपालिकामा सञ्जु पण्डित, वेलकोटगढी नगरपालिकामा राजेन्द्ररमण खनाल, तारकेश्वर गाउँपालिकामा रमेश वस्ती, दुप्चेश्वर गाउँपालिकामा योविन्द्रसिंह तामाङ र नेपाली कांग्रेसबाट किस्पाङ गाउँपालिकामा छत्र लामाले नेतृत्व दोहोराउनको लागि उम्मेदवारी दिएका थिए। तर पराजित भएका छन्।  

विदुर, तारकेश्वर र वेलकोटगढीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) विचको साझा उम्मेदवारहरु विजयी भएका हुन्। त्यस्तै किस्पाङ गाउँपालिकामा  नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको साझा उम्मेदवार विजयी भएका छन्।  

नेपाली कांग्रेसबाट टिकट नपाए पछि मनोनयन दर्ताको अन्तिम दिन वैशाख १२ गते नेकपा एमालेमा प्रवेस गरी दुप्चेश्वर गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका योविन्द्रसिंह तामाङ पनि पराजित भएका हुन्।

प्रकाशित: ८ जेष्ठ २०७९ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App