२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

छैन मतदाता शिक्षा, बदर मत झन बढ्ने खतरा

स्थानीय तह निर्वाचन

फाईल तस्बिर: गत स्थानीय तहको निर्वाचनमा मतपत्रमा ल्याप्चे लगाउँदै एक मतदाता।

गत स्थानीय तह निर्वाचन (२०७४) मा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ मध्य २ लाख १८ हजार ३ सय ३९ मत खस्यो। कुल खसेको मत मध्य एक लाख ९९ हजार ८५ मत मात्रै सदर भयो। बाँकी १९ हजार २ सय ५४ मत बदर भयो। ५ हजार ५ सय ९३ मत पूर्ण रुपमा बदर (मतपत्रको कुनै पनि मत कामै नलाग्ने भएको ) थियो।

त्यो बेला निर्वाचन आयोग मार्फत एक महिनासम्म निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन भएको थियो। ३ सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता खटिएको दाङमा निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी मानिएन। मतदाताहरुले मतपत्रमा ल्याप्चे समेत हानेका मत भेटिएका थिए।  

स्थानीय तह निर्वाचनको ५ महिनापछि भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या झनै बढ्यो। यो बेला जिल्लामा बदर भएको मत संख्या २५ हजारर ६ सय ८५ थियो। यो मध्य १३ हजार ७ सय १६ प्रतिनिधिसभा तर्फको मत बदर भएको थियो भने ११ हजार ९ सय ६९ मत प्रदेशसभाको मत बदर भएको थियो। त्यो बेला तीन निर्वाचन क्षेत्र रहेको दाङमा कुल २ लाख २९ हजार ४ सय ९८ मत खसेको थियो।

दाङमा मात्रै हैन, १२ जिल्ला रहेको  लुम्बिनी प्रदेशमा यो निर्वाचनमा कुल यो प्रदेशका १२ जिल्लामा खसेको कुल १७ लाख बढी मत मध्य प्रतिनिधिसभा र प्रदेशसभामा गरि १ लाख ६० हजार ४ सय ४४ मत बदर भएको थियो।  

सरकारले निर्वाचन शिक्षा कार्यक्रमका लागि हरेक निर्वाचनमा करोडौँ रकम खर्च गर्दै आएको छ। निर्वाचन आयोगका अनुसार आसन्न स्थानीय तहको निर्वाचनका लागि २२ करोड रुपैयाँ मतदाता शिक्षा कार्यक्रमका भनेर लागि खर्च गरिँदै छ। तर यो रकम भने अघिल्लो स्थानीय तहको निर्वाचनका बेला भन्दा कम हो। अघिल्लो स्थानीय तहको निर्वाचनमा ८५ करोड रुपैयाँ निर्वाचन शिक्षा कार्यक्रमका लागि छुट्याईएको थियो। तर आयोगका अनुसार देशभर खसेको कुल मतको ४ प्रतिसत मतबदर भएको थियो।

करोडौँ रकम खर्च गर्दा पनि बदर मत घट्नुको साटो झन बढ्दै गएको निर्वाचन आयोगकै तथ्यांकले स्पष्ट पार्छ। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा देशभर कुल ४ प्रतिसत मत बदर भएकोमा त्यसअघिका निर्वाचनमा साढे तीन प्रतिसत सम्मको मत बदर हुने गरेको थियो।

प्रत्येक मतदाताको घरमा पुगेर सही ढंगले मत हाल्ने तरिका सिकाउँदै आएको निर्वाचन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनमा भने मतदाताका घर केन्द्रित निर्वाचन शिक्षा कार्यक्रम गरेको छैन। फलतः अहिले बदर मत संख्या झनै बढ्ने सम्भावना देखिएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार वैशाख २८ र २९ गते दुई दिन मात्रै मतदान केन्द्रमा दुई जना प्रतिनिधि खटाएर मतदान गर्ने तरिका सिकाइने भएको छ। ‘कोही सिक्न आउन चाहेको खण्डमा वैशाख २८ र २९ गते दुई दिन मतदान केन्द्रमा दुईजना प्रतिनिधि खटिएर मत हाल्ने तरिका सिकाउने कार्यक्रम छ,’ प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले भने, ‘यो बाहेक अहिले भने घरघरमा गएर मत हाल्ने तरिका सिकाउने कार्यक्रम आयोगले नगर्ने निर्णय गरिसकेको छ।’ उनले आफूहरुले चुनावमा होमिएका राजनीतिक दलहरुलाई मतदाता शिक्षा प्रदान गर्न अनुरोध गरेको र दलहरुले आआफ्नो चुनावी प्रचारका क्रममा मतदान गर्ने सही तरिकाका बारेमा सिकाईरहेको जानकारी पाएको बताए।  

‘सही तरिकाले आफ्ना मतदाताहरुलाई कसरी मतदान गर्ने भनेर सिकाउने प्रमुख दायित्व दलहरुको पनि हो,’ भण्डारीले भने, ‘हामीहरुले चुनावमा सहभागी दलहरुलाई यसबारेमा अनुरोध गरेका पनि छौँ।’ तर यसअघि घरदैलो गरेरै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिँदा समेत बदर मत बढिरहँदा अहिले यो शिक्षा नचलाईँदा बदर मत झनै बढ्ने आशंका गर्न सकिन्छ।  

‘विगतका निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिँदा पनि मत पत्रमा ल्याप्चे हानिएका थिए,’ महेन्द्र बहुमुखी क्याम्पस घोराहीका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतमले भने, ‘अहिले निर्वाचन शिक्षा कार्यक्रमनै नचलाईँदा बदर मत बढ्ने खतरा स्वाभाविकै रहन्छ।’ उनका अनुसार यो कार्यक्रम नचलाईँदा थपिएका नयाँ मतदाताहरुमा थप अन्यौलता रहन्छ। पहिलो पटक मत हाल्दा उनीहरुलाई अन्यौल हुने र मत प्रयोग गर्दा गल्ती गर्न सक्ने खतरा रहन्छ। ‘पहिलेदेखिनै मत हालिरहेका मतदाताहरुबाटै मत बदर भएका हुन्छन्,’ गौतमले भने, ‘नयाँ मतदाता थपिएका छन्, उनीहरुले पहिलो पटक मत हाल्दा उनीहरुमा अन्यौलता पैदा हुन्छ, अनि मतदान गर्ने ज्ञान बिना मतदान गर्दा त्यो म तबदर हुन जाने खतरा रहन्छ।’  

अहिले निर्वाचन शिक्षा कमजोर भएसंगै सत्तारुढ गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्दा मत बदर बढ्न सक्ने अर्को खतरा देखिन्छ। गठबन्धनमा आवद्ध दलहरु मध्य मतपत्रमा एउटा पेजमा माओवादीको र मत पत्रको अर्को पेजमा कांग्रेसको चुनाव चिन्ह छ। एउटा पेजमा गएर एउटा दललाई र अर्को पेजमा गएर अर्को दलको चिन्हमा मतदान गर्दा मतदाता झुक्किने रबदर हुन सक्ने तर्फ गठबन्धनमा आवद्ध दलहरु सचेत बनेका छन्। फलतः उनीहरुले प्रत्यक चुनावी प्रचारका कार्यक्रममा नमूना मत पत्र देखाएर सही मतदान गर्ने तरिकाका बारेमा सिकाईरहेका छन्। ‘अहिले मतपत्रको बनोटले गठबन्धनमा आवद्ध दलसंग निकट मतदाताहरु झुक्किने खतरा छ,’ गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिकाका उपमेयर पदका उम्मेदवार कांग्रेसका भुपबहादुर डाँगीले भने, ‘यो अन्यौलता नहोओस् भनेर हाम्रा साथीहरुले सहि तरिकाले मत हाल्ने तरिका पनि चुनावी प्रचारसंगै सिकाईरहनु भएको छ।’

यसैगरि वडाध्यक्ष तथा वडा सदस्यहरुमा समेत गरिएको गठबन्धनमा आवद्ध दलहरुको भागबण्डाका कारण मतदानमा अझ झन्झट हुनेदेखिन्छ। तालमेल भएका स्थानमा वडाध्यक्षदेखि वडा सदस्यमा समेत भागबण्डा गरिएका छन्। ‘वडाध्यक्ष एउटा दलको, अनि दुई  खुल्ला सदस्य मध्य एउटा एक दललाई अनि अर्को दललाई भागबण्डा भएको छ,’ डाँगीले भने ‘सदस्यहरुमा भागबण्डा गरिएको आधारमा कुन उम्मेदवारलाई कुन चुनाव चिन्हमा मत हाल्ने भन्ने जटिलता पनिदेखिएको छ।’

गठबन्धन पक्षीय मतदाताहरु कसरी मत हाल्ने भन्नेमा अनभिज्ञदेखिएका छन्। फलतः उनीहरुले आफ्ना उम्मेदवार र उम्मेदवारको चिन्ह नपहिल्याए अन्धाधुन्द मतदान हुने सम्भावनादेखिन्छ। यसले अहिलेको स्थानीय तहको निर्वाचनमा बदर मत संख्या बढाउने आशंका गरिएको छ। ‘पहिला दलहरुले मतपत्रमा लहरै रहेका आफ्ना चुनाव चिन्हमा मत प्रयोग गर्न मतदाताहरुलाई सिकाउँथे,’ महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक गौतम भन्छन्, ‘तर अहिले गठबन्धनका साझा उम्मेदवारहरु रहेकाले सात स्थानमा मत हाल्दा फरक फरक चुनाव चिन्ह छनौट गर्नुपर्ने सम्मको बाध्यता छ, यसर्थ मतदताहरुले गठबन्धनका उम्मेदवारहरुका फरक फरक चुनाव चिन्ह पहिचान गर्न सकेनन् भने मतदानमा अलमल हुन्छ, अनि अलमलमा मतदान गर्दा मत नै बदर हुने खतरा अहिले छ।’

प्रकाशित: २३ वैशाख २०७९ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App