२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

लहान नगरमा प्रतिष्ठाको लडाइँ, गठबन्धन भर्सेस एमाले

मधेस आन्दोलनको उद्गमस्थल लहान नगरपालिकाको नयाँ नेतृत्वका लागि कांग्रेस, जसपा, माओवादी केन्द्रको गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयरका उम्मेदवार मुनि साह सुडीले ११ हजार ३ सय ७ मत ल्याएर विजयी भएका थिए।

नेपाली कांग्रेसबाट मेयर उम्मेदवार अचमितलाल चौधरी ९ हजार १ सय ३८ मत ल्याएर दोस्रो भएका थिए। जसपाबाट मेयर उम्मेदवार वैद्यनाथ साहले ५ हजार ७ सय राप्रपा नेपालबाट मेयर उम्मेदवार लगनलाल चौधरीले ४ हजार ५ सय र माओवादी केन्द्रबाट मेयर उम्मेदवार खडगनारायण चौधरीले २ हजार ८ सय मत ल्याएका थिए।

पाँच वर्ष अघिको चुनावी गणितअनुसार कांग्रेस नेतृत्वको गठबन्धनको मतभार बढी छ। अहिले नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रेका छन्। उनीसँग त्यो बेला राप्रपाका उम्मेदवार बनेका लगनलाल चौधरी साथमा छ। दुबैको मत जोड्दा करिब १७ हजार पुग्छ।

त्यो बेलाको प्राप्त मत जोड्दा गठबन्धनको मत २० हजार भन्दा बढी हुन्छ। यो हिसाबले गठबन्धनको मतभार बढी देखिन्छ। तीन पटक लहानको मेयरमा सहज जीत हात पार्न सफल मुनि साहका लागि यस पटकको चुनावी प्रतिस्पर्धा सकसपूर्ण बनेको छ। गठबन्धनका कारण कांग्रेसबाट मेयरका उम्मेदवार महेश चौधरीको वजन भारी बन्न पुगेको छ।

कोरोना कहरका बेला गरिब र अभाव पीडितका घरघर पुगेर खाद्यान्न सहयोग गरेका महेश चौधरी गरिबका नायकको बन्न सफल भएका थिए। दलित र गरिबको मत निर्णायक रहेको यस नगरमा उनले दुःखका बेला जितेको गरिबको मन चुनावमा मतको रुपमा पोखिने बुद्धिजीवी राकेश झा बताउँछन्।

गरिबले दुःखको दिन कहिल्यै बिर्सिदैन लहानका बुद्धिजीवी विजय गुप्ता भन्छन्, ‘गठबन्धन दल र परिवर्तण चाहनेको मत गठबन्धका उम्मेदवारको पक्षमा पोखिन्छ।’ यता, निवर्तमान मेयर एवं नेकपा एमालेबाट मेयर उम्मेदवार मुनि साह सुडिले चुनाव बेलाका ९० प्रतिशत प्रतिबद्धता आफूले पूरा गरेर देखाइदिएको दाबी गर्छन्।

खुट्टी खोला सिँचाई नहर, घण्टा घर, चक्रपथ, भानु वाचनालयको सुविधासम्पन्न भवनलगायतका निर्माण कामलाई उनले प्रमुख रुपमा गन्ती गराए। अहिलेसम्म हेर्दा प्रतिस्पर्धा दुई दल गठबन्धन र एमालेबीच नै हुने देखिन्छ। अन्य उम्मेदवार दुई दलभन्दा केही पछि रहेको देखिन्छ।

यद्यपि, यो प्रतिस्पर्धामा तेस्रो नम्बरको दल छिर्न सक्ने गुन्जाइस अझै सम्भव छ। निर्वाचन परिणामलाई जातीय मतदाताले प्रभावित गर्ने आकलनसहित प्रमुख दलले जातीय समिकरण मिलाएर उम्मेदवार खडा गरेका छन्। सामुहिक जातीय हिसाबले साह र एकल जातीय हिसाबले थारुको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रतिस्पर्धी दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन्।

मुनी साहले २०५४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरी र राप्रपाका उम्मेदवार लगनलाल चौधरीसँग चुनाव जितेका थिए। त्यो बेला दोस्रो नम्बरमा राप्रपाका लगनलाग र तेस्रोमा कांग्रेस उम्मेदवार रामसुन्दर थिए। अहिले कांग्रेसको उम्मेदवार फरक छ। तर, एमालेको उम्मेदवार उही–मुनी साह।

कांग्रेसका मेयर उम्मेदवार महेश चौधरी पहिलो पटक स्थानीय चुनावमा उम्मेदवार बनेका छन्। अन्य दलको भन्दा कांग्रेसको संगठन पनि मजबुत छ। तर, वडाहरुमा उम्मेदवारीको विषयमा मनमुटाव छ। ‘संगठानात्मक मतबाहेकको मत जसले आफ्नो पक्षमा पार्न सक्यो उही उम्मेदवार जित्ने हो कांग्रेसका एक कार्यकर्ताले भने,‘पार्टी कार्यकर्तामाझ हाम्रो उम्मेदवार परीचित र आम मतदातामाझ उहाँको परिचय मजबुत छ।’

कांग्रेसभित्रको आन्तरिक विवाद (देउवा पौडेल लाइन संघर्ष) का कारण यहाँ टिकट विवाद भएको थियो। अहिले यो विवाद सुल्झिसकेको कांग्रेस नेताहरु बताउँछन्। सबै सँगै घरदैलोमा गइरहेका छन्। जातीय आधारले लहान नगरपालिकामा पचपनीया (तेली, सुडी, कलवार, गुप्ता, कलाल) को मतदातामा बलियो होल्ड छ।

दोस्रोमा चौधरी (थारु) तेस्रोमा महतो (कोईरी) र चौथोमा यादव मतदाता छन्। यहाँ मुस्लिम र दलित मदतादा निर्णयक अवस्थामा छन्। यहाँको राजनीतिमा डेउढी भरसेस बजारको फ्यक्टरले महत्वपूर्ण भूमीका खेल्दै आएको इतिहास छ। लहानका एक जना पुराना राजनीतिकर्मीले भने,‘स्थानीय, संसदीय निर्वाचनसम्म यहाँ डेउढी (मटिअर्वा नियन्त्रीत) भरसेस एन्टीडेउढी (बजार नियन्त्रीत) छ।’ यहाँ क्याम्पसको चुनावमा पनि यही प्रवृती देखिएको ती राजनीतिकर्मीले भने।

यसपालि गठबन्धनका उम्मेदबार महेश चौधरी डेउढी बाहिरका हुन्। निर्वाचन परिणामलाई जातीय मतदाताले प्रभावित गर्ने आकलनसहित प्रमूख दलले जातीय समिकरण मिलाएर उम्मेदवार खडा गरेका छन्। सामुहिक जातीय हिसाबले साह र एकल जातीय हिसावले थारुको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रमुख दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन्।

प्रमुख राजनीतिक दलमध्येबाट चौधरी र साहबाहेक अन्य समुदायबाट उम्मेदवारी परेको छैन। यहाँ चौधरीको मत विभाजित हुँदा अर्को चौधरी उम्मेदवारलाई र साह समुदायको मत विभाजित हुँदा अर्को साह उम्मेदवारले त्यसको फाइदा उठाउन सक्ने सम्भावना देखिन्छ।

स्थानीय तहको पुन: संरचनामा पछिल्लो समयमा केही ग्रामीण भेग थपिएका छन्। ग्रामीण भेगका मतदाता सहर बजारका भन्दा फरक हुने भएकाले त्यसले पनि चुनावी परिणामलाई प्रभावित गर्न सक्छ। राजमार्ग छेउका वडामा कांग्रेस र एमाले मजबुत रहेको र थपिएका वडामा पनि यही दुई पार्टीको संगठन राम्रो रहेको सम्वद्ध पक्षको जिकिर छ।

‘यहाँ एमाले हामीसँग प्रतिस्पर्धामा छ। त्यसले कांग्रेसलाई अझ सहज बनाएको छ,’ काँग्रेस उम्मेदवार मेहेश चौधरीले भने, ‘हाम्रो निष्ठा र पार्टीहरुको संगठनले हाम्रो गठबन्धन  टिमलाई जित दिलाउने छ।’ एमालेका उम्मेदवार मुनी साहले आफ्नो जितले यो नगरको मुर्झाएको चेहरा गुल्जार हुने दावी गरे। लहानको समाज विभिन्न आन्दोलनका कारण भावनात्मक रुपमा क्षत विक्षत भैसकेको छ।

‘ध्वस्त भैसकेको संरचना, गुमेको सौन्दर्य अवरुद्ध विकासलाई गती दिने बिराट अठोटलाई नगरवासीको सहयोगले अन्तिम रुप दिने लालसा छ’ उनले भने,‘विकास प्रेमी भनेर चिन्ने जनताले धोका दिँदैन।’ संघीय समाजवादी फोरम नेपालका ७ नम्बर वडा अध्यक्ष उम्मेदवार राकेश गुप्ता रोशनले चुनावी प्रतिस्पर्धा कांग्रेससँग भएपनि आफ्नै जित आफ्नौ हुने दाबी गरे।

‘मधेसी जनताका हकअधिकार र पहिचानका लागि हाम्रो दलको पक्षमा सचेत जनलहर छ,’ उनले भने, ‘चुनाव हामी जित्छौं।’ राप्रपाका मेयर उम्मेदवार लगनलाल चौधरीले लहानमा आफ्नो जित सुनिश्चित भएको दाबी गरे। कांग्रेस भन्दा अगाडी आफू रहेको दाबी गर्दै उनले भने, ‘लहानलाई लहान भनेर चिनाउने अवस्था मैले बनाएको हुँ।’

जसको उधारो जनताले मलाई मतदान मार्फत फिर्ता गर्नेछन्, उनले भने। यहाँको विकास, पर्यटन प्रवर्द्धन, शिक्षा र रोजगारलाई मुख्य प्राथमिकतामा राखेर चुनावी प्रचारमा जुटेको उनले सुनाए। ‘कृषि र सिपमूलक शिक्षा त यहाँको मुटु नै भइहाल्यो,’ उनले थपे।

यहाँको निर्णयक मतदाता मध्येको एक हो ‘यूवा मत’। उनीहरुको मतलाई आफ्नो पक्षमा पार्न पनि उम्मेदवारहरु कसरत तीव्र बनाएका छन्। मधेस आन्दोलनको उद्गमस्थल लहान। यहाँ भएका तीन पटकको आन्दोलन। त्यसपछि विकसित राजनीतिक घटनाक्रमले युवालाई मधेस केन्द्रित दलतर्फ आकर्षित गरेको मधेसी दलका उम्मेदवारहरुको विश्लेषण छ।

यहाँका परम्परागत मतदाताको मत राप्रपा, कांग्रेस र एमालेको पक्षमा बढी रहेको विश्लेषण गर्दै युवाको मतमा आफ्नो एकलौटी होल्ड रहेको उनीहरुको दाबी छ। नेतृत्व चयनका लागि निर्णायक युवा मतमाथि कब्जा गर्न सबै उम्मेदवार शक्ति खर्चीदै छन्।

मधेस आन्दोलनको उद्गमस्थलमा एमाले आफ्नो जितको झण्डा फहराउने कसरतमा छ। कांग्रेस आफ्नो गुमेको साख फर्काउने कसरत गर्दै छन्। मधेस केन्द्रित दल ‘अखाडा’ मा आफ्नो लाज छोप्न शक्ति खर्चीरहेका छन्।

प्रकाशित: १८ वैशाख २०७९ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App