दुई सेटको अग्रता बनाएका इटलीका लोरेन्चो मुसेट्टीले चोटका कारण बीचमै खेल छाडेपछि सर्बियाका नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चौथो वरीयाताका मुसेट्टीले तेस्रो सेटको खेल जारी रहँदा दाहिने खुट्टामा समस्या देखिएपछि बीचमै खेल छाडेकाले चौथो वरीयाताका जोकोभिचले सेमिफाइनलमा स्थान बनाएका हुन् । तेस्रो सेट जारी रहँदा पाँचौ वरीयाताका मुसेट्टी २-० ले अघि थिए । पहिलो सेट ६-४ ले जितेका उनले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेटमा भने जोकोभिचले ३-१ को अग्रता बनाएका थिए । दश पटकका अस्ट्रेलियन ओपन विजेता जोकोभिच यो जितसँगै २५औं ग्रान्डस्लाम उपाधि उन्मुख भएका हुन् ।
सेमिफाइनलमा जोकोभिचले दोस्रो वरीयाताका इटालियन जानिक सिनर र अमेरिकाका बेन सेल्टोनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
महिला एकलतर्फको खेलमा जित निकाल्दै पाँचौ वरीयाताकी एलिना रिबाकिना र छैठौं वरीयाताकी जेसिका पेगुला सेमिफाइनलमा पुगेका छन् ।
काजकिस्तानकी रिबाकिनाले पोल्यान्डकी इगा स्वातेकलाई सोझो सेटमा पाखा लगाइन् । पहिलो सेट ७-५ ले जितेकी रिबाकिनाले दोस्रो सेटमा ६-१ को सहज जित निकालिन् । दोस्रो वरीयाताकी स्वातेकलाई हराउन रिबाकिनालाई १ घण्टा ३५ मिनेट लागेको थियो ।
अर्को खेलमा अमेरिकाकी पेगुलाले आफ्नै देशकी आमान्दा आनिसिमोभालाई ६-२ र ७-६(७-१) ले पराजित गरिन् । चौथो वरीयाताकी आनिसिमोभालाई हराउन छैठौं वरीयाताकी पेगुलालाई समान १ घण्टा ३५ मिनेट लागेको थियो ।
सेमिफाइनलमा रिबाकिना र पेगुलाबीच खेल हुनेछ । अर्को सेमिफाइनलमा शीर्ष वरीयाताकी एरिना सबलेन्का र १२औं वरीयताकी एलिना भिटोलिनाबीच खेल हुनेछ ।
प्रकाशित: १४ माघ २०८२ १४:१३ बुधबार





