१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा

नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी घोषणा गरेपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।

जिल्ला नेतृत्वका लागि २४ फागुनमा भएको निर्वाचनमा यादव ६ मतले पराजित भएका थिए। त्यसपछि उनले केन्द्रीय निर्वाचन समितिमा पुनः मतगणनाका लागि निवेदन दिए। समितिले गत चैत ३० गते १ मतले विजयी भएको भन्दै प्रमाणपत्र दिएपछि सप्तरी कांग्रेसमा विवाद चुलिएको हो।

जिल्ला निर्वाचन मत परिणाम अनुसार उपसभापति पदमा संस्थापन पक्षका फतेह मोहम्मद १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन समितिले प्रमाणपत्र दिएको थियो। संस्थापन पक्षबाट उपसभापति उम्मेदवार रामकुमार यादवले १ हजार ५३ र ध्रुवनारायण चौधरीले ९ सय ५४ मत ल्याएका थिए।

उनीहरू निर्वाचनमा पराजित भएका थिए। केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतबाट प्राप्त मतगणनाको रजिस्टर झिकाएर पुनः गणना गर्दा यादवको १ हजार ५३ र मण्डलको १ हजार ५२ मत पुगेकाले यादवलाई उपसभापति पदमा विजयी भएको प्रमाणपत्र दिएको जिल्ला सभापति रामदेव साहले बताए।

‘मलाई केन्द्रीय निर्वाचन समितिले भनेको यति हो,’ जिल्ला सभापति साहले भने, ‘असन्तुष्ट पक्षले केन्द्रीय कार्यालयमा दिएको निवेदनमाथि के निर्णय हुन्छ बाँकी कुरा त्यसले निर्धारण गर्छ। म त भन्छु, सबैले केन्द्रीय कार्यालयको निर्णय स्विकारौँ।’

केन्द्रीय निर्वाचन समितिले कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदमा निर्चाचित भएको प्रमाणपत्र रामकुमार यादवलाई दिएपछि संस्थापन पक्षका उपभापति, सचिव, क्षेत्रीय सभापति लगायत पदाधिकारी निर्णय सच्याउन केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

सचिव प्रभुनारायण चौधरीले भने, ‘केन्द्रीय निर्वाचन समितिले गरेको एकोहोरो निर्णय बदर गर्नुपर्छ। एसइईको ‘रिटोटलिङ’ गरेजस्तो निर्वाचनको परिणाम होइन,’ उनले भने, ‘जिल्ला निर्वाचन समितिले दुवै पक्षका प्रतिनिधिलाई राखेर मतगणना गरी सार्वजनिक गरेको परिणाम केन्द्रीय निर्वाचन समितिले एकलौटी ढंगले उल्टाइदिएको छ।’

यता, केन्द्रीय निर्वाचन समितिको निर्णयमा ‘जिल्ला निर्वाचन अधिकृतबाट केन्द्रमा प्राप्त सक्कल मतगणना सिट तथा मतगणना सक्कल पुस्तिकामा उल्लिखित मत परिणाम अनुसार दुई उम्मेदवारमध्ये रामकुमारले कुल १ हजार ५३ मत र रामप्रसादले १ हजार ५२ मत प्राप्त गरेको स्पष्ट हुँदाहुँदै, मत परिणामको कुल योगफल निकाल्दा त्रुटि गरी रामकुमारभन्दा १ मत कम प्राप्त गरेका रामप्रसादको मत बढी देखाई, उनलाई निर्वाचित घोषणा गरेको सप्तरी जिल्ला निर्वाचन अधिकृतको निर्णय प्रथम दृष्टिमै गलत र त्रुटिपूर्ण भएकाले उक्त निर्णय खारेज गरिएको’ दाबी गरिएको छ।

केन्द्रीय निर्वाचन समितिको निर्णयउपर पदाधिकारी साथीहरूले असन्तुष्टि जनाउँदै केन्द्रीय कार्यालयलाई पत्राचार गर्नु अस्वाभाविक नभएको सभापति साहले बताए। ‘केन्द्रीय निर्वाचन समितिले दुवै पक्षलाई सन्तुष्ट पारेर निर्णय सार्वजनिक गरेको भए विवाद हुँदैनथ्यो,’ उनले भने, ‘स्थानीय तह निर्वाचनको मुखमा भएको यो निर्णयले जिल्लामा झगडा बढाउने काम गरेको छ।

केन्द्रले यो झगडा सुल्झाउन सक्यो भने सबै राम्रै हुन्छ। नभए जिल्ला अधिवेशनको यो परिणामले स्थानीय निर्वाचनको परिणामलाई नराम्ररी प्रभावित तुल्याउँछ।’ केन्द्रीय निर्वाचन समितिको निर्णय बदर नगरिए आन्दोलनमा उत्रने र राजीनामा गर्नेसम्मको चेतावनी पदाधिकारीले दिएका छन्।

सचिव प्रभुनाराण चौधरीले भने, ‘हामी केन्द्रीय कार्यालयको निर्णय पर्खेर बसेका छौं। निर्वाचित साथीलाई अपमानित बनाउने गरी केन्द्रीय निर्वाचन समितिको निर्णय बदर नभए हाम्रो पक्षका सबै पदाधिकारीले राजीनामा गर्छाैं,’ उनले भने।

संस्थापन पक्षबाट निर्वाचित उपसभापति फतेह मोहम्मद, सचिव प्रभुनारायण चौधरी र सनत मण्डल, सहसचिवद्वय घनश्याम साह र मनोजकुमार खड्का, क्षेत्रीय सभापति ललन गुप्ता, भूपेन्द्रनारायण मण्डल र महानन्दप्रसाद यादव लगायतले केन्द्रीय कार्यालयमा ज्ञापन बुझाएका छन्।

रामप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन समितिले प्रमाणपत्र समेत प्रदान गरिसकेको अवस्थामा र कार्यवाहक निर्वाचन अधिकृत सन्तोष भण्डारीद्वारा पदभार ग्रहण समेत भइसकेको अवस्थामा केन्द्रीय निर्वाचन समितिले बदनियतपूर्ण ढंगले गलत निर्णय गरेको सचिव चौधरीको भनाइ छ।

जिल्ला कार्य समितिको बैठक समेत बसिसकेको र विभिन्न निर्णय गर्दै सबै पदाधिकारी स्थानीय तह निर्वाचनमा होमिएका बेला आएको यस निर्णयले सबैलाई आश्चर्यमा पारिदिएको चौधरीले बताए। यो निर्णय नसच्याए स्थानीय तहको निर्वाचनमा सप्तरी कांग्रेसले नकारात्मक परिणामको सामना गर्नुपर्ने समेत उनको चेतावनी छ।

प्रकाशित: ४ वैशाख २०७९ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App