८ वैशाख २०८१ शनिबार
राजनीति

पोखरा महानगरः गठबन्धनका दलभित्रै हानथाप

स्थानीय तह निर्वाचन जितेर पोखरा महानगरको नेतृत्व हाँक्ने आकांक्षा सबै दलमा छ। सत्ता गठबन्धनका दलहरुसहित र एमालेबाट सम्भावित उम्मेदवारहरु अहिले आफ्नो पक्षमा निर्णय गराउन दौडधुपमा छन्। एमालेमा त निर्वाचनमार्फत महानगरको प्रमुख र उपप्रमुखका उम्मेदवार चयन गर्ने अन्तिम तयारी रोकिएर आकांक्षी जति सबैको नाम केन्द्रमा निर्णयार्थ पठाउने तयारी भएको छ। गठबन्धनका दलहरुले पनि सबैले आ आफ्ना सम्भावित उम्मेदवार अघि सारेका छन्।

गठबन्धनभित्र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पोखरामा मेयरमा दावी गरेको छ। भागबण्डाका आधारमा एकीकृत समाजवादीले पोखरामा मेयर पाउनुपर्ने दावा गर्दै आएको छ। सत्ता गठबन्धनकै अर्काे ठूलो दल कांग्रेसले पनि मेयरमा दावी छाडेको छैन। मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने दावी गर्दै कांग्रेसले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेटेर फर्केका छन्। गठबन्धनको अर्काे साझेदार माओवादी केन्द्रले पनि मेयर छाड्न चाहेको छैन।  

कांग्रेसले मेयरमा दावी गरेपनि अहिलेसम्म एक्लो उम्मेदवार तय गरेको छैन। कांग्रेसबाट धेरै नेताहरु मेयरका आकांक्षी छन्। व्यवसायीदेखि नेताहरु अहिले पोखराको मेयरको उम्मेदवार हुन चाहेका छन्। एकीकृत समाजवादीले त धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउन चाहेको छ। अर्काे दल माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई अघि सारेको छ। माओवादीले अघिल्लो स्थानीय चुनावमा पोखराको मेयरमा कांग्रेसलाई सघाएको थियो। गठबन्धन दलभित्रैबाट अहिले मेयरका लागि हानथाप भईरहेको छ।  

सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीका नेताहरुले कांग्रेसलाई तीनवटा र अरु दललाई एकएकवटा महानगर दिनुपर्ने प्रस्ताव यसअघि नै गरेका छन्। कांग्रेसलाई काठमाडौं, ललितपुर र बिराटनगर लिन प्रस्ताव गरेका दलहरुले भरतपुरमा माओवादीलाई, वीरगञ्जमा जसपा र पोखरा एकीकृत समाजवादीले लिन खोजेका छन्। तर, दलहरुले भने सकेसम्म आफ्नो पक्षमा उम्मेदवार बनाउन लबिइङ गरिरहेका छन्। दलको उपस्थिति बलियो रहेको भन्दै कांग्रेसले भने पोखरा छाड्न चाहेको छैन।

अघिल्लो पटक पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसीले मेयर पदमा जित हासिल गरेका थिए। जिसीले ६० हजार १ सय १८ मत पाएका थिए। उनका प्रतिश्पर्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाएका थिए। गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार पोखरा महानगरमा मात्र यो पटक ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन्। यसअघि २०७४ मा स्थानीय तह निर्वाचन हुँदा पोखरा महानगरपालिका भित्र १ लाख ६८ हजार ६७ जना मतदाता थिए। थपिएका सहित यो पटकको निर्वाचनमा २ लाख ७ हजार ७ सय १२ जनाले मत दिँदैछन्।  

सबै दलको जित्ने दावा

सत्ता गठबन्धनका सबै दलहरु अहिले आफ्नो पक्षमा उम्मेदवारी हत्याउन लागिपरेका छन्। गठबन्धनका ती दलका नेताहरुले निर्वाचनमा आफू उम्मेदवार बन्न पाए चुनाव जित्ने दावी गरिरहेका छन्। पोखरा महानगरमा यसअघि एमालेको पोजिसन बलियो रहेको र एमालेबाटै फुटेर एकीकृत समाजवादी बनेकोले टिकट पाए महानगर हत्याउन सहज हुने नेताहरु बताउँछन्।

एकीकृत समाजवादीका कास्की अध्यक्ष समेत रहेका मेयरका आकांक्षी धनराज आचार्यले पोखरा महानगरमा चुनाव जित्ने आधार पार्टीसँग रहेको बताउँछन्। आचार्य भन्छन्, ‘पार्टीका सबै सदस्य पुरानो एमालेका हुन्। पार्टीको नाम मात्र नयाँ हो, राजनीतिमा अनुभव लामो छ। राजनीतको पूरानो आधारले नै चुनाव जित्न सकिन्छ। हामीले दावा गर्ने आधार छोटो समयमा बनाएका छौ।’ उनका अनुसार अहिले कास्कीमा कांग्रेसको स्थान बलियो छ। पहिलो दल कांग्रेस बनेको छ । दोश्रो भने अझै पनि एमाले नै हो र तेश्रो दल एकीकृत समाजवादी हो। माओवादी चौथो दल हो।

‘हामीले गठबन्धन गरेर जाँदा मात्र जित्न सकिन्छ । एक्लै जित्न कठिन छ। मिलेर जाँदा अरुको सहयोग हुने हो,’ उनले भने। उनका अनुसार एकीकृत समाजवादीलाई पोखरा र काठमाडौंमध्ये एउटा महानगर चाहिन्छ। ‘नेताहरुले पोखरा नै भन्नु भएको छ। हामीले जित्ने आधारसहितको अंकगणित पनि निकालेका छौ। हाम्रो संगठन नयाँ बनेको हिसाबले पूराना सदस्य थपेका छौं,’ उनले भने, ‘हामी राम्रो पोजिसनमा छौ। त्यसैले पोखरा चाहिन्छ भनेका हौ।’ 

एकीकृत समाजवादीले दुई हजार भोट पाउँदा एमालेलाई चारहजार मतको नोक्सान हुने उनले बताए। ‘तर, एक्लाएक्लै जाँदा सम्भव छैन। हामी भन्दा ठूलो अरु भएपनि हाम्रो सहयोग नभएमा उनीहरुले पनि जित्न कठिन छ,’ उनले भने, ‘दावी स्वभाविक हो।’

माओवादी केन्दको पनि मेयरमा उत्तिकै दावी छ। मेयरका माओवादी केन्द्रका तर्फबाटका आकांक्षी विश्वप्रकाश लामिछाने पनि माओवादी केन्द्रका लागि गठबन्धन दलबीच सर्वसम्मत हुनुपर्ने बताउँछन्। उनका अनुसार अहिले पनि पोखराको पहिलो पार्टी एमाले हो। दोश्रोमा कांग्रेस र तेश्रोमा  माओवादीको स्थान छ। तर गठबन्धनमा माओवादी केन्द्र दोश्रोमा रहेको उनको दावी छ। ‘अघिल्लो पटकको स्थानीय चुनावमा हामीले कांग्रेसका लागि त्याग गरेको हौ। तर, कांग्रेसले जितेन,’ उनले भने, ‘अपनत्व अघिल्लो पटक नभएकोले योपटक माओवादी केन्द्रले पाउनुपर्छ भन्ने हाम्रो माग हो।’

लोकतन्त्रको सुन्दर पक्ष अनुसार सबैले चाहना राख्न पाउनुपर्ने भएकोले गठबन्धनका दलहरुले पनि चाहना राखेको उनले बताए। ‘कांग्रेसमा पनि धेरै आकांक्षी छन्। माओवादीमा पनि अरु आउन सक्छन्। त्यो नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने, ‘सत्ता साझेदार दलले चाहना राख्नु नराम्रो होईन।’ पाँच वर्षमा पोखरालाई एमालेले पछाडि धकेलेकोले जित्न सहज रहेको उनले बताए। ‘सबै दलमा आकांक्षा हुनु नराम्रो होईन। तर, केन्द्रबाट भएको निर्णय त्यो सबैले मान्नुपर्छ,’ उनले भने।

कांग्रेस कास्कीका सहसचिव नविन सिग्देल पनि राजनीतिक दलबीचको भागबण्डा समझदारीमा आधारमा हुने गरेको बताउँछन। त्यसैले केन्द्रबाट भएको निर्णय तल्लो तहमा मान्य हुनैपर्छ। तरपनि आफ्नो पक्षमा महानगर पार्न खोज्नु नराम्रो नभएको उनले बताए। ‘आफ्नो पक्षमा ल्याउन खोज्नु नराम्रो होइन। अधिकतम मतको आधारमा हामीले दावी गरेका हौ। किनकी कांग्रेसको पक्षमा पोखरामा मतदाता धेरै छन्,’ सिग्देलले भने, ‘जहाँ जुन दलका मतदाता बढी छन, त्यहाँ त्यो दलको दावा हुनु स्वभाविक पनि हो।’  

पोखरा महानगरमा अरु दलको तुलनामा कांग्रेसको अवस्था बलियो भएकोले महानगरमा अधिकार खोज्नु स्वभाविक भएको उनले बताए। ‘गठबन्धनले गरेको निर्णयलाई मान्नैपर्छ। तर, कुन दलको पक्षमा कति कुन स्थानीय तहमा छन त्यही अनुसार भागबण्डा गर्दा उत्तम हुन्छ,’ उनले भने।  

प्रकाशित: २ वैशाख २०७९ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App