७ वैशाख २०८१ शुक्रबार
राजनीति

तीन करोड नेपालीको शिर झुक्न दिन्न: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताएका छन्।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले भक्तपुरमा बिहीबारदेखि सुरु गरेको छैठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उनले आफू पदमा रहँदा कुनै पनि विचलन हुने काम भए तत्कालै पद छाड्ने बताए।

देशका गलत तत्वलाई ठेगान लगाउन आफू मन्त्री भएको बताउँदै उनले कहीँ कतै त्यस्ता तत्व भए खबर गर्न आह्वान गरे। विगतका प्रत्येक मन्त्रीले क्यासिनो सञ्चालकसँग करोड लिने गरेको आरोप लगाउँदै मन्त्री आलेले भने, ‘क्यासिनोको कर उठाउन मैले पटकपटक सूचना निकालेर ताकेता गरेँ, तर अटेर गरे, उनीहरू अटेसमटेस भएनन्, विगतका प्रत्येक मन्त्रीको गोजीमा एक/दुई करोड हालिदिएपछि सबै चुप लाग्ने रैछन्, मलाई त्यस्तै सोचेर मन्त्रालयको ढोकासम्म आउने र मन्त्री भेट्नुपर्‍यो भने, मैले पहिला कर तिरेर मात्रै भेट्न आउनुस् भनेर पठाएँ, राज्यको कर नतिर्ने क्यासिनोबाट मैले एक अर्ब पाँच करोड रुपैयाँ राजस्व उठाएँ।’

आजदेखि आचारसंहिता लाग्ने भएकाले पाँच दलीय गठबन्धनको अबको बैठकले ७७ वटै जिल्लामा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सबै पदमा तालमेलको स्पष्ट खाकासहितको सहमति बन्ने बताउँदै सोही सहमतिलाई सफल पार्न निर्वाचनका लागि गठबन्धन सक्रिय भएर लाग्न उनले आग्रह गरे।

दुई वर्ष कोरोनाले थलिएको व्यापार व्यवसायमा यस प्रकारको मेलाले धेरै राहत दिने भएकाले यस्ता मेला आवश्यक भएको उनको भनाइ थियो। त्यस अवसरमा वाग्मती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले सत्ता गठबन्धनलाई संसदीय निर्वाचनसम्म नै लैजाने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले आउँदो चुनावमा एमालेलाई सबै ठाउँबाट परास्त गरेर जवाफ दिने बताए। त्यसअवसरमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष डिपी ढकाल, नेकपा समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत लगायतले सत्ता गठबन्धनलाई कसिलो बनाएर चुनावी अभियानमा लाग्ने बताए।

कार्यक्रममा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले वैशाख ४ गतेसम्म आयोजना हुने मेलामा २ सय वटा कक्ष राखिएको र मेलामा एउटै छानामुनि विभिन्न सामान बिक्रीमा राखिएको बताए। रासस

प्रकाशित: २५ चैत्र २०७८ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App