२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचनमा जुट्न कांग्रेस नेताको आग्रह

नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुने भएकाले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन्। शनिबार नेपाली कांग्रेस विराटनगर महानगर समितिले विराटनगरमा आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयमा विचार गोष्ठीमा केन्द्रीय नेताले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।

कार्यक्रममा कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनेमा ढुक्क हुन र चुनावको तयारीमा लाग्न आग्रह गरे। ‘तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुन्छ,’ नेता कोइरालाले भने, ‘ तपाईहरू ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोस्।’ उनले गठबन्धनका विषयमा बारम्बार प्रश्न उठ्ने गरेको भन्दै विशेष परिस्थितिमा बनेको गठबन्धन चुनावसम्मका लागि मात्रै भएको स्पष्ट पारे।

उनले कांग्रेसले सरकार र प्रतिपक्षमा हुँदा दुवै परिस्थितिमा एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए। उनले पार्टीलाई एक ढिक्का बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र आफ्नो समान धारणा रहेकाले आफूहरूबीच कुनै किसिमको तिक्तता नरहेको स्पष्ट पारे। कांग्रेस उपसभापति धनराज गुरूङले कांग्रेस हात्ती भएकाले कुकुर भुक्दैमा हात्ती लम्कन नछाड्ने बताए। उनले कम्युनिस्टसँग चुनावी तालमेल कहिल्लै नहुने भन्दै चुनावी मैदानमा कांग्रेस एक्लै जाने स्पष्ट पारे। उनले हात्तीको ठूलो कानमा टाँसिए गन्तव्यमा सजिलै पुग्ने सपना नदेख्न गठबन्धनका नेताहरूलाई आग्रह गरे। उनले भने, ‘हात्तीको ठूलो कानमा टाँसिएर गन्तव्यमा सजिलै पुग्ने सपना देख्नुभएको छ भने त्यास्तो सपना देख्न छाडिदिनुस्।’

कांग्रेस महामन्त्री गगन थापाले तोकिएकै समयमा निर्वाचन हुने बताए। उनले जेठ ३० गते तोकिएको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरे। संघिय निर्वाचन चाँडै गर्नुपर्ने अवस्था सृजना भए पनि स्थानिय तहको निर्वाचन तोकिएकै समयमा गर्न कांग्रेस जिम्मेवार भएर उभिने थापाको भनाइ छ। उनले भने, ‘संसद्को गतिरोध खोल्न समयअघि नै संघिय निर्वाचन गर्नुपर्ने परिस्थिति बने पनि जोठ ३० लाई तोकिएको निर्वाचनको मिति तल माथि हुँदैन।’ थापाले नेपालमा माले, मसाले र मण्डले प्रवृत्ति घातक भएको बताए। जनतालाई भ्रममा राखेर उत्तेजनाको दोकान चलाउन कम्युनिस्ट नेताहरू लागि परेको बताउँदै उनले उत्तेजनाको दोकान चलाएर सधैं जनतालाई भ्रममा पार्न नेताहरूले नसक्ने स्पष्ट पारे।

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले १४औं महाअधिवेशनपछि नेपाली कांग्रेस युवाको पार्टी बनेको दाबी गरे। केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी हेर्दा नेपाली कांग्रेस अब, युवाको ऊर्जावान पार्टी बनेकाले उनको भनाइ छ। विचार गोष्ठीमा धारणा राख्दै नेताहरूले कांग्रेसले जनतालाई परिवर्तनको अनुभूति गराउनुपर्नेमा जोड दिए।

प्रकाशित: २२ फाल्गुन २०७८ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App