निर्वाचन आचारसंहिताको अनुगमन गर्न ताप्लेजुङमा आचारसंहिता अनुगमन अधिकृत तोकिएका छन्।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार आचारसंहिताको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई तथा कोष नियन्त्रक यमनाथ गिरीलाई अनुगमन अधिकृत तोकिएको छ। यसबाहेक मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले समेत आचारसंहिताको पालना भए नभएको बारे सूक्ष्म निगरानी गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता २०८२ ले निषेध गरेका गतिविधिहरू कोही कसैले गरेको भए मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा उजुरी गर्न सक्ने समेत जनाएको छ। आचारसंहिताले निषेध गरेका गतिविधिहरू भए गरेको पाइए आचारसंहिता अनुगमन अधिकृत भट्टराईको मोबाइल नम्बर ९८५२६६०२७० र अर्का अनुगमन अधिकृत गिरीको मोबाइल नम्बर ९८५२०३७९९९ मा सम्पर्क गर्न सकिने समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आचारसंहिता लाग्ने सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न सचेत समेत गराएको छ। सरकारले गत पुस १२ गते प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि नेपाल राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित गरी निर्वाचन आयोगले कार्यान्वयनमा ल्याएको छ।
निर्वाचन आचारसंहिताले आफूलाई लाभ हुने वा अरूलाई हानी हुने वा आममानिसलाई झुक्याउने बदनियतका साथ जानीजानी लगत वा भ्रामक सूचना सम्प्रेषण गर्नेदेखि द्वेषपूर्ण अभिव्यक्ति दिनसम्म बन्देज गरेको छ। प्रत्यक्ष वा परोक्ष रूपमा जाति, राष्ट्रिय वा जातीय उत्पत्ति, धर्म, लैंगिकता, उमेर, अपाङ्गता वा अन्य अपरिवर्तनीय समूहलाई इंगित गर्दै असहिष्णुता वा घृणा फैलाउने वा हिंसालाई बढावा दिने खालका बचन लिखत वा व्यवहार गर्न प्रतिबन्ध गरेको छ।
निर्वाचनका क्रममा वातावरणमैत्री सामग्रीको प्रयोग गर्न, जैविक रूपले नष्ट नहुने वा वातावरणमा हानी पुर्याउने कागजसहितका सामग्रीको प्रयोग नगर्न समेत आचारसंहितामा भनिएको छ। आचारसंहिताले सामाजिक सञ्जालको गलत प्रयोगमा प्रतिबन्ध गरेको छ भने राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, टिसर्ट, भेष्ट, टोपी वा क्याप, मास्क, गम्छा, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याग, ट्याटु जस्ता सांकेतिक सामग्रीको उत्पादन, प्रयोग, बिक्रीवितरण वा प्रदर्शन गर्न प्रतिबन्ध गरेको छ।
आचारसंहिताले सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न प्रतिबन्ध गरेको छ। यस्तै बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नहुने आचारसंहितामा उल्लेख गरिएको छ। आचारसंहिताले कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमद्वारा प्रकाशन वा प्रसारण गर्नमा प्रतिबन्ध गरेको छ।
प्रकाशित: १५ माघ २०८२ १३:५१ बिहीबार





