१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमसीसीबारे के भन्छन् त शीर्ष नेताहरु?

नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गरेका छन्। बिहीबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरी महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरि देशको स्वाधिनता र स्वाभिमान बचाउन लागेकोले एमसीसीको कुरा कहिल्यै नमिल्ने दाबी गरेका हुन्।

उनले एमसीसीको विरुद्धमा अहिले सडकमा आन्दोलन र प्रदर्शन भइरहेको भन्दै अब सडक तात्ने मात्र नभइ बल्ने गरी आन्दोलन हुने चेतावनी दिए। त्यस्तै गृहमन्त्री तथा नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले एमसीसी पास हुने आशंका व्यक्त गरे।

उनले नेपालमा कतिपय घटनाक्रमहरु पहिला हुँदैन भनिए पनि पछि भएको प्रमाण रहँदै आएको भन्दै एमसीसी सकारात्मक ढंगले अघि बढ्ने बताए। उनले सरकार सदन सुचारु रुपम चलाउन लागि परेको पनि बताए।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भीम रावलले शक्ति राष्ट्रहरुको चपेटामा देश परेको बताए। उनले एमसीसीमा राष्ट्रहित विपरित धेरै प्रावधानहरु रहेको भन्दै त्यो नसच्याइ नेकपा एमाले जस्तो जबजको सिद्धान्त र महाधिवेशनबाट पारित कार्यक्रमहरु बोकेको पार्टीले एमसीसीमा समर्थनमा जानु नहुने बताए। सांसद रावलले नेकपा एमालेको नीतिमा भएका कुराहरुले पनि एमसीसीको समर्थन गर्न नदिने जिकिर गरे।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा यथास्थितिमा एमसीसीको विपक्षमा रहेको बताए। उनले ठूला राजनीतिक दलको केटाकेटी पन र आलोकाँचो व्यवहारका कारण देश आज शक्तिराष्ट्रहरुको रणनीतिक स्थलको रुपमा परिणत भइरहेको र परराष्ट्रनीतिमा सन्तुलन बिग्रिरहेको बताए। सांसद लिङदेनले देश र जनतालाई विभाजित गर्ने खालको क्रियाकलापको पक्षमा राप्रपा नरहने पनि स्पष्ट पारे।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगश भट्टराईले गठबन्धन भत्काउन नेकपा एमालेले धुप हाल्ने र गणेशलाई पूजा गर्ने काम नगरेको भन्दै गठबन्धन सत्तारुढ दलहरुकै कारणले भत्किने बताए। उनले गठबन्धन भत्किएपछि मात्रै देशले निकास पाउने र गठबन्धन रहुन्जेल देश अनिर्णयको बन्दी हुने भन्दै गठबन्धन छिटो भत्किँदा राम्रो हुने बताए।

सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई ब्ल्याङ्क चेकको माग गरिरहेको बताए। उनले एमाले आफ्नो माग पूरा नभएसम्म कुनै पनि कुरामा सहभागी नबन्ने भन्दै उनले स्पष्ट रुपमा एमालेसँग ब्ल्याङ्क चेकमा नभइ ब्ल्याक एण्ड ह्वाइटको कुरा हुनुपर्ने बताए।

सांसद भट्टराईले अहिले पार्टी र भातृ संगठनका कुराहरु ल्याएर राष्ट्रिय मुद्दा बनाइ नेपाललाई राजनीतिको चलखेल गर्ने अखडा बनाइएको आरोप लगाए। उनले गठबन्धन सरकारले देशको बेइज्जत गरेको र मुलुकको अन्तर्राष्ट्रिय शक्ति अत्यन्तै कमजोर बनाएको पनि बताए। सांसद भट्टराईले देशलाई कमजोर बनाएको जिम्मा प्रधानमन्त्री देउवाले लिनुपर्ने पनि बताए।

नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले आज बेलुकासम्म सत्ता समीकरण रहिराख्ने र नरहने बारेमा स्पष्ट हुने बताए। उनले भोलि (शुक्रबार) एमसीसीको बारेमा टुंगो लाग्ने र सरकार पक्षमा स्पष्ट र आरामदायी बहुमत जुटाउने पक्षमा रहेको विश्वास व्यक्त गरे। सांसद विश्वकर्माले नेकपा एमालेले सरकारबाट सत्ता गठबन्धन टुटेमा आफू आउन तयार रहेको बताएको पति दाबी गरे। उनले नेपालको स्वतन्त्रताका लागि लडेको देशले सित्तैमा दिएको सहयोगलाई नांगेझार बनाएर र नाराजुलुस् गरेर खेट्न नमिल्ने पनि बताए।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरदसिंह भण्डारीले पार्टी एमसीसीको पक्षमा रहेको बताए। उनले यसको निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको र पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने पनि बताए।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले गठबन्धन कायम रहने र यथास्थितिमा एमसीसी पास नहुने दाबी गरे। उनले संशोधन र परिमार्जन गरेर अघि बढ्ने स्थिति भएमा पार्टीले पुनः विचार गर्ने पनि स्पष्ट पारे।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले सरकारले सत्तारुढ दलहरुले एमसीसी यथास्थितिमा पास हुन नसक्ने भन्दै गर्दा यसलाई सकारात्मक ढंगले लिनुपर्ने बताए। उनले आज सरकारले संसद रोक्नुको कारण वृहत सहमतिका लागि नभएको पनि उनले बताए। उनले सरकारले पास गराउनका लागि बहुमत पुर्‍याउन नसक्दा विभिन्न गतिविधि गरेको बताए। सांसद पोखरेलले एमसीसी बारेमा सरकार भोटिङ चरणमा गइसकेपछि आफ्नो पार्टी गठबन्धनमा नरहने बताइएको पनि स्पष्ट पारे।

त्यस्तै नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदलाई सरकारले निकम्भा बनाएर जुन बेला मन लाग्यो त्यही बेला संसद बन्द गराएको भन्दै आपत्ति जनाए। उनले सरकारमा रहँदा प्रचण्डले नै दुई पटक एमसीसी अघि बढाएको र कुलमान घिसिङलाई विज्ञ बनाएर एमसीसीमा छानिएको भन्दै तमासा मच्चाउने र जनतालाई उकास्ने तथा संसदमा टेबुल गर्ने काम भइरहेको बताए। सांसद अधिकारीले नेपाली कांग्रेस अहिले आफू गम्भीर शंकटमा परेको कुरा एमालेसँग भनिरहेको र अझै पनि काँग्रेसले आफ्नो पोजिशन क्लियर नगरेको बताए।

प्रकाशित: १२ फाल्गुन २०७८ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App