१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चीनको प्रश्नः उपहार हो कि प्यान्डोराज बक्स

चीनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौता नेपालका लागि उपहार हो वा प्यान्डोराज बक्स भनेर प्रश्न गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बुधबार नियमित पत्रकार सम्मेलनमा एमसिसी सम्झौताबारे अमेरिकी अधिकारीहरूको भनाइप्रति प्रतिक्रिया जनाउँदै यस्तो बताएकी हुन्। उनले नेपालस्थित अमेरिकी दूतावासले पाँच सय मिलियन डलरको एमसिसी सहयोग अमेरिकी जनताबाट नेपाली जनताका लागि उपहार भएको बताएको भनाइ उद्धृत गर्दै भनिन्, ‘मलाई आश्चर्य लागेको छ, जब उपहार आउँछ, त्यो एउटा चेतावनीको प्याकेटका रुपमा कसरी आउन सक्छ?

यस किसिमको उपहार कसैले कसरी स्विकार्न सक्छ?’ उनले नेपाली जनताले यसलाई हेर्दा राम्रो देखिने तर चपाउन नसकिने मासु भन्छन् कि भन्ने आफूलाई डर लागेको बताइन। उनले एमसिसी संसद्बाट अनुमोदन नभएमा नेपाल र अमेरिकाबीचको दुईपक्षीय सम्बन्धमा असर गर्ने भन्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई आफूले नोटिस गरेको बताइन्।

चीनले अन्तर्राष्ट्रिय विकास सहयोग अघि बढाउँदा परस्पर आदर र समानताको सिद्धान्तलाई कायम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने उनले बताइन्। नेपालको सम्प्रभूता र नेपाली जनताको चाहनालाई सम्मान गर्नुपर्ने, आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो। कुनै राजनीतिक स्वार्थ र बलपूर्वक कूटनीति प्रयोग गर्न नहुने र आफ्नो स्वार्थ पूरा गर्न कसैको सम्प्रभूता र हितमाथि असर पार्ने काम गर्न नहुने उनले बताइन्।

यसअघि गत शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा नेपालको आर्थिक विकास र नेपाली जनताको जीवनस्तरमा योगदान पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायले गर्ने विकास सहयोगको चीनले स्वागत गर्ने तर यस किसिमका सहयोगले नेपाली जनताको चाहनालाई पूर्ण सम्मान गर्नुपर्ने बताएका थिए।

उनले भनेका थिए, ‘त्यस्ता सहयोगमा राजनीतिक स्वार्थ जोडिनुहुँदैन। नेपालको सम्प्रभूता र हितमा असर पुर्‍याउने गरी धम्कीपूर्ण कूटनीतिका माध्यमबाट आफ्नो स्वार्थ अघि बढाउने कुराको हामी विरोध गर्छाैं।’ नेपालको निकट छिमेकी र विकास साझेदारका हिसाबले सधैं जस्तै स्वतन्त्रतापूर्वक नेपाली जनताले छनोट गर्ने विकासको पथलाई चीनले साथ दिने उनले बताएका थिए।

एमसिसी सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदै जाँदा केही समयअघि अमेरिकाले एमसिसी कार्यान्वयन गर्ने वा नगर्ने विषयमा यथाशीघ्र निर्णय गर्न नेपालको राजनीतिक नेतृत्वसँग आग्रह गरेको थियो। पछिल्लोपटक माघ २७ गते दक्षिण एसिया तथा मध्य एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर एमसिसीबारे यथाशीघ्र निर्णय गर्न आग्रह गरेका थिए।

नेपाली नेताहरूसँगको कुराकानीमा लुले एमसिसी पास नगरे अमेरिकाले नेपालसँगको सम्बन्धमा पुनर्विचार गर्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो। सहायक विदेशमन्त्री लुले एमसिसी कार्यान्वयन नभएमा अमेरिकाले त्यसमा चिनियाँ भूमिकाले काम गरेको ठान्ने बताएका थिए।

प्रकाशित: १२ फाल्गुन २०७८ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App