३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदानका लागि आतुर बन्दै स्थानीयतहका मतदाता

क्याप्शन

स्थानीयतहको निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाताहरुमा विस्तारै कसलाई मतदान गर्ने भन्ने छलफल हुन थालेको छ। अहिलेका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा गरेका सकारात्मक र नकारात्मक कामको पनि मूल्यांकन सर्वसाधारण मतदाताले गर्न थालेका छन्।  

अधिकांश जनप्रतिनिधिले घर, घरेडी, गाडी र बैंक व्यालेन्स थुपारेको स्थानीय मतदाताले देखिरहेका छन्। गत स्थानीयतहको चुनावपछि धेरै जनप्रतिनिधिको आर्थिक हैसियतमा अकल्पनीय बदलाव आइसकेको देख्ने मतदाताहरु नयाँ चुनावमा मतदानका लागि आतुर भइरहेको देखिएका छन्।  

सरकारले वैशाख ३० मा एकैसाथ देशभर स्थानीयतहको निर्वाचनको घोषणा गरेको छ। निर्वाचन आयोगले पनि तयारी थालिसकेको छ। संचार माध्यमबाट मतदाताले निर्वाचनको बारेमा भइरहेका सबै प्रगति थाहा पाइरहेको र मतदानको लागि आतुर बन्दै गएको नागरिक समाज रौतहटका अध्यक्ष विजय किशोर झा बताउँछन्।  

सामान्य मतदातालाई पाखा लगाएर अधिकांश पालिकाका जनप्रतिनिधिले आफन्तलाई काखी च्यापेर धेरै आर्थिक प्रगति गरेका छन्। जनप्रतिनिधिका आफन्तले पनि सदरमुकाम, प्रमुख सहर वा राजधानीमा घर र घडेरी जोडिसकेका छन्। यस्तो अवस्थामा वैशाख ३० मा हुने निर्वाचनमा नयाँ किसिमले मतदान गर्ने सोचाइ अधिकांश मतदाताको रहेको वुद्धिजीवीहरु बताउँछन्।

सर्लाही र रौतहटका सम्भवतः कुनै पनि पालिका प्रमुखले पालिका भित्रको न्यायपालिकालाई संचालनहुने वातावरण नदिनुमा यही आर्थिक स्वार्थ रहेको वुद्धिजीवीहरुको विश्लेषण रहेको छ। सर्लाहीको बलराका मुकेश मिश्रले स्थानीय इजलास चल्दा उपप्रमुख प्रति आकर्षण बढ्ने भय र आर्थिक परिचालनमा उपप्रमुखको हैसियत बढ्ने डरले गर्दा पालिकाको न्याय प्रणालीलाई भ्रुणा वस्थामै हत्या गरिएको आरोप लगाउँछन्।  

गत स्थानीयतहको निर्वाचनबाट छनौट भएर आएका जनप्रतिनिधिहरुले पालिकाको आर्थिक अधिकारको दुरुपयोग गर्नु बाहेक अन्य कुनै पनि कर्तव्यको पालना गर्न नसकेको आरोप पनि रहेको छ। शिक्षा, स्वास्थ्य र कृषि तिर एकाधपालिका बाहेक खासै कतै दुर्गति बाहेक प्रगतिगर्न नसकेको सर्लाहीकै धनकौलका रामवचन यादवको आरोप छ।

जनतालाई दिइने सेवा र सुविधा प्रति गम्भीर नहुने तर आफ्नो सेवा र सुविधाको नाममा पालिकाको ब्रह्मलुट गर्ने जनप्रतिनिधिहरुलाई पाठ पढाउने समय आउन लागेकोले मतदाता आतुर बन्दै गएको रौतहट सदरमुकाम गौरका विक्रान्तविक्रम साह बताउँछन्। निर्वाचित जनप्रतिनिधिहरु आत्तिएर चुनावको मुखमा कम्बल र ओढ्ने वितरण गरेको आरोप पनि रहेको छ।

सम्पूर्ण अवधि मनोमानी गरेर बिताएका जनप्रतिनिधिहरु जनताका बिचमा फेरि मुख देखाउन जाने बाटो बनाउन ज्येष्ठ नागरिकलाई सम्मानको नाममा एउटा ओढ्ने ओढाएर प्रभावित गर्न खोजेको आरोप साहको रहेको छ। चुनावको तिथि घोषणा भइसकेपछि कुनै पनि जनप्रतिनिधिलाई पालिकाको खर्चबाट कम्बल, ओढ्ने, ग्याँस सिलिन्डर जस्ता केही पनि वितरणमा रोक लगाउनु पर्ने माग पनि बढेको छ।

झन्डै पाँच वर्ष केही पनि नगर्ने अनि चुनावको मिति घोषणा भएपछि पालिको खर्चमा कुनै पनि सामग्री मतदातालाई बाँड्नु भनेको आफ्नो प्रचार गर्नु हो भन्दै केहीले निर्वाचन आयोगको तत्काल ध्यानजानु पर्ने बताएका छन्। मतदाता निर्वाचनको लागि तयार रहेको अवस्थामा केही पालिकाका जनप्रतिनिधिहरुले पालिकाको दोहन गरी मतदातालाई प्रभावित पार्न खोजेको आरोप मतदाताको रहेको छ। 

प्रकाशित: ७ फाल्गुन २०७८ ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App