coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोसपा फुटाएर तमलोपा जन्माउन गृहकार्य

६ महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीभित्र ६ महिना पनि नबित्दै विवाद सुरु भएको छ। पार्टीभित्र महन्थ ठाकुर र राजेन्द्र महतोपक्षबीच विवाद बढ्दै गएको छ। तर लोसपाका केही शीर्ष नेताहरू भने ठाकुर र महतोबीचको विवादमा नपरी पुरानो तराई मधेस लोकतान्त्रिक पार्टीलाई सक्रिय र संगठित बनाउने अभियान सुरु गरेका छन्।

यस अभियानमा पूर्व राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष तथा राष्ट्रियसभाका पूर्वसदस्य बिर्खेशचन्द्र लाल, पुरानो राजपाका उपाध्यक्ष डा. विजय सिंहलगायत नेताहरूले अगुवाइ गरिरहेका छन्। उनीहरूले तमलोपाको राजनीतिक अवधारणापत्र, घोषणापत्र र विधानसमेत तयार गरेका छन्।

निर्वाचन आयोगमा कसैले तमलोपा दर्ता गर्न नसकोस भनी बिर्खेशचन्द्र लालले आफूनिकट एक व्यक्ति रविशंकरलाल कर्णलाई आयोगमा तमलोपा दर्ता गर्न लगाएका छन्। लालले अब आफैं अगाडि आएर यस अभियानको अगुवाइ गर्ने तयारी गरेका छन्। एक दुई दिनभित्रै उनले यस अभियानको औपचारिक घोषणा गर्दैछन्।

लालले भने, ‘मधेसी जनता जसपा र लोसपाबाट खुसी छैनन््। यी दुई पार्टी सत्ता र सरकारकोलागि मात्र केन्द्रित भए। मधेसका मुद्दालाई पूरै बिर्से।’ मधेसका जनताले मधेसका मुद्दालाई आधार मानेर नयाँ संगठन निर्माण होस भन्ने चाहेको उनले बताए। उनले भने, ‘अब केही साथीहरूले तमलोपालाई अगाडि बढाउने विषयमा छलफल गरिरहेका छन्। यो अभियान जाजय र उपयुक्त छ।’ केही दिनभित्रै आफूले नयाँ घोषणा गर्ने पनि उनले बताए।

लालको यस अभिव्यक्तिबाट पनि उनी यस अभियानमा सक्रियताको साथ लागेको पुष्टि हुन्छ। २०६४सालको मधेस आन्दोलनपछि तमलोपा गठन भएको थियो। तमलोपका तत्कालिन अध्यक्ष महन्थ ठाकुर अहिले लोसपाका अध्यक्ष छन्। पुरानो तमलोपालाई सक्रिय बनाउने अभिायनमा लागेका लाललगायत नेताहरू त्यसबेला तमलोपामै थिए।

तमलोपालाई सक्रिय बनाउने अभिायनमा लागेका लोसपाका अर्का एक नेताले भने, ‘हामी अहिले ठाकुर र महतो दुवैको व्यवहारबाट दिक्क भइसक्यौं। पुरानो शैली, पुरानो चलन, र फेरि अध्यक्ष मण्डल बनाउन खोजिएको छ।’ उनले आफ्नो नाम खुलाउन भने चाहेनन्।

यता लोसपाभित्रको विवाद चर्किँदै गएको छ। निर्वाचन आयोगमा बुझाइएको कार्यकारिणी समिति बाहेक लोसपाले अहिलेसम्म अर्को समिति बनाएको छैन। अझै रमाइलो कुरा के छ, भने, पार्टी गठन भएदेखि अहिलेसम्म एकपटक पनि कार्यकारिणी समितिको बैठक बसेको छैन। कन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति तथा भातृ संगठनहरू गठन भएका छैनन्।

लोसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। दलको नेता चयन नगरे पनि पार्टी अध्यक्ष महन्थ ठाकुरले उमाशंकर अरगरैयालाई दलका प्रमुख सचेतकमा मनोयन गरेका छन्। सहमतिमा आफूलाई प्रमुख सचेतकमा मनोनय गरिएको अरगरैयाले बताए। लोसपाका कार्यकारिणी समितिका सदस्य राजिव झाले नेतृत्वको असक्षमता र अकमन्र्यताले पार्टी गतिहिन भएको बताए। ‘सँगसँगै निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर संगठन बनाइसक्यो। हामीले भने एकपटक बैठक पनि गर्न सकेका छैनौ,’ झाले भने, ‘नेतृत्व गतिहीन छ। नेतृत्वले सगठन गर्न चाहेको छैन।’

अघिल्लो महिना ठाकुरले मधेस प्रदेशको अध्यक्षमा जितेन्द्र सोनाललाई मनोनित गरे। यो मनोनय पनि निकै विवादयुक्त बन्यो। सोनाललाई मनोयन गरिएको विषयमा असन्तुष्ट नेताहरू पार्टी कार्यालय आएरै कार्यालय घेराउ गरे।

लोसपामा विवाद बढ्दै गए पनि लोसपाका नेताहरू भने जनता समाजवादी पार्टीमा विवाद बढ्छ र यसबाट आफूलाई फाइदा हुन्छ भनेर पर्खेर बसेका छन्। लोसपाका एक कार्यकारिण्ी समितिका सदस्यले भने,‘जसपामा विवाद बढ्यो भने निश्चय पनि त्यसले हामीलाई फाइदा गर्छ। फुटेको एउटा पक्षसँग हाम्रो एकता हुन्छ।’

जसपा र लोसपाको भोट बैंक तथा आधार भूमि मधेस हो। त्यसैले लोसपामा विवाद बढेकोमा जसपा र जसपामा विवाद बढेकोमा लोसपाका नेताहरू खुसी छन्।

प्रकाशित: १८ माघ २०७८ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App