२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसमा थप तीनजना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार थप तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको भोलिपल्ट देउवाले महाधिवेशनमा सभापति पदमा पराजित कल्याणकुमार गुरुङ, महामन्त्रीमा पराजित प्रदीप पौडेल र सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीलाई मनोनयन गरेका हुन्।  

पार्टी विधानको धारा २१ को उपधारा १० अनुसार देउवाले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

देउवाले शनिबार सोही धाराअन्तर्गत नेता पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। शनिबार मनोनीतमध्ये पाँचजना १४औं महाधिवेशनमा सभापतिसहितका पदाधिकारीमा पराजित भएका हुन्। कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ। केन्द्रीय सदस्यमा अब २० जना मनोनीत हुन बाँकी छ।  

यसैबीच कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनोटसहितका विषयमा छलफल गर्न सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो। बैठकले राष्ट्रियसभामा रिक्त १९ पदका लागि उम्मेदवार छनोट र गठबन्धनका विषयमा निर्णय लिने नेताहरूले बताएका छन्। पार्टीको १४औं महाधिवेशनपछि सोमबार दोस्रोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो। यसअघि यही पुस १० गते पहिलो बैठक बसेको थियो।

प्रकाशित: १९ पुस २०७८ ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App