२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

एक दशकपछि पर्सामा ओलीको सम्बोधन

नेकपा एमाले अध्यक्ष केपी ओलीले करिब एक दशकपछि पर्सामा सार्वजनिक कार्यक्रममा भाग लिएका छन्।

पहिले ओलीको विरोधमा गाउँगाउँबाट लाठी जुलुस प्रदर्शन भएको देहातको जगरनाथपुर गाउँपालिकामा एमालेले भव्य रूपमा सन्देशसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो। सो अवसरमा पछिल्लो मधेस आन्दोलनका बेला सबैभन्दा बढी ओलीविरुद्ध चर्को विरोधी नारा लगाएका नेता पनि ओलीको हातबाट टीका माला लगाएर एमाले प्रवेश गरेका छन्।

नेकपा (माओवादी केन्द्र)बाट पर्सा जिल्लाको जगरनाथपुर गाउँपालीकाको प्रमुखमा जितेका जालीम मियाँलगायत हजारौं नेकपा एमालेमा प्रवेश गरेको आयोजकको दाबी छ। उनीसँगै केही निर्वाचित वडास्तरीय जनप्रतिनिधि पनि पार्टी प्रवेश गरे।

मधेस आन्दोलनताका तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का जिल्ला सचिव रहेका र त्यतिबेला ओलीलगायत प्रमुख दलका नेताको विरोधमा चर्को नाराबाजी गर्ने युवा नेता चन्दन मिश्रले पनि केपी ओलीको हातबाट टीका माला थापेर एमालेमा विधिवत प्रवेश गरेका छन्।

पर्सा क्षेत्र नम्बर २ बाट जनता समाजवादीबाट प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तव आगामी निर्वाचन नेकपा एमालेबाट चुनाव लड्ने चर्चा रहेको बेला उनको सबभन्दा नजिकका पात्र मिश्र एमाले प्रवेश गरेका हुन्। यसलाई श्रीवास्तवको प्रतिनिधिको रूपमा अथ्र्याइएको छ।

त्यस्तै कालिकामाई गाउँपलिका–२ मा नेपाली जनता दलबाट निर्वाचित वडाध्यक्ष सोनालाल चौरसिया पनि एमाले प्रवेश गरेका छन्। एमाले प्रदेश २ कमिटीले ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा प्रदेश २ को आठवटै जिल्लाबाट भारी संख्यामा सहभागी उतार्ने तयारी एक साता पहिलेदेखि नै गरेको थियो।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमाले देशमा भ्रष्टाचारविरुद्ध अभियान लिएको पार्टी भएको दाबी गरे। जगरनाथपुरमा आयोजना भएको सभालाई सम्बोधन गर्दै ओलीले एमाले विकास निर्माणको काम गर्ने पार्टी भएको जिकिर गरे। तराई मधेसको बहुप्रतिक्षित हुलाकी सडकदेखि अनेकौं विकास निर्माणको योजना आफ्नै नेतृत्वको सरकारमा साकार भएको उनको भनाइ थियो।

नेकपा एमालेले जतिको विकास कसैले गर्न नसकेको भन्दै विकासका विरोधीले परामादेशको भरमा सरकार बनाएको र अहिले सरकारले विकास निर्माण गर्न नसकेको आरोप लगाए। ‘वर्तमान सरकार जनताले चाहेको सरकार होइन, विकास नरुचाउने गोलबद्ध भएर बनाएको सरकार हो,’ उनले भने, ‘देशमा विकास चाहिएको छ,स्थिरता चाहिएको र जनताको जीवनस्तर उकास्ने नीति तथा योजना चहिएको छ भने नेकपा एमालेको विकल्प छैन।’ आफूले भारतीय भूमि फिर्ता गराउने, भारतको सरकारसँग पहल गरेर सीमाक्षेत्रका जनताको डुबानको समस्या समाधन गरेको जस्ता काम गरेको भन्दै उनले एमालेलाई तराई मधेशको हित चाहने पार्टी बताए। हेलिकप्टरबाट जगरनाथपुर पुगेका ओलीले त्यहाँको नवनिर्मित गाउँपालिका भवनको उद्घाटन पनि गरे।

कार्यालय उद्घाटन बहिस्कार

सन्देश सभा तथा पार्टी प्रवेश कार्यक्रमअघि आयोजित जगरनाथपुर गाउँपालिकाको कार्यालय उद्घाटन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्षसहित जनप्रतिनिधिले बहिस्कार गरेका छन्। उपाध्यक्ष बिसमिल्लाह खातुनसहित २६ जना जनप्रतिनीधिले कार्यक्रमको पूर्वसन्ध्यामा बुधबार बैठक बसेर कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका थिए। कार्यक्रम बहिस्कार गरेका जनप्रतिनीधिहरूले गाउँपालिकाको भवन निर्माणमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन्।

प्रकाशित: ९ पुस २०७८ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App