१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेलाई सजायँ दिनमात्र बाँकी छ: भट्टराई

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सजायँ दिनमात्र बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफको क्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताउँदै एमालेले अब पनि संसद बैठक सूचारु नगरे जनता आफैले दण्डित गर्ने दाबी गरे।  

अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क गरे। गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाण नै संसद अवरुद्ध गरिरहनु रहेको उनको भनाइ थियो। अध्यक्ष भट्टराईले संसदमा असहमति राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यहीभित्र तर्क वितर्क गर्ने रहेको बताए।  

उनले भने, ‘लोकतन्त्रको मर्म विपरित, संविधानको विपरित त हुँदै हो। उहाँहरुले स्विकार गरेको लोकतन्त्र भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष। यसैलाई त उहाँहरुले जनताको बहुदलीय जनवाद भनेर स्विकार गर्नु भएको छ। त्यो भनेको तर्कवितर्क गर्ने, विरोध गर्ने तरिका हो। बैठक नै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो। संविधानलाई असफल पार्ने कुरा हो। यसले पनि केपी शर्मा ओली गत पुस ५ गतदेखि प्रतिगमनकारी दिशामा हुनुहुन्थ्यो। उहाँहरु अहिले पनि त्यसैमा हुनुहुन्छ। सरकारले अग्रसरता लिने भनेको त उहाँहरुलाई यस्तो अवरोध जुन गरिराख्नु भएको छ। त्यसलाई दण्डित गर्न मात्रै बाँकी छ । जनताले दण्डित गरोस् भन्ने हाम्रो भनाइ थियो।’

अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए।

प्रकाशित: ७ पुस २०७८ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App