१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

खुलातर्फ कांग्रेस केन्द्रीय समितिमा १६ नयाँ अनुहार

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवानिकट पक्षको बाहुल्य भएको छ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको मतदानको आइतबार सम्पन्न गणनाअनुसार देउवा समूहबाट उम्मेदवार बनेका २५  नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका  हुन्। ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा इतर समूहका १० नेतामात्र स्थान सुरक्षित गर्न सफल भएका छन्।

कांग्रेस निर्वाचन समितिले साँझ दिएको अन्तिम मतपरिणामअनुसार खुलातर्फका ३५ केन्द्रीय सदस्यमा १६ जना नयाँ अनुहार छन्। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका वर्तमान र पूर्वअध्यक्षसहितका नेताहरु पार्टीको केन्द्रीय सदस्यमा पुगेका छन्। पुराना १९ नेता केन्द्रीय समितिमा दोहोरिएका छन्।

केन्द्रीय समितिमा दोहोरिएका नेतामध्ये निवर्तमान महामन्त्री शशांक कोइरालाले सर्वाधिक मत पाए। १४औं महाधिवेशनमै सभापतिको प्रत्यासी बन्ने बताउँदै आएका शशांक देउवा इतर समूहबाट एउटामात्र उम्मेदवार बन्ने/बनाउने प्रयास असफल भएपछि केन्द्रीय सदस्यमा मात्रै चुनाव लडेका थिए। उनले ३ हजार ८ सय ३६ मत प्राप्त गरेका छन्। उनको नाम देउवा र शेखर कोइराला दुवै समूहमा प्यानलमा समावेश थियो।

त्यस्तै सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुने अन्य नौ नेतामा क्रमश एनपी साउद,बालकृष्ण खाँण, उदयशमशेर राणा,रामहरि खतिवडा,रमेश लेखक,ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी,जिपछिरिङ लामा र अर्जुननरसिंह केसी छन्। १० नम्बरभित्र आफ्नो स्थान सुरक्षित गर्ने नेतामध्ये शशांक र केसीबाहेक सबै देउवा निकट नेता हुन्।

त्यस्तै राणा र खतिवडा पहिलो पटक केन्द्रीय समितिमा पुग्ने नेता हुन् । नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहेका राणा चौथो र खतिवडाले पाँचौं स्थान सुरक्षित गरेका छन्। १३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित खतिवडा २०७० को संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित थिए।

त्यस्तै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत ११औं,नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर १५औं, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले २०औं,संघकै पूर्वउपाध्यक्ष गुरु बराल २५औं स्थानमा रहेर निर्वाचित भएका छन्। बर्दियाका सञ्जयकुमार गौतम,राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेल,नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

स्थानीय निकाय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट खोसिएका दिनेश कोइराला,ललितपुर जिल्लाका पूर्वसभापति मदनबहादुर अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी,नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री उमेशजंग रायामाझी पनि पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

विवादित पृष्ठभूमिका गणेश लामा, रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहन आचार्य र दाङका पुराना नेता कृष्णकिशोर घिमिरे पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। घिमिरे यसअघि आमन्त्रित केन्द्रीय सदस्य थिए।

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्य ३६औं नम्बरमा रहेर निर्वाचित हुन चुके। आइतबारदेखि नै खुलातर्फ महिला केन्द्रीय सदस्यसहित विभिन्न समूहको मतगणना सुरु भए पनि सबैको परिणाम आउन अझै केही दिन लाग्छ। १३ पदाधिकारीसहित १ सय ३४ पदका लागि भएको निर्वाचनमा दुई केन्द्रीय सदस्य निर्विरोध छानिएका थिए।

सबैभन्दा धेरै ३५ खुला सदस्यका लागि ९९ नेता प्रतिस्पर्धामा थिए। अहिलेसम्म सम्पन्न मतगणनाले सभापति देउवाको पक्षमा स्पष्ट बहुमत देखिएको छ। यद्यपि त्यसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट नेताहरू पनि छन्।

प्रकाशित: ५ पुस २०७८ ००:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App