१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पुसभित्र भूमिहीनका समस्या समाधान गर्नेः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुस महिनासम्ममा भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताएकी छन्।

नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटनको क्रममा उनले यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या सधैँका लागि अन्त्य गर्ने गरी समाधान गर्ने बताइन्।

‘विसं २०२१ को नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपूर्जा नभएका भूमिहीन धेरै रहेछन्, कतिपय सुकुम्बासीको समस्या यथावतै रहेछ, उपत्यकाभित्रका लालपूर्जाविहीन स्वबासीको समस्या पनि उस्तै रहेछ’, मन्त्री श्रेष्ठले भनिन्, ‘यी समस्या समाधान गर्दैछु, पुस महिनाभित्र देशमा कोही पनि भूमिहीन नरहने गरी समस्या समाधान गर्ने गरी लागेको छु।’

अघिल्लो सरकारले गठन गरेको भूमि आयोगले खासै काम नगरेको बताउँदै अब राष्ट्रिय भूमि आयोगले नै काम गरेर गठन आदेशबाटै भए पनि समस्याको समाधान गर्ने उनको भनाइ छ। कानूनले छोरीका नाममा अंशको व्यवस्था गरे पनि त्यसलाई अझै कार्यान्वयनमा नल्याएको भन्दै मन्त्री श्रेष्ठले भनिन्, ‘छोरीको नाममा पनि सम्पत्ति भन्ने कानूनलाई कार्यान्वयनमा ल्याउने छु, अहिले पनि अंशबण्डा हुँदा मालपोत कार्यालयले छोरी छ कि खोज्दैन, अब आमा, श्रीमती, छोरी पनि अंशियार कायम हुन्छन् र मालपोतले महिलालाई पनि अंशियार हकका आधारमा अंशबण्डा गर्दा छोरी खोज्ने गरी व्यवस्था गराउँछु।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज दिलीप प्रजापतिले माओवादी जनताको अधिकार सुनिश्चित गर्न पछि नपर्ने बताए। नेकपा माओवादी केन्द्र मध्यपुर नगर संयोजक विजय श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेताहरु डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, कृष्णलाल गोजा श्रेष्ठ, प्रदीप जामुन श्रेष्ठलगायतले आगामी निर्वाचनमा माओवादीको वर्चस्व रहेन गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: ११ मंसिर २०७८ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App