१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपामा चर्कंदै मतभेद

महासचिव मुकुलसँग स्पष्टीकरण माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालको ‘समीक्षा यात्रा’ प्रतिवेदन उनीविरुद्ध नै ‘ब्याकफायर’को सँघारमा पुगेको छ। प्रतिवेदनकै कारण उनको महामन्त्री पद नै धरापमा परेको छ।

पार्टी अनुशासन आयोगले महामन्त्री ढकाललाई स्पष्टीकरण समेत सोधिसकेको छ। पार्टी अनुशासन भंग गरेको भन्दै शुक्रबार साँझ महामन्त्री ढकाललाई आयोगले स्पष्टीकरण सोधेको हो। रास्वपा सहप्रवक्ता प्रतिभा रावलले पत्र काटिएको पुष्टि गरिन्। ‘स्पष्टीकरण सोधिएकोसम्म थाहा पाएकी हुँ, अन्य केही जानकारी छैन,’ उनले भनिन्।

स्रोतका अनुसार आयोगले थमाएको स्पष्टीकरणमा महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा अनुचित कुरा उठाएको, ती बुँदाहरू मिडियामा सार्वजनिक गरेर पार्टीको मर्यादाविपरीत काम गरेको र त्यसले पार्टी तथा नेताको सार्वजनिक छविमा नोक्सानी पुर्‍याएको उल्लेख छ। उता अर्का सहप्रवक्ता मनीष झाले भने स्पष्टीकरण नसोधिएको दाबी गरेका छन्।

महामन्त्रीबाट हटाउन दबाब

अहिले रास्वपाभित्रका अधिकांश नेता ढकाललाई महामन्त्रीबाट हटाउनुपर्ने भन्दै अभियानमा जुटेका छन्। स्रोतका अनुसार ढकालको प्रतिवेदन सभापति रवि लामिछानेलाई नै चित्त बुझेको छैन। उनका निकटस्थहरू पनि अहिले ढकालको विपक्षमा उभिएका छन्। यही कारण नै उनलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको स्रोतले बतायो। प्रतिवेदनकै कारण हिजो सँगै रहेका सभापति लामिछाने असन्तुष्ट भएका छन्। अर्कातिर पार्टी सञ्चालनका क्रममा महामन्त्री ढकालसँग विगतमा असन्तुष्ट रहेकाहरू पनि अहिले चर्को भाषा बोलिरहेका छन्।

त्यसो त महामन्त्री ढकालले सभापति लामिछानेलाई प्रतिवेदन बुझाएकै दिन बुधबार आफ्नो पद जान सक्ने खतरा देखेका थिए। गृह मन्त्रालयबाहिर पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘पार्टीको आदेशबमोजिम मैले निर्मम समीक्षा गरेको छु। त्यो निर्मम समीक्षापछि तैंले यसो भन्ने होस् भनिन सक्छ। मैले भनेको होइन, आजका जनताले भनेका हुन्।’ तीन हजारभन्दा बढी जनतासँगको कुराकानीमा ‘पार्टी दुर्घटना उन्मुख छ, यो तरिकाले पार्टी चल्दैन’ भन्ने सन्देश दिएको उनले बताएका थिए।

‘यही कुरा मैले बोलिदिएको हुँ र यसरी बोल्दाखेरि मसँग रिसाउने वा मलाई हटाउनुपर्छ भन्ने कुराहरू उठेका छन्। सहदेवको जसरी मृत्यु हुन सक्छ, त्यसरी म एक पात्रको मृत्यु त हुन सक्दैन तर महामन्त्रीको मृत्यु हुुन सक्छ,’ ढकालले भनेका थिए। आफ्नो त्यही डरलाई पुष्टि हुनेगरी सभापति लामिछानेलाई बुझाएको छुट्टै पत्रमा पनि उनले सोही व्यहोरा लेखेका थिए। त्यसमा उनले आफूमाथि घृणित राजनीति भएको पनि लेखेका छन्। ‘मैले गर्दै नगरेका कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो’ भनेर उनले लेखेका छन्। रास्वपाभित्रका जिम्मेवार पदाधिकारीबाट सम्भवतः यसरी आन्तरिक विवाद देखिनेगरी अभिव्यक्ति आएको पहिलोपल्ट हो।

उक्त पत्रमा उनले आफूले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न भनेका छन् । ‘यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्,’ उनले लेखेका छन्। महामन्त्री ढकालले आशंका गरेजस्तै अहिले उनको महामन्त्री पद खोस्न तीव्र किसिमले ‘लबिङ’ भइरहेको रास्वपा स्रोत बताउँछ। सभापति लामिछाने पनि महासचिव मुकुलले आफ्नो चाहनाविपरीत प्रतिवेदन तयार पारेको, सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्ति दिँदै हिँडेको भन्दै असन्तुष्ट छन्। जसका कारण उनीनिकट नेताहरूको निसानामा महामन्त्री ढकाल परेका छन्।

सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले त महामन्त्री ढकालले आन्तरिक समीक्षा गर्नुअघि सञ्चारमाध्यममा बयानबाजी गर्दै हिँडेको भन्दै आलोचना गरेका छन्। उनले भनेका छन्, ‘सरकारका विषयमा उहा“ले समीक्षा गरेर आन्तरिक भन्नुपथ्र्यो । ओली–दाहाललाई मिडिया मार्फत चिढ्याउनु पर्दैनथ्यो। चिढ्याएर फाइदा छैन भन्ने कुरा सबैलाई थाहा छ।’

उता रास्वपा कोसी प्रदेशका पूर्वमहामन्त्री लालविक्रम थापाले ‘सभापति लामिछानेलाई होचो देखाउन षड्यन्त्रमूलक ढंगले महामन्त्रीको अभिव्यक्ति आएको’ भन्दै आपत्ति नै जनाएका छन्। फेसबुकमा लामो स्टाटस लेख्दै थापाले महामन्त्री ढकालको प्रतिवेदनलाई सर्वोच्च अदालतमा चलिरहेको मुद्दासँग पनि जोडेर षड्यन्त्र भएको भन्न खोजेका छन्।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयको पत्रविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको छ। जसको ‘असार १६ गते फैसला सुनाउने सम्भावना रहेको फैसलालाई राजनीतिक चुनौती छैन’ भन्ने सन्देश दिन खोजेको आरोप लगाएका छन्।

थापाले आफूलाई कोसी प्रदेशको महामन्त्री पदबाट हटाएको विषयमा पनि महामन्त्री ढकालमाथि दोष थोपरेका छन्। त्यहीँ निर्णयले इलाम २ मा उपनिर्वाचन हारेको भन्दै उनले लेखेका छन्, ‘त्यतिबेला जानीजानी यिनै महामन्त्रीको आदेशमा कोसी प्रदेशलाई महामन्त्री तथा संगठन विभाग प्रमुख विमुख बनाउन प्रचलित नेपालको कानुन र विधानविपरीतको आरोप लगाइयो। कारण उहाँलाई पार्टी हराउनु र अरू नै पार्टीलाई चुनाव जिताउनु थियो।’

थापाले महामन्त्री ढकालले ‘आज मिडियामा आएर बालेन चाहियो’ भनेको विषयमा पनि कटु आलोचना गरेका छन्। समानुपातिक सांसद बनाउँदा बालेनसँग निकट भएकै कारण गणेश कार्कीलाई रोकेर विधिविपरीत आफ्ना मान्छेलाई सांसद बनाएको भन्दै ढकाललाई आरोपसमेत लगाएका छन्। महामन्त्री ढकाल स्वार्थी, अपरिपक्व नेतृत्व भएको टिप्पणी गर्दै उनको हातबाट पार्टी ‘अगाडि बढ्न सक्दैन भन्ने कुरा पटकपटक भन्दै आएको’ समेत खुलाएका छन्।

महामन्त्री ढकाल विगतमा सभापति लामिछानेकै संरक्षणमा पार्टीका हर्ताकर्ता रहेको एक नेता बताउँछन्। ‘सभापतिज्यूले राम्रै महत्त्व दिएको र काममा प्रोत्साहित गरेको व्यक्ति हो। उहाँमाथि सभापतिको विश्वास बढी भएकैले उहाँले कैयौं व्यक्तिमाथि अन्याय गर्नुभएको छ,’ ती नेता भन्छन्, ‘पार्टीका निर्णय पनि सभापतिले चाहेझैं उहाँले गराउनुहुन्थ्यो। अहिले खै के बिग्रेको हो।’

सभापतिसँगको त्यही निकटता र गतिविधिले महामन्त्री मुकुलसँग रिसाएकाहरू पनि अहिले उनलाई हटाउने ध्याउन्नमा लागेका छन्। जसले उनको पद गम्भीर संकटमा परेको रास्वपा स्रोत बताउँछ। रास्वपाले महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल गर्न १९ गते बैठक बोलाएको छ। त्यही बैठकबाट उनको पदको भविष्य निर्धारण हुने नेताहरू बताउँछन्।

प्रकाशित: १५ असार २०८१ ०६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App