८ वैशाख २०८१ शनिबार
राजनीति

ओली समूहमै ध्रुवीकरणः दसौं महाधिवेशनमा कस्तो बन्ला नेताहरूको समीकरण

एमालेको दसौं महाधिवेशनको मुखमा अध्यक्ष केपी शर्मा ओली समूहभित्रै पदाधिकारीलाई लिएर ध्रुवीकरण भएको छ। ओलीलाई सर्वसम्मत पार्टी अध्यक्ष बनाउन सबै तयार भए पनि अन्य पदाधिकारीलाई लिएर ध्रुवीकरण देखिएको हो।

पदाधिकारीमा ओली पक्षका नेताहरू ईश्वर पोखरेल,शंकर पोखरेल, विष्णु रिमाललगायतको एउटा र विष्णु पौडेल, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङलगायतको अर्को समूह बन्ने सम्भावना देखिएको छ।महासचिव पोखरेल र नेम्वाङ दुवैले प्रदेशस्तरीय प्रतिनिधि र उपलब्ध अगुवा नेताहरूसँग छलफल गरिरहेका छन्। ओलीपछिको पदमा आफ्नो दाबी रहेको बताएका नेम्वाङले भेटघाटलाई तीव्र बनाएका हुन्।

महासचिव भएका नाताले पोखरेलले पनि भेटघाटलाई तीव्रता दिएका छन्। ‘ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ भन्नेमा दुवै पक्ष राजी छन् तर पदाधिकारीमा भने वरिष्ठ उपाध्यक्षदेखि उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसम्मै यो समूहमा धु्रवीकरण भएको आभास हुन्छ।

दुवै पक्षले आआफ्नो समूहको तर्फबाट यतिबेला प्रदेश–प्रदेशमा समन्वय गरिरहेका छन्’, स्थायी कमिटीका एक सदस्यले भने। ती सदस्यका अनुसार उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि सबैलाई सहज भएको छ।

दसाैँ महाधिवेशनमा महासचिवको पहिलो हकदार रहेका हालका उपमहासचिव विष्णु पौडेलले ओली अध्यक्षमा निर्वाचित हुने र उनी नै अहिलेको आवश्यकता भएको बताएका छन्। तर उनले आफू कुन पोजिसनमा उठ्ने भन्नेबारे केही बताएका छैनन्। ‘साथीहरूसँग छलफलमै छु’,उपमहासचिव पौडेलले भने। उनका अनुसार आकांक्षीहरू धेरै भएकाले समेट्न समस्या भैरहेको छ। तर उनले पदाधिकारीमा के कसो हुन्छ भन्नेबारे केही बताएनन्।

आफूलाई सचिवभन्दा माथिको पदमा बढुवाको अपेक्षा गरिरहेका हालका सचिव प्रदीप ज्ञवालीले पनि अध्यक्षमा ओलीको विकल्प नभएको बताएका छन्। तर उनले पनि आफ्नो उम्मेदवारीबारे केही बताउन चाहेनन्। ‘अब निर्धारण हुन्छ,आमसाथीहरूको चाहनाबमोजिम म अघि बढ्नेछु’,ज्ञवालीले बुधबार भने।  

१० बुँदे सहमतिपछि पार्टीमै सक्रिय रहेका र पार्टी विभाजन हुनुहुन्न तर फरक विचार र धारणा हुन्छ भन्ने मान्यता राख्ने योगेश भट्टराईले आफूले साबिककै पदमा उम्मेदवारी दिने संकेत गरेका छन्। ‘माथिल्लो पदमा अहिले नै चाहना छैन’,उनले भने।

१० बुँदे सहमतिपछि पार्टीमा सक्रिय भएका अन्य नेताहरूले पनि साबिककै पदमा इच्छा व्यक्त गरिरहेका छन्। तर रावलले भने अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनीहरू ओली समूहभित्रको ध्रुवीकरणलाई पनि नियालिरहेका छन्।

खासगरी सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेलले महासचिवमा दाबी गरेपछि सो समूहमा ध्रुवीकरण आएको हो।

‘अहिले ईश्वर पोखरेल र सुवास नेम्वाङ भर्सेस देखिएको छ। यसमा विष्णु पौडेल र शंकर पोखरेल पनि विपरीत ध्रुवमा देखिए भने ओली समूहभित्र स्पष्ट विग्रह आउनेछ’, स्थायी कमिटीका अर्का एक सदस्यले भने, ‘महासचिव दाबी गरिरहेका पौडेलले नेम्बाङलाई साथ दिए भने हालका महासचिव पोखरेललाई वरिष्ठ उपाध्यक्षमा निर्वाचन जित्न समस्या हुनेछ।

अहिले यो सम्भावना बढेको छ।’ ती सदस्यका अनुसार ईश्वरलाई शंकरले साथ दिएमा सचिवमा दाबी गरिरहेका खगराज अधिकारी, हालका सचिव पृथ्वी सुब्बा गुरुङले पनि संसदीय दलका उपनेता नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा सहयोग गर्ने सम्भावना छ। महासचिव पोखरेलले उपमहासचिव पौडेललाई नरुचाएका कारण ध्रुवीकरण बढेको हो।

तर यो विषयमा अध्यक्ष ओलीले भने मुख खोलिसकेका छैनन्। ओलीले मुख नखोल्दासम्म यसकै पल्लाभारी हुन्छ भन्नेचाहिँ छैन। तर निर्वाचन भएमा उपमहासचिव पौडेलकै पल्लाभारी हुने देखिएकाले ईश्वर पछि हट्ने सम्भावना पनि उत्तिकै रहेको छ।‘अहिले संगठन विभाग प्रमुख उपमहासचिव पौडेल नै भएकाले उहाँको सम्भावना बढी छ तर यसमा हालका महासचिव ईश्वर पोखरेल भने सकारात्मक छैनन्’, एक नेताले भने।

अहिले पृथ्वी सुब्बा गुरुङ पनि महासचिवमा दाबी गर्दै अघि बढेपछि अधिकारीलाई सचिवमा दाबी गर्न सहज भएको छ। नेम्वाङ समूहलाई गोकुल बास्कोटा र महेश बस्नेतले पनि सहयोग गर्ने सम्भावना छ। अहिले धु्रवीकरण देखिएको वरिष्ठ उपाध्यक्ष र महासचिवलाई लिएर हो।

वरिष्ठ उपाध्यक्ष र उपमहासचिव तथा सचिवमा मिलाउन भने त्यति धेरै कठिन नभएको र निर्वाचन हुँदा पनि संस्थापन पक्षले चाहेकै व्यक्ति आउने सम्भावना छ। उपाध्यक्षलगायतका पदाधिकारीमा पूर्वमाओवादीका नेताहरू, १० बुँदे सहमतिपछि पार्टीमा सक्रिय भएका नेताहरूलाई पनि समेट्नुपर्ने बाध्यता रहेका कारण संस्थापन पक्ष अप्ठेरोमा परेको छ।

माओवादीबाट एमालेमा आएका रामबहादु थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेतालाई पदाधिकारीमा ल्याउनुपर्ने बाध्यता छ। १० बुँदे सहमतिपछि पार्टीमा सक्रिय भएका अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट,भीम आचार्यलगायतका नेतालाई पनि पदाधिकराीमा समेट्नुपर्ने बाध्यता छ।

तर ओलीले निर्वाचन भए चिट वितरण हुने बताइसकेकाले उनको टिममा पर्नेले सहजरुपमा निर्वाचन जित्ने सम्भावना छ। ‘माओवादीबाट एमालेमा आएका र १० बुँदे सहमतिपछि पार्टी काममा सक्रिय रहेका नेताहरू पनि पदाधिकारी तहमा समेटिएको तपाईंहरूले पाउनुहुनेछ’,सचिव प्रदीप ज्ञवालीले भने। केन्द्रीय सदस्य,विभिन्न आयोगहरूमा पनि ओली पक्षकै नेताहरूबीच निर्वाचन हुने सम्भावना छ।

‘नेकपा एस कांग्रेसको पुच्छर’

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेसको पुच्छर भएको आरोप लगाएका छन्। ओलीले बुधबार साइबर सर्कलको सुरुवात गर्दै नेपालमाथि यस्तो आरोप लगाएका हुन्।

ओलीले नेपालप्रति लक्षित गर्दै आफूसँग सात वर्षअघि महाधिवेशनमा चुनाव हारेका व्यक्तिले कांग्रेससँग सहकार्य गर्दैमा केही नहुने पनि बताए। ‘मसँग सात वर्षअघि चुनाव हारेका एकजनाले हिन्दी फिल्मको भिलेनको डाइलग बोलेछन्। अस्ति जो हम से टकराएगा ओ चुरचुर हो जाएगा भनेछन्। मलाई अचम्म लाग्यो कसरी बोल्न सकेका होलान्?’ ओलीले भने।

ओलीले निर्वाचनसम्म कांग्रेसले अहिले सत्तामा रहेका दलसँग गठबन्धन नगर्ने दाबीसमेत गरे। उनले नेपाल नेतृत्वको पार्टी कांग्रेसको पुच्छर भएको आरोप लगाउँदै यस्ता पुच्छरको काम नभएको बताए। ‘कांग्रेसले फट्याक्क गर्दा कहाँ पर्छन् यी? कांग्रेसका पुच्छरले एमालेसँग यत्रो धाक लगाउने,’ उनले भने।

प्रकाशित: ९ मंसिर २०७८ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App