coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस महाधिवेशन: रुपन्देहीमा २ वटा क्षेत्रमा सर्वसम्मत,२ वटामा मतगणना जारी

क्षेत्र नं. ३ मा देउवा र पौडल पक्षको विवादका कारण निर्वाचन स्थगित

रुपन्देही क्षेत्र नं. २ को सभापती पदका उम्मेदवार द्धय हरि लम्साल र काजिमान श्रेष्ठ सोमबार संगै मतदान गर्दै। तस्बिर: नागरिक

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको प्रतिनिधि सभा क्षेत्रीय समितिको निर्वाचनमा रुपन्देहीका दुइ वटा क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ। ५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा एउटा क्षेत्रमा दुइ समूह बिचको विवादका कारण निर्वाचन स्थगीत भएको छ। बाँकी दुइ वटामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइ साँझ देखि मतगणना सुरु भएको छ।  

जिल्लाको क्षेत्र नं. ४ र ५ मा सर्वसम्मत नेतृत्व चयन भएको हो। क्षेत्र नं. ५ मा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए। क्षेत्रीय सचिवमा अशोककुमार गोश्वामी र कृष्ण शर्मा चयन भएका छन्। त्यस्तै सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध चयन भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताए। 

महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्य सबै सर्बसम्मत चयन भएको केसीले बताए। क्षेत्र नं. ४ मा पनि मुकेश यादवको नेतृत्वमा क्षेत्रीय समिति सर्बसम्मत चयन भएको छ। यादव यसअघि पनि क्षेत्रीय सभापती थिए। ४ को क्षेत्रीय सचिवमा राजमन हरिजन र गणेश चौधरी,सहसचिवमा राजेन्द्र यादव र गणेश गौतम निर्विरोध निर्वाचित भएका छन्। क्षेत्र नं. १ र २ मा शान्तिपूर्ण मतदान सकिएर साँझ देखि मतगणनाको तयारी भएको छ। क्षेत्र नं. १ मा संस्थापन पक्षबाट हिरा केसी र इतरबाट विश्वनाथ यादवको प्यानल प्रतिश्पर्धामा छ। क्षेत्र नं. २ मा संस्थापन इतरबाट हरि लम्साल र संस्थापन पक्षबाट काजीमान श्रेष्ठ चुनावी मैदानमा उत्रेका हुन्।

देउवा र पौडल पक्षको विवादका कारण निर्वाचन स्थगित

क्षेत्र नं. ३ मा दुइ समुहको विवादका कारण निर्वाचन स्थगित भएको छ। सोमबार दिउँसो १ बजेबाट सुरु गर्ने भनिएको मतदान साँझ पख सुरु गर्न लागीए पछि त्यहाँ विवाद भएको हो।  

सोमबार अपरान्ह ५.४५ बजेबाट बल्ल मतदान प्रक्रिया सुरु गर्न लागीएपछि क्षेत्रीय सभापतीका उम्मेदवार मातृका यादवको समुहले मंगलबार सम्मकालागि मतदान स्थगितको माग गरेको थियो। सोही क्रममा देउवा र पौडेल समुहबीच केही बेर भनाभन समेत भयो। यादवको प्यानल पौडेल पक्ष हो। देउवा समूहबाट क्षेत्रीय सभापतीमा शुसील गुरुङको प्यानल चुनावी मैदानमा छ। साँझदेखि मतदान सुरु गर्दा राती अबेर हुने र सुरक्षा लगायतका समस्या देखिने भएकाले मंगलबार सुरु गर्ने गरी मतदान स्थगीत गर्नु पर्ने माग पौडेल पक्षका यादवको समूहले गरेको हो। तर देउवा समूहले भने मतदाता लाइनमा बसीसकेकाले राती नै भएपनि मतदान सोमबारै गरीनु पर्ने अडान लियो। त्यसपछि पौडेल समूह निर्वाचन बहिष्कार गरी हिँडेको थियो।

चुनावी मैदानमा रहेका दुइ वटा समूह मध्ये एउटाले बहिष्कार गरेपछि एकपक्षीय निर्वाचन गराउन नमिल्ने भन्दै निर्वाचन मण्डलले स्थगीत गर्यो। केन्द्रिय निर्वाचन समितिको आदेश अनुरुप नै मतदान प्रक्रिया स्थगित गरीएको प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले बताए।  

मतदान प्रक्रिया स्थगीत भएपछि केहीबेर देउवा पक्षको समुहले मतदान  हुनु पर्ने भन्दै नाराबाजी समेत गर्यो। निर्वाचन प्रक्रिया रोकीएपछि दुवै समुह पत्रकार सम्मेलन नै गरेर आरोप प्रत्यारोपमा उत्रेका छन्। यसअघि मंसिर ३ गते सम्पन्न प्रदेश सभा क्षेत्र निर्वाचनको मतगणनामा पनि यहाँ विवाद र कुटपिटको घटना भएको थियो। मतगणनाका क्रममा देउवा समूहले पौडेल समूहका क्षेत्रीय सचिव पदका उम्मेदवार सहितका ५ जनामाथि हातपात गरी घाइते बनाएका थिए। 

प्रदेश क्षेत्र निर्वाचनको मतगणनामा भएको घटनालाइ मध्येनजर गर्दै दिउँसोको समयमा मतदानको कार्यक्रम गर्नु पर्ने माग आफूहरुले गरेको काँग्रेसका पुर्व जिल्ला सभापती रामचन्द्र ढकालले बताए। पौडेल पक्षका सभापती पदका उम्मेदवार मातृका यादवले भैरहवामै मतपत छाप्न सकिने भएपनि मतदान प्रक्रियालाइ ढिलो गराउनै लागी बुटवल मतपत्र छाप्न पठाइएको आरोप पनि लगाए। 

निर्वाचन मण्डलले दिनभर ढिलाइ गरी रात साँझमा मतदान प्रक्रिया सुरु गर्न खोजेको दावी गरे। देउवा पक्षका सभापती पदका उम्मेदवार शुसील गुरुङले मतदान प्रक्रिया सुरु भइसकेपछि यादव पक्ष हारको डरले भागेको आरोप लगाए। काँग्रेसकाजिल्ला सचिव रामकृष्ण खाँणले आफनै पार्टी भित्रको आन्तरिक निर्वाचनमा असुरक्षाको अवस्था नरहेको प्रतिक्रिया दिए।

प्रकाशित: ७ मंसिर २०७८ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App