७ वैशाख २०८१ शुक्रबार
राजनीति

अझै चलेन इजलासः प्रधानन्यायाधीशको राजीनामा माग्दै बार आन्दोलनमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका न्यायाधीशहरू शुक्रबार पनि इजलास गएनन्। इजलास नचल्दा बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दा प्रभावित बनेका छन्। समाधानको पहल नहुँदा न्यायपालिकामा देखिएको समस्या झनै लम्बिँदै गएको छ।

प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि संयुक्त र एकल गरी १० वटा इजलास तोकेका थिए। प्रधानन्यायाधीशसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो। त्यो इजलाससमेत बस्न सकेन।

सर्वाेच्चका न्यायाधीशहरूले मुद्दा नहेरेपछि उनीहरूविरुद्ध तीनवटा रिट निवेदन पेस भएका छन्। ती निवेदन दर्ता हुने/नहुने आइतबार निक्र्योल हुने सर्वाेच्च प्रशासनले जनाएको छ।

यता नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाले राजीनामा नदिए देशभर आन्दोलन गर्ने भएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमिति बैठकले उपत्यका बार एकाइसमेतको सुझावअनुसार कालोपट्टी बाँध्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानन्यायाधीशले विकृति, विसंगति र भ्रष्टाचार रोक्न, न्यायपालिकाको स्वच्छता तथा गरिमा कायम राख्न नसकेकाले राजीनामा मागिएको बारले जनाएको छ।

‘कात्तिक १४ देखि १७ सम्म प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्ने र कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन उपत्यकाका बार एकाइका कानुन व्यवसायीलाई अनुरोध गर्ने’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। देशभरका बारका अध्यक्ष र सचिवसँग भर्चुअल छलफल गरी सुझाव संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ। ‘कार्यक्रम अवधिभर राजीनामा नआएमा विरोधका थप कार्यक्रम घोषणा गर्ने’, बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बार परिसरभित्रै वकिलबीच कुटपिट

शुक्रबार नेपाल बार एसोसिएसन परिसरभित्रै दुईजना कानुन व्यवसायीबीच कुटाकुट भयो। अधिवक्ता विराट न्यौपाने र भूमिनन्द चुडालबीच आपसी विवादका कारण कुटपिट भएको बताइएको छ। विवाद चर्किंदै गएपछि कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन्। चुडाललाई न्यौपानेले कुटेका थिए।

दुवैजना अधिवक्ता सर्वोच्च बार र काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका साधारण सदस्य हुन्। अधिवक्ता चुडाल र अधिवक्ता न्यौपानेबीच व्यक्तिगत लेनदेनका कारण झगडा भएको बताइएको छ। चुडाललाई रोकेर गेट बाहिर निकाल्न खोज्दा न्यौपानेले कुटेका थिए।

‘उहाँहरूको व्यक्तिगत कुरा रैछ, मान्छेमा भर पर्ने कुरा हो। वकिलजस्तो पेसामा रहेका साथीहरूको यस्तो व्यवहारबाट गलत सन्देश गएको छ’, सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले भने, ‘व्यक्तिगत लेनदेनको विषयमा झगडा भएको रहेछ। उहाँहरू मिलिसक्नुभयो भन्ने सुनें।’ तर पनि दुवैजनालाई राखेर छलफल गराउने घिमिरेले बताए।

प्रकाशित: १३ कार्तिक २०७८ ०१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App