११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महासचिव चयन गर्न लम्ब्याइयो बैठक

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बुधबार महासचिव छान्न नसकेपछि बिहीबारसम्म बैठक लम्बिएको छ। 

अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै केन्द्रीय सदस्यहरूको कार्यविभाजन र महासचिवलगायत पदाधिकारी छान्न बिहीबारसम्म बैठक लम्ब्याइएको हो। 

सो पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पाँचवटा समूह बनाई समूहगत रूपमा छलफल भएको थियो। समूहगत छलफलको निष्कर्ष बुधबारको बैठकमा सुझावसहित प्रस्तुत गरिएको थियो।  

अध्यक्षले पेस गरेको प्रतिवेदनमाथि आएका सुझावलाई समेटेर प्रतिवेदन पास गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनका अनुसार समूह १ बाट रामकुमार झाँक्री, २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदन छलफल गरी सुझाव राखेका थिए।

 बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभूत विचारलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जानुपर्ने बताएका थिए। 

तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहेको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएका थिए।  

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, नेताहरूमार्फत पार्टीको चुनावचिह्नको सन्दर्भमा विभिन्न सुझाव आएको भन्दै पार्टीको चुनावचिह्न निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको बताइएको छ। बिहीबारको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम टुंगो लगाइने प्रचार विभाग खतिवडाले जानकारी दिए।

प्रकाशित: ७ आश्विन २०७८ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App