coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धरान नगर कांग्रेसमा नेतृत्वका लागि रस्साकस्सी

संस्थापन र इतर दुवै पक्षबाट प्यानलमै उम्मेदवारी घोषणा

क्याप्शन

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धरान उपमहानगर समितिको नेतृत्व हत्याउन संस्थापन पक्ष र इतर पक्ष आन्तरिक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। दुवै पक्षबाट प्यानल उम्मेदवारी घोषणा गरेर धरान कांग्रेसको नेतृत्वका लागि दौडधुपमा छन्। 

एक साताअघि नै संस्थापन इतर अर्थात् नेता रामचन्द्र पौडेल पक्षबाट सभापति पदमा श्याम पोखरेल र उनको प्यानलको उम्मेदवारी घोषणा भएको थियो। शुक्रबार संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवाको पक्षबाट सभापति पदका उम्मेदवार किशोर राई र उनको प्यानलको उम्मेदवारी घोषणा भएको हो। अहिले दुवै पक्षका उम्मेदवारहरू क्षेत्रीय प्रतिनिधिहरूलाई भेट्न व्यस्त छन्।

कम्युनिस्टको गढ धरानमा गत स्थानीय तह उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवारलाई हराउँदै पहिलोपटक कांग्रेस उम्मेदवार तिलक राईले मेयर जितेका थिए। त्यसैले पनि धरानमा कांग्रेसको नेतृत्वमा पुगेर आगामी स्थानीय तह निर्वाचनबाट पनि स्थानीय सरकारमा कब्जा जमाउने दाउ दुवै पक्षमा रहेको देखिन्छ। यसकारण पनि असोज ९ गते हुने धरान कांग्रेसको नेतृत्व चयनमा दुवै पक्षको ध्यान केन्द्रित छ।

पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिएका पोख्रेल कांग्रेस धरानका नगर सचिव हुन्। विद्यार्थी राजनीतिबाट आएका पोखरेल आफ्नो टिममा सबै युवा, पार्टी र संगठनमा योगदान पुर्‍याएका तथा पार्टी नेतृत्वका लागि ‘फ्रेस’ उम्मेदवार भएकाले कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरूले पत्याउने बताउँछन्। उनको प्यानलमा उपसभापतिमा वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) र वडा ५ का अध्यक्ष सन्तोष लिम्बूले उम्मेदवारी दिएका छन्।

यस्तै, सचिवमा हिमाल राई र जितेन्द्र राई छन् भने सहसचिवमा शिला बज्राचार्य र युनेश मगर छन्। १३औं महाधिवेशनमा यही टिमको नेतृत्व गर्दै मेयर तिलक राईले सभापति जितेका थिए। यो टिम धरानको संस्थापन पक्ष भएको, पार्टीको कार्यालय भवन निर्माण गरेको र धरानको मेयरको उपनिर्वाचनमा ऐतिहासिक जित हासिल गरेकाले आफ्नो उत्तराधिकारीका रूपमा पुनः पोख्रेलको प्यानल आउने उनको भनाइ छ।

संस्थापन देउवा पक्षका सभापतिका उम्मेदवार किशोर राई कांग्रेसका पूर्वसभापति हुन्। उनी १३औं महाधिवशेनमा तिलक राईसँग प्यानलै पराजित भएका थिए। उनको प्यानलबाट उपसभापतिमा राजकुमार थोप्रा र महेन्द्र तामाङले उम्मेदवारी दिएका छन् भने दुई सचिवमा रुक्मणि गौतम (कोपिला) र सुमन श्रेष्ठले उम्मेदवारी दिएका छन्। यस्तै सहसचिवमा गोपाल कार्की र कमला रुचालको पनि उम्मेदवारी परेको छ।

सभापतिका उम्मेदवार राईले आफ्नो टिम परिपक्व भएको र कार्यकर्ताहरूले पनि रुचाएका कारण जित हासिल गर्ने बताए। उनले कांग्रेसलाई धरानमा बलियो बनाउने, आगामी स्थानीय तह निर्वाचनमा पनि कांग्रेसलाई बहुमतका साथ जिताउने उद्देश्यले उम्मेदवारी दिएको बताए।

 धरानमा वडा अधिवेशनबाट ४ सय ७० जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन्।त्यसबाहेक २० जना वडाका बुथ सभापति पनि प्रतिनिधि छन् भने ६ जना सांसद तथा गएको चुनावका सांसद उम्मेदवारहरू पनि स्वतः क्षेत्रीय प्रतिनिधि छन्। यसले गर्दा कुल क्षेत्रीय प्रतिनिधि ४ सय ९६ छन्। उनीहरूले असोज ९ गते हुने नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछन्। 

प्रकाशित: २ आश्विन २०७८ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App