७ वैशाख २०८१ शुक्रबार
राजनीति

कहाँ हरायो शंकर पोखरेलविरुद्धको 'अपहरण' मुद्दा?

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध रुपन्देही प्रहरीमा परेको ‘अपहरण तथा शरिर बन्धक’  सम्बन्धी मुद्दा गायब भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पोखरेलसहित चारजनाविरुद्ध परेको मुद्दा गायब बनेको हो। यि दुबै कार्यालयमा अहिले त्यो मुद्दा छैन। आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीले पोखरेलसहित चार जनाविरुद्ध बुटवल प्रहरीमा किटानी जाहेरी दिएकी थिईन्। तर वुटवल प्रहरीले उक्त मुद्दा दर्ता गरेन। 

ओलीले मुद्दामा लेखेको घटना क्रम दाङबाट सुरु भएकाले यो मुद्दा दाङ प्रहरीले हेर्नु पर्ने तर्क राख्यो। फलतः यो मुद्दा रुपन्देही प्रहरीले दाङ प्रहरीलाई पठाईदिएको दाबी गर्छ। ‘यो मुद्दाको घटना दाङबाट सुरु भएको छ , फलतः हामीहरुले यो मुद्दा हेर्ने कुरै भएन,’ रुपन्देही प्रहरी प्रुख एसपी मनोज केसीले भने ‘दाङबाटै सुरु भएको यो घटना दाङ प्रहरीले नै यो मुद्दा हेर्नुपर्ने भएकाले हामीले जिल्ला प्रहरी कार्यालय दाङमै पठाईदिएका छौँ।’ रुपन्देही प्रहरीले दाङ प्रहरीलाई ईमेल मार्फत उक्त मुद्दा पठाएको एसपी केसी दाबी गर्छन्।

तर बुटवलले दाङमा पठाएको भनिएको उक्त मुद्दा दाङमा पनि छैन। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पोखरेलसहित चार जनाविरुद्धको जाहेरी कतैबाट पनि कार्यालयमा आईपुगेकै छैन। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी सुरेश प्रसाद काफ्लेले अहिले सम्म पोखरेलविरुद्धको मुद्दा कतैबाट पनि कार्यालयमा आईनपुगेको बताए।  

‘शंकर पोख्रेल सहित चारजना विरुद्ध मुद्दा परेको हामीहरुले पनि सञ्चारमाध्यमबाटै सुनेको हो,’ एसपी काफ्लेले भने ‘तर हामी कहाँ यो मुद्दा आएकै छैन।’ रुपन्देहीका प्रहरी प्रमुख एसपी केसीले मुद्दा पठाईसकेको भन्दै दिएको जानकारीका सम्बन्धमा भने काफ्लेले उक्त भनाईका बारेमा आफूलाई केहि थाहा नभएको बताए। ‘उहाँ (एसपी केसी) ले खै कसरी मुद्दा पठाएको भनेर भन्नु भयो? त्यो त मलाई थाहा भएन,’ एसपी काफ्लेले भने ‘तर हामी कहाँ मुद्दा आएकै छैन, सत्य यही हो।’

यता आफूले रुपन्देही प्रहरीमा दिएको जाहेरी गायब भएपछि सांसद बिमला मुद्दा प्रकृयामा फेरी सकृय हुने योजनामा छिन्। उनले नागरिकसंग भनिन् ‘मैले दिईसकेको मुद्दामा प्रहरीले के गर्छ? अझै केही दिन हेर्छु।’ बुटवल प्रहरीले दाङमै मुद्दा पठाईदिने र यो मुद्दा दाङबाटै चल्ने भन्दै सांसद ओलीलाई थामथुम पारेको थियो। ‘बुटवल प्रहरीले मलाई यो मुद्दा दाङमै पठाईदिन्छौँ र दाङबाटै यो मुद्दा चल्छ भनेको हो,’ उनले भनिन् ‘तर अहिले सम्म मैले दिएको मुद्दा किन ओझेलमा पारियो? अझै केही दिन हेर्छु।’

प्रहरीले यसअघि नै दिईसकेको जाहेरीमाथि कुनै ‘एक्सन’ नलिए पुनः आफू स्वयं प्रहरीमा पुगेर जाहेरी दिने योजनामा सांसद बिमला छिन्। ‘अहिले मेरो व्यक्तिगत काममा व्यस्त छु,त्यो भएर पनि मैले त्यति चासो दिन पाएकी छैन,’ उनले भनिन् ‘यदि मैले दिईसकेको मुद्दा प्रहरीले गायब पारिदियो भने म फेरी आफै प्रहरीमा उपस्थित भएर मुद्दा हाल्छु।’  

सांसद बिमलाले साउन अन्तिम साता आफूलाई पोखरेलसहित एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकाल, पोख्रेलको सचिवालयका तिरन गौतम र एमाले दाङका जिल्ला नेता मानबहादुर रावतले दाङबाट अपहरण गरि बुटवल पुर्‍याई बन्धक बनाएर राखेको आरोप लगाएकी थिईन्।

तर त्यो बेला उनले यसलाई कानुनी मुद्दा बनाएकी थिईनन्। अहिले उनको सांसद पद खारेजीको माग गर्दै एमालेले मुद्दा चलाएपछि भने उनि पनि पोखरेलविरुद्ध कानुनी रुपमा उत्रिएकी हुन्। एमालेले बिमलाको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ भने संसदबाट कारवाही हुनुपर्ने भन्दै संसद अबरोध समेत गर्दै आएको छ।  

‘मैले त्यो बेला मानवता हेरेँ, ममाथि उनिहरुले गरेको अपराध यहि मानवताकै कारण सहिदिएँ,’ उनले भनिन् ‘तर मलाई राजनीतिक रुपमा सिध्याउनै खोजेपछि म पनि उनिहरुले गरेको अपराधविरुद्ध कानुनी लडाईँ लड्छु।’ एमालेले उनलाई आफ्नै दलको सांसद भएको भन्दै कारवाही गर्न पाउनु पर्ने तर्क गरिरहेको छ। तर तत्कालीन नेकपाबाट प्रदेशसभाको उपनिर्वाचनमा निर्वाचित सांसद बिमलाले भने नेकपा खारेजी पश्चात आफूलाई दल रोज्ने अधिकार रहेकाले आफूले माओबादी रोजेको दाबी गर्दै आएकी छिन्।

प्रकाशित: १ आश्विन २०७८ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App