गायक तथा निर्माता रामकृष्ण ढकालद्वारा निर्मित चलचित्र ‘मालती मंगले’ को व्यापार बक्स अफिसमा कमजोर देखिएको छ।
चलचित्रको व्यापार अपेक्षित नभएपछि र सामाजिक सञ्जालमा बहिष्कारको अभियान चलेपछि निर्माण पक्ष तनावमा परेको हो।
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले पहिलो सातामा ४४ लाख ७८ हजार रुपैयाँको मात्र व्यापार गरेको छ। चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार व्यापार सुस्त देखिए पनि निर्माता ढकालले भने एक अन्तर्वार्तामा चलचित्रले आफ्नो लगानी सुरक्षित गर्ने दाबी गरेका छन्।
चलचित्रको व्यापार प्रभावित हुनुमा हालैको एक टेलिभिजन अन्तर्वार्तालाई मुख्य कारण मानिएको छ। चलचित्र प्रवर्द्धनका लागि पत्रकार प्रकाश सुवेदीको शोमा पुगेका ढकाल नसोचेको विवादमा तानिएका थिए।
कार्यक्रममा ‘चिन्नु हुन्छ?’ भन्ने प्रसंगमा सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा हुँदाको एउटा पुरानो भिडियो देखाएका थिए।
जेन-जी आन्दोलनका समयमा भाइरल भएको उक्त भिडियोमा लामिछानेलाई गाडीमा राखेर कुदाउने व्यक्ति को हो भन्ने खुलेको थिएन। तर, सोही अन्तर्वार्तामा ढकालले ‘गाडी मेरै हो र मैले नै चलाएको थिएँ’ भनी स्वीकार गरेपछि विवाद सिर्जना भएको हो।
ढकालको उक्त भनाइ सार्वजनिक भएलगत्तै रास्वपा विरोधी समूहले लामिछानेलाई जेलबाट निस्कन सघाएको भन्दै चलचित्र बहिष्कारको ट्रेन्ड चलाएका थिए। सामाजिक सञ्जालमा उनलाई ‘खरानी ग्याङको ड्राइबर’ को संज्ञा समेत दिइएको थियो।
निर्माण टिमले चलचित्रको व्यापक प्रचारप्रसार गरे पनि सामाजिक सञ्जालको नकारात्मक टिप्पणी र बहिष्कार अभियानले व्यापारमा प्रत्यक्ष असर पारेको छ।
व्यक्तिगत चरित्रमाथि नै आँच आउने गरी भ्रामक प्रचार गरिएपछि ढकालले त्यस्ता व्यक्तिहरूविरुद्ध मानहानिको कसुरमा कानुनी सहायता समेत लिएका छन्।
प्रकाशित: ५ जेष्ठ २०८३ १९:०८ मंगलबार





