काठमाडौं महानगरपालिकाले रिक्त रहेको सहरी योजना आयोगको उपाध्यक्षमा डा सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने भएको छ।
कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेका ४९औँ कार्यपालिका बैठकले डा राज भण्डारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीले बालेन्द्र शाहले गत माघ ४ गते कामपाको प्रमुखबाट राजीनामा दिएसँगै खाली भएको उक्त पदमा राजभण्डारी नियुक्त गर्ने भएको हो।
त्यसैगरी, बैठकले कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्तिसम्बन्धी व्यवस्था गरिएको कार्यविधि संशोधनसहित पारित गरेको छ। शिक्षा स्वास्थ्य समितिका तर्फबाट सदस्यसचिव एवं शिक्षा अधिकारी नमराज ढकालले, छात्रवृत्तिसम्बन्धी प्रस्ताव पेस गरेका हुन्। यसैगरी, नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायमको जिम्मेवारी दिने भएको छ।
कार्यविधिमा समेटिएका व्यवस्थाका विषयमा दलबहादुर कार्की, विमलकुमार होडा, रामकुमार केसी र आशामान सङ्गतले धारणा राखेका थिए।
बैठकले कामपाका प्रथम उपप्रमुख कप खोखो प्रतियोगता सञ्चालन गर्ने, वडा नं १७ मा रहेको कन्या माध्यमिक विद्यालयमा छात्राहरूका लागि छात्रावास बनाउने, महानगर प्रहरी बलको कर्मचारी व्यवस्थापनका लागि पदपूर्ति समिति गठन गर्ने, जेनजी आन्दोलनका क्रममा क्षति भएका जनसेवा प्रहरी, महानगर प्रहरी वृत्त गौशाला र कालीमाटी पुनःनिर्माणमा ज्याला पारिश्रमिक उपलब्ध गराउनका लागि वडा नं ७, ८, ९, ११, १२ र १४ वडा समितिको प्रस्ताव अनुमोदन गरेको छ।
बैठकका विविध विषयमा ईश्वरमान डङ्गोल, बालकृष्ण महर्जन, सरोज ढकाल, विमलकुमार होडा, मचाराजा महर्जन, भुवन लामा र रोजिना श्रेष्ठले धारणा राखेका थिए । बैठकमा सात वटा क्षेत्रमा पेस भएका विविधसहित १९ वटा प्रस्ताव पारित गरेको थियो।
प्रकाशित: ५ जेष्ठ २०८३ १८:३० मंगलबार





