coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मधेसमा तागत जाँच्दै जसपा र लोसपा

जसपा अध्यक्ष उपेन्द्र यादवको स्वागतमा जनकपुर विमानस्थालमा उर्लेको भिड । तस्बिर: नागरिक

दलकै महन्थ ठाकुर पक्षले अर्को दल खोलेर नेता–कार्यकर्ता तान्ने अभियान चलाएपछि बिहीबार दिउँसो जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव रन्थनिँदै जनकपुरधाम आइपुगे। जनकपुरधाम विमानस्थलमा नेता–कार्यकर्ताको भिड उर्लियोे। अध्यक्ष यादवको स्वगतमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरू उभिए। उनको स्वागतका लागि मुख्यमन्त्री निवास मधेस भवनमा पनि अगुवा नेताकार्यकर्ता भेला भइसकेका थिए।  

विमानस्थलबाट सयौं नेता–कार्यकर्ताको स्कर्टिङमा मधेस भवन पुगेका अध्यक्ष यादवले अगुवा नेता–कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, ‘अहिले भ्रमका घुम्ती दुकान खोलिएका छन्, त्यहाँ भ्रम बिक्री भइरहेका छन्, सचेत रहनुहोला।’ उनको भनाइ महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीतर्फ लक्षित थियो। उनले अगाडि भने, ‘जो आफ्नो खुट्टामा उभिने दम राख्दैन, उनीहरूले मधेसको मुक्ति गर्छु भनेर डिङ हाक्न सुहाउँदैन। 

अधिकारका लागि मधेस विद्रोहमा होमिएका बखत उनीहरू कहाँ थिए ?’ मधेस विद्रोह दबाउनेहरूले अहिले मधेसको एजेन्डा पूरा गराउँछु भन्नु हास्यास्पद भएको यादवको टिप्पणी छ। मधेसको शक्ति भनेकै जसपा भएको जिकिर गर्दै उनले भने, ‘मधेसलाई अधिकार सम्पन्न बनाउने शक्ति नै जसपा हो।’

यादव भदौ २२ गतेसम्म कोर मधेस अर्थात् प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा बस्ने जसपा स्रोतको भनाइ छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा जान चाहने जनता समाजवादी पार्टी (जसपा) का प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले भदौ २२ गते सम्मको समय दिएको छ। 

यो समयलाई दुवै पार्टीले ‘मधेस मन्थन’ का रूपमा उपयोग गर्दैछन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ २ मा ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशका आधारमा जसपाबाट अलग्गिएका महन्थ ठाकुर पक्षले लोसपा खोल्यो। जसपा र लोसपा दुवैले आफूलाई राष्ट्रिय दल भनेर परिचय गराए पनि उनीहरूको तागत भनेको मधेस नै हो। जसको पुष्टि यतिबेला जनकपुरमा जसपा–लोसपाबीच भइरहेको तागतको परीक्षणले गरेको छ।

दल विभाजनले जसपालाई त्यतिको असर नपरे पनि लोसपालाई ठूलै क्षति भएको छ। महन्थ ठाकुरसहित ६ जना अध्यक्ष मण्डल रहेको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का दुईजना अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव र महेन्द्र राय यादव जसपामै छन्। उनी दुवैजनाको मधेसी जनमा बलियो पकड छ।  

कसको तागत कति ?

गत प्रदेश र स्थानीय तह निर्वाचनको परिणामअनुसार प्रदेश २ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीले २९ प्रदेशसभा सदस्य र २६ स्थानीय तहमा प्रमुख जितेको थियो। स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अब्दुल कलाम सामाजवादीमा प्रवेश गरेपछि सिट संख्या ३० पुगेको थियो। तत्कालीन राजपाले २५ प्रदेशसभा सदस्य र २५ स्थानीय तहमा प्रमुख जितेको थियो।

प्रदेश २ मा १ सय ७ सदस्यीय प्रदेशसभा र १ सय ३६ स्थानीय तह छन। संघीय समाजवादी र राजपाबीच एकीकरण भएपछि प्रदेश २ मा ५५ सांसदसहित जसपाको बहुमतको सरकार थियो। तर, पार्टीको निर्णयविपरीत ओली नेतृत्वको सरकारमा ठाकुर पक्ष सहभागी भएपछि जसपामा विभाजन भयो। विभाजनपछि जसपातिर ३९ सांसद खुलेका छन्। जसमा ठाकुर पक्षका नवलकिशोर साह, रामनरेश राय, मनीष सुमन, सुरेश मण्डल, अन्जु यादव, नीरा साह, बिकी यादवलगायत छन्। लोसपातिर १२ सांसदले सनाखत गरिसकेका छन्। लोसपाले आफूतिर २० जना प्रदेश सांसद पुग्ने दाबी गरेको छ।

दल विभाजनपछि सनाखत गर्न आयोगले तोकेको म्याद दुवै दलका लागि ‘सकसपूर्ण’ भएको छ। लोसपालाई जसपाबाट सांसद तान्न चुनौती छ भने जसपालाई सांसद कसरी रोक्ने भन्ने समस्या छ। लोसपालाई प्रदेश २ को प्रदेशसभामा आफ्नो तागत पूर्ववत् अवस्था फर्काउने चुनौती छ भने भने जसपालाई लोसपाको तागत ध्वस्त पार्ने चुनौती।

 यसै चुनौती र सकसलाई सफल र विफल पार्न लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेता बुधबारदेखि जनकपुरमा डेरा जमाएर बसेका छन्। लोसपाका नेतृत्व तह जनकपुर आएर जसपाका जनप्रतिनिधि र प्रदेश सांसद फकाउन थालेको भेउ पाएर रन्थनिँदै जनकपुर आइपुगेका जसपा अध्यक्ष यादव आफूलाई नोक्सानी हुन नदिन प्रदेश सांसदलाई निगरानीमा राखेको छ।  

यादव जनकपुरमा रहेकै बेला जसपाका प्रदेश सांसद प्रह्लाद गिरीलाई बिहीबार लोसपाले आफूतिर तानेको छ। सांसद गिरीलाई लोसपाले निर्वाचन कार्यालयमा सनाखत गराएको छ । जसपानिकट अझ तीन सांसदलाई आफूतिर तान्ने लोसपाको दाउ छ। अहिलेसम्म लोसपामा १५ जना प्रदेश सांसद खुलेका छन्। 

प्रदेश २ मा जसपा लोसपाबीच तानातानको अवस्था रहे पनि प्रदेश १ मा जसपाको एकल वर्चस्व छ। प्रदेशसभामा जसपाको एक निर्वाचित र दुई सामानुपातिक गरी तीनजना प्रदेश सांसद छन्। जसपा संसदीय दलका नेता जयराम यादव भन्छन्, ‘तीनै सांसद जसपामा अटल छौं। यस प्रदेशको प्रदेश सांसददेखि स्थानीय तहका जनप्रतिनिधिहरू सबै जसपामै छन्,’ उनले भने। 

प्रकाशित: १९ भाद्र २०७८ ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App