१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वामदेवले भने: म एमालेमै छु, समाजवादीमा मेरो तस्बिर किन राखियो

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको ब्यानरमा आफ्नो तस्बिर राखेको प्रति आपत्ति जनाएका छन्। अहिलेसम्म एमालेमै रहेको भन्दै उनको सचिवालयले नेकपा एकीकृत समाजवादीको ब्यानरमा गौतमको तस्बिर राखिएकोमा आपत्ति जनाएको हो।

गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै वामदेवको तस्बिर राखेर शनिवारदेखि समाजिक सञ्जालमा प्रचार गरिएको थियो।

'आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क.वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन’, विज्ञप्तिमा भनिएको छ, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ अन्य खाले प्रचार/प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’

दुई दिनअघिमात्र गौतमका एकता अभियानको भर्चुअल बैठकले माधव नेपाल नेतृत्वको पार्टीमा समाहित हुने निर्णय गरेको उनका अर्का स्वकीय सचिव शैलेन्द्र राउतले बताएका थिए।

प्रकाशित: ६ भाद्र २०७८ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App