२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

मकवानपुरमा बोलेरो पिकअप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक भिमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार राति करिब १ बजे सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड गरेको बोलेरो पिकअप गाडी ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब ५–७ मिटर तल खोल्सामा खसेको हो।

दुर्घटनामा सवार तीन जनामध्ये सर्लाहीको बरहथवा नगरपालिका–१ निवासी १७ वर्षीय रोहन मण्डल गम्भीर घाइते भएका थिए। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा बिहीबार बिहान ४ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १६ वर्षीय छोटे पासवान कम्मरमा चोट लागि मध्यम घाइते भएका छन् भने २५ वर्षीय चालक रामवली साह सामान्य घाइते भएका छन्। दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी चौकी खानिखेतबाट प्र.स.नि. मनोज चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी एम्बुलेन्समार्फत काठमाडौं पठाएको थियो।

बोलेरो गाडीमा लोड गरिएका करिब ५०० कुखुरामध्ये ३०० वटा मरेका छन्। गाडीमा क्षति पुगेको छ भने गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ माघ २०८२ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App