१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपाललाई निर्णय सच्याउन दबाब

नेकपा एमाले (समाजवादी) मा सहभागी हुने वामदेवकाे निर्णय

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्थान नदिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवदेन दिए पनि दोस्रो पुस्ताका नेता पार्टी एकताकै पहलमा लागिरहेका छन्। नेपाल नयाँ दल दर्ता गर्न जाँदा असहमत उनी पक्षधर नेताहरूले पार्टी विभाजन गर्न नहुने भन्दै ओलीलाई १० बुँदे प्रस्ताव कार्यान्वयन सुनिश्चित गर्न र नेपाललाई निर्णय सच्याउन आग्रह गरेका छन्। ‘हामीले असार २७ गते भएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न ओलीलाई र दल दर्ताको निवेदन फिर्ता लिन नेपाललाई आग्रह गरेका छौं’, नेता भीम आचार्यले भने। उनका अनुसार १० बुँदे कार्यान्वयन भएमा पार्टी विभाजन गर्नुको औचित्य रहँदैन।

यसअघि नेपाललाई साथ दिँदै आएका भीम रावलसहित युवराज ज्ञवाली, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, रघु पन्त र योगेश भट्टराईबीच बिहीबार भएको छलफलमा दुवै शीर्ष नेतालाई पार्टी एकताका लागि आग्रह गर्ने निर्णय भएको थियो। उनीहरूको निर्णयमा नेत्री अष्टलक्ष्मी शाक्य पनि सहमत छिन्। यी नेताले पार्टी विभाजनबाट कसैको पनि हित नहुने बताउँदै दुवै शीर्ष नेताले अहं छाडेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताएका छन्। ओलीले १० बुँदे प्रस्ताव इमानदारीपूर्वक कार्यान्वयन गरे पार्टी विभाजन हुनुपर्ने कुनै पनि कारण नरहने ठहर गर्दै रावलसहितका नेता पार्टीभित्रै अन्तर्संघर्ष जारी राख्नुपर्ने निष्कर्षमा पुगेका छन्।  

नेपाल नयाँ पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोग जाँदा एमालेमा रहेका स्थायी कमिटी सदस्यमध्ये मुकुन्द न्यौपाने र वेदुराम भुसालले मात्रै साथ दिएका थिए। नेपाल पक्षधर अन्य स्थायी कमिटी सदस्य पार्टी विभाजन गलत भएको जनाउँदै दल दर्ता प्रकृयामा सहभागी भएनन्। उनीहरूले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्। केन्द्रीय सदस्यको भेलाबाट समेत पार्टी एकताका पक्षमा ओली र नेपाललाई दबाब दिने रणनीति उनीहरूको छ।  

यसअघि नेपाललाई साथ दिँदै ओलीलाई गाली गर्ने नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, परशुराम मेघी गुरुङ, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, गोकर्ण बिष्ट, भीम आचार्यलगायत केही केन्द्रीय सदस्यले नेपाललाई पार्टी मिलाउन दबाब दिइरहेका छन्। ओली समूहमा पनि स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङलगायतले १० बुँदे प्रस्ताव इमानदारीपूर्वक कार्यान्वयन गर्न र पार्टी एकताका लागि लिखित आह्वान गर्न ओलीलाई आग्रह गरिरहेका छन्।

गौतम समाजवादी एमालेमा  

एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले (समाजवादी) मा सहभागी हुने निर्णय गरेका छन्। पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका गौतमले बिहीबारको भर्चुअल बैठकमा एमाले समाजवादीलाई समर्थन गरेर अघि बढ्ने र एकता अभियानलाई पनि त्यहीं जोड्ने बताए। एकता अभियानका सचिव बाबुराम थापाले बृहत् कम्युनिस्ट एकतामा जोड दिँदै गौतमले नेपाल पक्षको समाजवादी पार्टीलाई साथ दिने स्पष्ट पारे। उनले बृहत् एकताका लागि एमाले समाजवादीसँग संवाद गर्ने जानकारी दिए। त्यसका लागि आवश्यक गृहकार्य गर्न गौतमले अभियानका सहसंयोजक हरि पराजुली र सचिव थापालाई जिम्मा दिएका छन्।  

एमाले अध्यक्ष ओलीको कार्यशैलीका कारण एकतामा समस्या भएको ठहर गर्दै गौतम बृहत् कम्युनिस्ट एकताका लागि पहल जारी राख्ने निष्कर्षमा पुगेका छन्। उनले ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने बताएका छन्। एमाले विवाद चर्केपछि उनले केही समयअघि एकता अभियान सुरु गरेका थिए। गौतम २०५४ सालमा नेकपा एमाले विभाजन गरी नेकपा माले गठन गरेर महासचिव बनेका थिए।

प्रकाशित: ४ भाद्र २०७८ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App