नेकपा एमालेको विधान महाधिवेशनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशन प्रतिनिधिको परिचयपत्र अनिवार्य स्क्यानपछिमात्र महाधिवेशन हलमा पुग्ने व्यवस्था मिलाइएको छ।
परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ राखिएको छ । यी बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकले प्रवेश पाउने छन् । मूल प्रवेश द्वारबाट प्रवेश गर्दा साथ हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अंकित झण्डा प्रतिनिधिले लहरै देख्नेछन् ।
सभा हलको सिट संख्या दुई हजार ८४० छ । हलभित्र छिर्ने चार वटा प्रवेश द्वार छन् । पहिलो द्वारबाट भीभीआईपी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नेछन् । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्ने छन् ।
प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ । त्यहीँबाट स्वयं सेवकले कसलाई कुन द्वार र कुन सिटमा बस्ने भनेर व्यवस्था मिलाउने छन् । हलको बाहिर ६ वटा कार्डस्कान बुथको व्यवस्था गरिएको छ ।
डिजिटल बोर्डमा महाधिवेशनको व्यानर हुनेछ । मञ्चमा १८ जना पदाधिकारीहरु मात्रै बस्ने छन् । मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओलीमात्र बस्नेछन् । अन्य पदाधिकारीहरु पछिल्लो खण्डमा मर्यादा अनुसार बस्ने व्यवस्था मिलाइएको छ ।
त्यहीदेखि ‘माक्र्ससिजम डिजिटल’ वल्र्डमा प्रवेश गरिने एमालेको प्रचार विभागले जनाएको छ । अन्तिम प्रवेश द्वारबाट क्याटरिङ्गका लागि खाद्यन्न, खाने पानी ढुवानीलाई खुला गरिएको छ । दोस्रो र तेस्रो प्रवेश द्वारबाट महाधिवेशन हल छिर्दासाथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्विर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ ।
हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा एमाले र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलेको देखिनेछ ।
बाँयातिर नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएको छ । पश्चिमतिर कार्लमाक्र्स, एङ्ल्स र लेनिनको पूर्ण कदसहित तस्बिर राखिएको छ । हलभित्र २२ सय स्क्वार फिट डिजिटल बोर्ड राखिएको छ ।
प्रकाशित: १९ भाद्र २०८२ २१:१९ बिहीबार





