९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन मुस्ताङमा पहिलोपटक विस्तृत सर्वेक्षण सुरु गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले यहाँका चार स्थानीय तहमा शनिबारदेखि क्यामेरा ट्र्यापिङमार्फत हिउँ चितुवाको सर्वेक्षण सुरु गरेको हो।

हिउँ चितुवाको सम्भावित बासस्थान र क्षेत्र पत्ता लगाएर एक्याप तथा अन्य सरोकारवाला सङ्घसंस्थाले क्यामेरा ट्र्यापिङ गर्दै आइएको थियो। यसबाट हिउँ चितुवाबारे जानकारी प्राप्त हुने भए पनि यकिन सङ्ख्या पत्ता लगाउन पर्याप्त थिएन।

एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले सर्भेका लागि तल्लो मुस्ताङ र माथिल्लो मुस्ताङ गरी पाँच/पाँच किलोमिटरको दूरीमा १६१ वटा क्यामेरा ट्रयापिङ ग्रीडको मापदण्ड निर्धारण गरिएको छ।

हिउँदयामको मौसममा उच्च लेकमा हिउँ बढी हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाति तलतल झर्ने भएकाले हिउँ चितुवा पनि केही तल झर्ने गर्छन्।

त्यसैगरी, केही दिनअघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा बायोकोस नेपाल र एक्यापले हिउँ चितुवाको अध्ययनका लागि १६ वटा क्यामेरा राखेको थियो।

कार्यालय प्रमुख पौडेलले माथिल्लो मुस्ताङमा राखिने ९९ वटा क्यामेरा र तल्लो मुस्ताङमा राखिसकिएका १६ वटा क्यामेरा गरी एक सय ११ वटा क्यामेरा एकैसाथ प्रयोग गर्नेगरी सर्भे सुरु गरिएको बताए।

सर्वेक्षणका लागि एक्याप लोमान्थाङले क्यामेरा ट्रयापिङ गर्न तीन ब्लकमा जनशक्ति विभाजन गरेको छ। एक्यापका प्राविधिक र स्थानीय जनशक्तिहरूको सहयोगमा क्यामेरा ट्रयापिङका लागि करिब एक दर्जनभन्दा बढी जनशक्ति फिल्डमा खटिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए।

सोही प्रयोजनका लागि एक्यापले अधिकतम छ महिनासम्म फिल्डमै क्यामेरा राख्ने जनाए पनि वैशाख महिनाभित्र हिउँ चितुवाको ट्रयापिङ क्यामेरा निकालिने छ। रासस

प्रकाशित: ७ पुस २०८२ ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App