७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस महाधिवेशन मंसिरमा: कोरोना संक्रमण बढे फेरि पनि सर्न सक्छ

नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि पनि सरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार सम्पन्न बैठकले १४औं महाधिवेशन झन्डै तीन महिना सार्ने निर्णय गरेको हो। संवैधानिक सीमाभित्र महाधिवेशन नभए पार्टीको वैधानिकता के हुने भन्ने विवाद जारी रहेकै बेला बैठकले सोही समयलाई टेक्दै वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। 

कुनै पनि राजनीतिक दलको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने भए पनि कुनै विशेष परिस्थितिका कारण हुन नसके थप ६ महिना समय लिन सक्ने संवैधानिक प्रवधान छ। कांग्रेस विधानमा पार्टीको महाधिवेशन प्रत्येक चार वर्षमा हुने उल्लेख छ। कुनै विशेष कारणले महाधिवेशन हुन नसके थप एक वर्ष समय लिन सक्ने जनाइए पनि कांग्रेसले पार्टी विधानले दिएको समय त सकिइसकेको छ नै, संवैधानिक व्यवस्थाअनुसार थपिएको ६ महिना पनि भदौ तेस्रो साता सकिँदैछ।  

संस्थापन इतर पक्षले उक्त समयभित्रै महाधिवेशन गर्नुपर्ने, नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आए पनि अन्तिम समयमा भने संवैधानिक सीमाभित्र तल्लो तहको अधिवेशन सुरु गर्ने गरी मंसिरमा महाधिवेशन गर्न राजी भएको हो। नेता रामचन्द्र पौडेलसहित इतर पक्षले महाधिवेशनका लागि जोड गरेको भए पनि संस्थापन पक्ष दसैंअघि नै महाधिवेशन सम्पन्न गर्ने रणनीतिमा थिए। तर, केन्द्रीय समिति बैठकअघि बसेको इतर पक्षको भेलाले मंसिरमा महाधिवेशन गर्न लचकता देखिएपछि केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो। पछिल्लोपटक सार्वजनिक गरिएको कार्यतालिकाअनुसार कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।  

क्रियाशील सदस्यताको अन्तिम नामावली बुझाउने भदौ २ गतेसम्म कार्यतालिका सार्वजनिक गर्दै कांग्रेसले सदस्यताको बा“की विवाद सुल्झाउने जिम्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखकलाई दिएको छ। २ गते नै नेपाली कांग्रेसको निर्वाचन निर्देशिका बुझाउन भनिएको छ। भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले २७ गते गाउँपालिका र नगरपालिका अधिवेशन गर्ने संशोधित कार्यतालिकामा उल्लेख छ।  

त्यस्तै, प्रदेश क्षेत्रको अधिवेशन असोज १ गते र संघीय निर्वाचन (प्रतिनिधिसभा) क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज ५ गते गर्ने निर्णय गरेको छ। त्यस्तै, जिल्ला अधिवेशन असोज १० गते नै सक्ने कांग्रेसको कार्यतालिका छ। प्रदेश अधिवेशन भने कात्तिक १० देखि १२ गतेसम्म गर्ने निर्णय गरेको छ। 

केन्द्रीय महाधिवेशन भने ९ देखि १३ गतेसम्म गर्ने जनाइएको छ। तर, कोरोना भाइरसको संक्रमण बढ्दै गए मंसिरका लागि तोकिएको मितिमा पनि महाधिवेशन हुन नसक्ने नेताहरूको बुझाइ छ। ‘मंसिरमा चाहिँ महाधिवेशन गर्नैपर्छ भन्ने नेताहरूको मनस्थिति देखिन्छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘कोरोना भाइरसको संक्रमण बढेको अवस्थामा चाहिँ सम्भव छैन।’

प्रदेश र केन्द्रको महाधिवेशनको ग्याप लामो राखिँदा महाधिवेशन फेरि पनि नहुन सक्ने ती नेताले टिप्पणी गरे। ‘प्रदेशको अधिवेशनले केन्द्रको महाधिवेशनको एउटा संकेत गर्नेछ,’ ती नेताले भने, ‘कमजोर देखिएको पक्ष कुनै बहाना बनाएर महाधिवेशन धकल्न पनि लाग्न सक्छ।’

प्रकाशित: ३१ श्रावण २०७८ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App