६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्यालयमा ९ सचिव

सरकारले बढुवा भएका सचिवहरूलाई पदस्थापन नगर्दा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा ९ जना सचिव थुप्रिएका छन्। अन्य विभिन्न मन्त्रालयमा गरी ५ सचिव पद रिक्त छन्। सचिवमा नियुक्ति दिनेबित्तिकै सरकारले उनीहरूको तत्काल व्यवस्थापन गर्नुपर्ने विज्ञहरूको सुझाव छ।  

प्रधानमन्त्री कार्यालयमा हाल सचिवहरू शिशिर ढुंगाना, लक्ष्मण अर्याल, बैकुण्ठ अर्याल र धनराज ज्ञवाली कार्यरत छन्। यसैगरी ५ जना सचिव अतिरिक्त समूहमा राखिएका छन्। अतिरिक्त समूहमा राखिएका सचिवहरूमा कृष्णहरि पुष्कर कर्ण, खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरे र हरि मैनाली छन्। अतिरिक्त समूहमा राखिएका सचिवहरूलाई जिम्मेवारी दिइएको छैन जब कि ५ वटा मन्त्रालयमा सचिव पद रिक्त छन्। प्रधानमन्त्री कार्यालयमा ९ जना सचिवका लागि बस्ने कोठाको व्यस्थापन गर्नसमेत सकस परेको छ।  

अतिरिक्त समूहमा राखिएका केही सचिव कार्यालयमा हाजिरी गर्नमात्र जाने र हाजिरी गर्नेबित्तिकै घर फर्कने अवस्था आएको प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताए। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद् विस्तार भएलगत्तै प्रधानमन्त्री कार्यालयमा राखिएका सचिवहरूको व्यवस्थापन गरिने बताए। ‘मन्त्रालयमा मन्त्रीहरू आउनुभएपछि उहाँहरू (अतिरिक्त समूहमा राखिएका सचिवहरू) को पनि व्यवस्थापन हुन्छ’, खाँणले भने।  

पूर्व मुख्यसचिव विमल कोइरालाले सचिवमा नियुक्ति दिएलगत्तै सरकारले पदस्थापन गर्नुपर्ने बताए। ‘सचिवहरूलाई पदस्थापन गर्न यसरी ढिलो गर्नु हुँदैन’, कोइरालाले भने। मन्त्रिपरिषद् विस्तार गर्न ढिलो भएपछि सचिवहरूको व्यवस्थापन गर्न सरकार अलमलमा परेको स्रोतको भनाइ छ। रक्षासचिव रेश्मीराज पाण्डेले गत असारमा अवकाश पाएका थिए। उनले अवकाश पाएपछि रक्षामा सचिव पद रिक्त छ। यसैगरी, कृषि मन्त्रालयमा कार्यरत सचिव योगेन्द्र कार्कीले अवकाश पाएपछि सो पद रिक्त छ। कृषिमा २ सचिवको दरबन्दी छ। सञ्चार सचिव हरि बस्यालले अवकाश पाएपछि त्यहाँ पनि सचिव पद रिक्त छ। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री कार्यालयमा तानेपछि स्वास्थ्यमा पनि एक सचिव पद रिक्त छ। दुई सचिव दरबन्दी भएको स्वास्थ्य मन्त्रालयमा हाल स्वास्थ्य सेवाकै डा. रोशन पोखरेलमात्र सचिवको रूपमा कार्यरत छन्।  

सरकारले महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थसचिवमा नियुक्त गरेपछि महालेखा नियन्त्रक पद पनि रिक्त छ। प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा राखिएका सचिवहरू हालै वरिष्ठ सहसचिवबाट बढुवा भएका हुन्। केही दिनअघिमात्र वरिष्ठ सहसचिव हरि मैनाली सचिवमा बढुवा भएका थिए। बढुवा भएपछि उनलाई पनि अतिरिक्त समूहमा राखिएको छ। अघिल्लो महिना सचिवमा बढुवा भएका पुष्कर सहसचिव हुँदा एक वर्षमा ५ पटक सरूवा भएका थिए। पछिल्लो एक वर्षमा उनलाई प्रदेश २ को आन्तरिक मामिला मन्त्रालय, संघीय गृह मन्त्रालय, विपद् व्यवस्थापन, उद्योग वाणिज्य मन्त्रालय, कोभिड १९ संकट व्यवस्थापन कार्यालयमा सरूवा गरिएको थियो। सचिवमा बढुवा भएपछि उनलाई प्रधानमन्त्री कार्यालयमा राखिएको छ।  

अतिरिक्त समूहमा राखिएका अर्का सचिव किरणराज शर्मा सहसचिव हुँदा प्रधानमन्त्री कार्यालमै कार्यरत थिए। प्रधानमन्त्री कार्यालयमा हुँदा उनले प्रवक्ताको जिम्मेवारी पाएका थिए। सहसचिवबाट सचिवमा बढुवा हुनुअघि रामप्रसाद घिमिरे अर्थ मन्त्रालयमा कार्यरत थिए। प्रधानमन्त्री कार्यालयमा प्रशासन सेवाका सचिवको ४ दरबन्दी छ। प्रधानमन्त्री कार्यालयमा एक सचिव कानुन सेवाको हुने व्यवस्था छ।

प्रकाशित: २२ श्रावण २०७८ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App