४ वैशाख २०८१ मंगलबार
राजनीति

नयाँ पार्टी खोल्ने ठाकुरको तयारी

जसपाको आधिकारिकता नपाएपछि महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ पार्टी खोल्ने भएको छ। ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको फैसलापछि नयाँ पार्टी खोल्ने तयारीमा आफूहरू लागेको बताए। नयाँ पार्टीको नाम, चुनाव चिह्न, झन्डालगायत विषयमा केही दिनभित्रै छलफल गरी टुंगो लगाउने जानकारी उनले दिए। ‘राजनीति गरेपछि पार्टीविहीन भन्ने हुँदैन। त्यसैले नयाँ पार्टी खोल्छौं,’ उनले भने।

ठाकुर पक्षका अर्का नेता सुरेन्द्र झाले निर्वाचन आयोगले नयाँ पार्टी खोल्न अवसर दिएको बताउँदै भने, ‘अब हामी नयाँ पार्टी खोल्छौं। यो स्वाभाविक पनि हो।’ ठाकुर पक्षकै एक कार्यकारिणी सदस्यले भने नयाँ पार्टी खोल्न हतार नगर्ने बताए। जसपामा बस्ने अवस्था अझै कायमै रहेको उनको भनाइ थियो। उनले भने, ‘हामीलाई उपेन्द्र यादवले निकालेका छैनन्। 

किन नयाँ पार्टी खोल्ने ? यादवले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई मात्र पार्टीबाट निकालेको घोषणा गरेका छन्। केपी ओली सरकारमा सहभागी भएका अन्य नौजनालाई यादवले स्पष्टीकरणमात्र सोधेका हुन्। पार्टीबाट निकालेको घोषणा गरेका छैनन्।’ ठाकुर पक्षले गल्ती स्वीकार गरेमा जसपामा ढोका खुला राख्न सोच्न सकिने यादव पक्षका नेता महेन्द्र यादवले बताए।

स्रोतका अनुसार ठाकुर–महतो पक्षले राष्ट्रिय जनता पार्टी (राजपा) ब्युँताउन चाहेको छ। तर उपेन्द्र यादव पक्षकै हरिनारायण यादवले राजपा नाम गरेको पार्टी दर्ताका लागि यसअघि नै आयोगमा निवेदन दिएका छन्। हरिनारायणले निवेदन दिएको दुई दिनपछि ठाकुरनिकट नेताले पनि राजपा नाम दाबी गर्दै आयोगमा निवेदन दिएका थिए। त्यसैले राजपा पनि यादवनिकटकै व्यक्तिले पाउने सम्भावना छ।

राजपा नाम पाउने अवस्था नभए ठाकुर–महतो पक्ष जसपा नामका अगाडिपछाडि केही शब्द थपेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारीमा छ। ठाकुरनिकट नेता झाले भने, ‘हामीले राजपा नै दर्ता गर्छौं भन्ने के ग्यारेन्टी छ ? जसपा नाममा अगाडिपछाडि केही शब्द थपेर पनि पार्टी दर्ता गर्छौं।’ उनले भने, ‘जसपा हाम्रो पार्टी हो। हाम्रो देखाउन यस्तो गर्छौं।’

अन्तिम समयमा कित्ता परिवर्तन

यसअघि ठाकुर पक्षको भनेर चिनिएका कार्यकारिणी सदस्यद्वय मनीष सुमन र राजकिशोर यादवले निर्वाचन आयोगमा गई उपेन्द्र यादव पक्षमा सनाखत गरेका छन। जसपा जोगाउन आफूहरूले यस्तो गरेको उनीहरूको भनाइ छ। ‘अर्को पक्षमा सनाखत गर्नु भनेको पार्टी फुटाउनु हो। जसपा जोगाउन उपेन्द्र यादवको पक्षमा सनाखत गरे,’ राजकिशोरले भने। 

यस्तै धारणा मनीष सुमनको पनि छ।‘आइतबार बोलाइएको बैठकमा सबै कार्यकारिणी सदस्यले उपेन्द्र यादवको पक्षमा सनाखत गरौं, यस्तो ग¥यौं भने जसपा जोगिन्छ भनी सुझाव राखेको थिएँ,’ सुमनले भने, ‘तर मेरो सुझावलाई मानिएन। त्यसैले पार्टी जोगाउन उपेन्द्र यादवतिर सनाखत गरें।’ शनिबारसम्म यादवको पक्षमा ३२ र ठाकुरको पक्षमा १९ जना कार्यकारिणी सदस्य थिए। सोमबार निर्वाचन आयोगमा पुग्दा परिस्थिति फेरियो। ठाकुरनिकटका दुई कार्यकारिणी सदस्य यादवको पक्षमा पुगे।

प्रकाशित: १२ श्रावण २०७८ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App