coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान

राष्ट्रियसभाअन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि सोमबार (आज) उपनिर्वाचन हुँदैछ। मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ। बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको उनले बताए। मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरू दाङ आउने क्रम जारी रहेको कुँवरले जानकारी दिए। यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थियो।  

एमालेले अहिले उनै चन्द्रबहादुर खड्कालाइ उमेदवार बनाएको छ। नेपाली कांग्रेसबाट दीर्घनारायण पाण्डेय चुनावी मैदानमा छन्। निर्वाचन कार्यालयले पाण्डेयलाइ रुख र खड्कालाइ सूर्य चुनाव चिह्न प्रदान गरीसकेको छ। उपनिर्वाचनमा सत्तापक्ष र विपक्षी गठबन्धन दुवैले आ–आफनो जित सुनिश्चित भएको दाबी गरिरहेका छन्। लुम्बिनी प्रदेशसभा सदस्य पद र एमाले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेस गरेका पाण्डेयलाई कांग्रेसलगायत माओवादी केन्द्र, जसपाको (उपेन्द्र–बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाको समर्थन छ। माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्दा राष्ट्रियसभा सदस्य पद गुमाएका खड्कालाइ एमालेले उम्मेदवार बनाएको हो। तर उनलाइ एमालेकै माधव नेपाल समूहले मत नदिने बताइएको छ। लुम्बिनीमा पनि बागमतीमा जस्तै फ्लोर क्रस हुने दाबी विपक्षी गठबन्धनको छ।

यस्तो छ अंक गणित  

प्रदेशमा कुल मतदाता संख्या २९६ हो। प्रदेशसभा सदस्य ७९ जना र स्थानीय तहका प्रमुख उपप्रमुख २१७ जना छन्। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १८ गणना हुन्छ। मतभार अनुरूप ७९ प्रदेशसभा सदस्यको ३ हजार ७९२ र स्थानीय तहतर्फका २१७ जनाको ३ हजार ९०६ गरी कुल ७ हजार ६९८ मत संख्या छ। जितका लागि ३ हजार ८५० मत ल्याउनुपर्छ।

मतदानमा भाग लिने प्रदेशसभा सदस्यमध्ये एमालेका ३८ छन्। विपक्षी गठबन्धनमा ४१ छन्। अर्थात् कांग्रेसका १९, माओवादीका १९ सभामुखसहित, जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ जना हुन्। स्थानीय तहका २१७ मध्ये ९४ एमालेका, कांग्रेसका ६३, माओवादी केन्द्रका ३६, जसपाका १३, जमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन्। निर्वाचनमा दुवै पक्षले आ–आफनो जित सुनिश्चत रहेको दाबी गरिरहेका छन्। आफूहरूसँग स्पष्ट बहुमत रहेको दाबी कांग्रेससहितका विपक्षी गठबन्धनको छ भने एमालेले साना दल र स्वतन्त्रले आफूलाई साथ दिने भन्दै जित सुनिश्चित रहेको दाबी गरेको छ।

प्रदेशसभामा विपक्षी गठबन्धन बलियो देखिएको छ। स्थानीय तहतर्फ पनि ११८ मतदाता विपक्षी गठबन्धनकै छन्। त्यसमाथि बागमतीमा जस्तै फ्लोर क्रस हुने निश्चित भएको दाबी विपक्षी गठबन्धनको छ। नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खानले आफूहरूसँग स्पष्ट बहुमत रहेकाले जित सुनिश्चित रहेको बताए। माओवादी केन्द्रका नेता सुदर्शन बरालले गठबन्धनमा प्रदेशसभातर्फ कुल १ हजार ९६८ र स्थानीय तहतर्फको १ हजार ९९८ गरी कुल ३ हजार ९८४ मतसंख्या रहेको दाबी गरे। त्यसका अलावा केही मत फ्लोर क्रसबाट आउने भन्दै पाण्डेयको जित सुनिश्चित भएको दाबी गरे।

एमालेका खड्काको पक्षमा भने प्रदेशसभामा ३८ र स्थानीय तहमा ९४ प्रमुख उपप्रमुख छन्। त्यसबाहेक जसपाको ठाकुर पक्षका ६ जना जसपाको ठाकुर पक्षका, नयाँ शक्तिका एकजनाले पनि एमालेलाई सघाउने बताइएको छ। एमालेको पक्षमा कुल ३ हजार ६६० मतसंख्या हुन आउँछ। एमालेकै माधवकुमार नेपाल समूहका जनप्रतिनिधिले बागमतीमा जस्तै फ्लोर क्रस गरे यो संख्या अझ घट्ने छ। 

प्रकाशित: १७ जेष्ठ २०७८ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App