७ वैशाख २०८१ शुक्रबार
राजनीति

लाउडा प्रकरणमा गोली काण्डको २० वर्ष

लाउडा प्रकरणको बिरोधका क्रममा खोटाङमा गोली काण्ड भएको २० वर्ष पुगेको छ। लाउडा विमान खरिद प्रकरणका विरुद्ध दिक्तेलमा २०५८ साल जेठ १३ गते मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको घट्नालाई दिक्तेल गोली काण्डका रुपमा चिन्ने गरिन्छ। तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अनियमित रुपमा लाउडा विमान खरिद गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध ६ बामघटक अन्तरगत खोटाङमा एमाले र जनमोर्चाले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाइते भएका थिए।

लाउडा प्रकरणमा करोडौं भ्रष्टाचार भएको दाबी गर्दै तत्कालिन प्रधानमन्त्रीको राजीनामा माग्दै साँझमा निकालिएको मसाल जुलुसमाथि दिक्तेलको हाटडाँडा पुगेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि गोली चलाइएको जुलुसमा सहभागीहरु बताउँछन्।  

प्रहरीले जुलुसमाथि अन्धाधुन्ध गोली चलाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका प्रताप राई घाइते भएका थिए।

त्यो बेला घाइते भएकामध्ये दिपनारायण हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर र दिपेन्द्र नेकपा माओवादी केन्द्रका नेता छन्। घाइतेमध्ये प्रतापको मृत्यु भइसकेको छ।  

मसाल जुलुस प्रदर्शनका क्रममा दिपेन्द्रको दुबै खुट्टा र हातमा, दिपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लागेको थियो। गोली लाग्दा दिपेन्द्रको खुट्टा छियाँछियाँ बनेको थियो । उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ। घट्नाका बेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनीतिमा संलग्न थिए। त्योबेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्यनरत थिए। 

दिपनारायण र दिपेन्द्रले हरेक वर्षको जेठ १३ गतेका दिन आफू घाइते भएको तस्बिर राखेर घट्नाको सम्झना गर्दै घट्नाको न्यायोचित छानविन नभएको बताउने गरेका छन्।

प्रकाशित: १३ जेष्ठ २०७८ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App