१६ चैत्र २०८० शुक्रबार
राजनीति

लुम्बिनी प्रदेश: 'फ्लोर क्रस' भए मात्रै मुख्यमन्त्री 'फेल'

पार्टी संसदीय दलको ह्विप उलंघन गरेर मन्त्री पदको शपथ खाएका जसपाका ४ जना लुम्बिनी प्रदेशसभा सदस्यलाई मंगलबार स्पष्टीकरण सोध्यो। पार्टीको ह्विप उलंघन गरेको भन्दै स्पष्टीकरण सोधिएका विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेले स्पष्टीकरणका लागि दिइएको २४ घन्टे अवधि गुजारिसके। उनीहरूले स्पष्टीकरण बुझाएनन्। पार्टी संसदीय दलले सोधेको स्पष्टीकरण नदिएपछि चार जनालाई कारबाहीको अन्तिम तयारीमा जसपा जुटेको छ।

शुक्रबार बैठक बसेर स्पष्टिकरण सोधिएका चारैजनालाई सांसदसमेत नरहनेगरी कारबाहीका लागी केन्द्रीय समितिमा सिफारिस गरिने जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए। ‘हामीहरूले मंगलबार सोधेको स्पष्टीकरणको चौबिस घण्टे अल्मिेटमको अवधि सकिएको छ, उहाँहरूले स्पष्टीकरण दिनु भएन,’ यादवले भने ‘अब हामी उहाँहरूलाई सांसद समेत  नरहने गरि कारवाहीका लागि केन्द्रमा सिफारीस गर्छौँ।’

जसपाका चार सांसद पार्टीको ह्विप उलंघन गरेर मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा लागेपछि संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव पास हुने अन्तिम बिकल्प भनेकै अब एमाले भित्रको ‘फ्लोर क्रस’ मात्रै हो । कर्णाली प्रदेशमा जस्तै यो प्रदेशमा पनि एमाले माधव नेपाल पक्षका सांसदहरूले फ्लोर क्रस गरेर अविश्वासको प्रसतावमा मतदान गरे मात्रै शंकर पोखरेल मुख्यमन्त्रीबाट असुरक्षित हुनेछन्।  

माओबादी केन्द्रबाट एमालेमा लागेका दुई सांसदको पद निलम्बन भएपछि कुल ८७ सांसद संख्या रहेको प्रदेशसभा हाल ८५ सदस्यीय छ। जसपाका चार सांसद पोखरेल कित्तामा उभिएपछि पोखरेलको अहिलेको मत प्रदेशसभामा ४५ पुगेको छ । तर जसपाले पार्टीको ह्विप उलंघन गरेर मन्त्री बन्न पुगेका चार सांसदलाई सांसदै नरहनेगरी कारबाही गरेको खण्डमा प्रदेशसभा ८१ सदस्यीयमा झर्ने छ। तर कारबाहीमा पर्ने भनिएका दुई सांसद समानुपातिक तर्फका रहेकाले जसपाले तत्काल उनीहरूको स्थानमा नयाँलाई सांसद नियुक्त गर्ने बताएको छ । ‘कारबाही पर्ने मध्यका दुईजना समानुपातिक सांसद हुनुहुन्छ,’ जसपा प्रदेश समितिका अध्यक्ष अशोक यादवले भने, ‘उहाँहरूको स्थानमा नयाँ सांसद नियुक्त हुनेछन्।’  

समानुपातिकमा दुई सांसद नियुक्त भए प्रदेशसभा ८३ सदस्यीय हुनेछ। जसका लागि बहुमत जुटाउन ४२ सांसद चाहिन्छ। नयाँ दुई सांसद नियुक्त भएमा र उनिहरू दुवैजनाले अविश्वासको प्रस्तावमा मतदान गरे शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा ४० मत मात्रै पुग्छ। उता पोखरेललाई पनि विश्वासको मत जित्नका लागि एक मत खाँचो पर्छ। तर मन्त्री भएका चारजनालाई सांसदै नरहने गरि कारवाही गर्ने जसपा नेतृत्वमा सहमति भए समानुपातिक दुईजना सांसद नियुक्तिमा पनि भागबन्डा हुन सक्नेछ। 

महन्थ ठाकुर पक्षको कोटाबाट एकजना सांसद पर्न सक्ने र अर्का एकजना उपेन्द्र यादव समूहबाट चयन हुने सक्नेछन्। यसो भएको खण्डमा ठाकुर पक्षका सांसदले मुख्यमन्त्रीको विरोध वा समर्थन के गर्ने भन्ने अर्को प्रश्न उब्जने छ। तर ठाकुर पक्षीय सांसद कल्पना पाण्डे हाल मन्त्री भैसकेकाले ठाकुरले उनै पाण्डेलाई थमौती गरे पाण्डे मुख्यमन्त्रीको पक्षमा लाग्ने निश्चित जस्तै हुने छ। यसो भए मुख्यमन्त्रीको पक्षमा बहुमत अर्थात् ४२ मत जुट्ने छ।  

संसदको सम्भावित यो अंक गणितलाई हेर्ने हो भने एमाले भित्रको फ्लोर क्रस मात्रै अविश्वासको प्रस्ताव बहुमतले पारित हुने अन्तिम बिकल्प हो। एमाले माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव पास गाराउनका लागि आवश्यक मत दिने परिस्थति आए पोखरेल मुख्यमन्त्रीबाट पदमुक्त हुने अवस्था आउनेछ।

‘अबको विकल्प भनेको एमाले भित्रको फ्लोर क्रस नै हो,’ माओवादी सांसद इन्द्रजित चौधरीले भने ‘कर्णालीको जस्तै परिस्थति यहाँ आयो भने अविश्वासको प्रस्ताव पारित हुने अवस्था देखियो, तर मलाई लाग्छ यहाँ पनि फ्लोर क्रस पक्कै हुन्छ।’ तर बुधबार देखि एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालको भेट सकारात्मक भएको आशंका गरिएकाले या प्रदेशमा फ्लोर क्रसको सम्भावना नरहने अनुमान पनि गर्न थालिएको छ।

प्रकाशित: १० वैशाख २०७८ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App