२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीद्वारा 'उत्तराध्ययन सूत्र' को लोकार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले जैन सन्त डा. मणिभद्र मुनिजी महाराजद्वारा लिखित पुस्तक ‘जैन आगम उत्तराध्ययन सूत्रको लोकार्पण गरेकी छन्। नेपालमा जन्मेर भारतमा शिक्षादीक्षा प्राप्त गरेका र नेपाल केशरीको समेत उपाधि पाएका डा. मणिभद्रद्वारा भगवान् महावीरको वाणी तथा उनको निर्वाणको २५४८ वर्षपछि नेपाली भाषामा अनुवाद गरिएको हो। 

श्री श्वेताम्बर स्थानकवासी समाज तथा मानव मिलन नेपालले काठमाडौंमा बुधबार आयोजित एक समारोहमा उक्त पुस्तकको लोकार्पण गरिएको हो।जैन आगमको यो प्रथम नेपाली अनुवाद हो। सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त धर्मग्रन्थको प्राकृत भाषाबाट नेपाली भाषामा अनुवाद गर्ने कार्यको प्रशंसा गरिन्। कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले डा. मणिभद्रलाई विश्व हिन्दू महासंघका मानद संरक्षकको मनोनयन पत्र हस्तान्तरण गरेका थिए।  

मानव मिलन प्रवर्तक तथा अन्तर्राष्ट्रिय मानव मिलन संस्थाका संस्थापकसमेत रहेका लेखक डा. मणिभद्र मुनिले वर्तमान समयमा धर्मको आधार झन् बढी आवश्यक रहेको बताए। उनले विश्वका वर्तमान यावत् समस्याको समाधानका लागि जैन धर्ममा उल्लेख गरिएका आचरणको परिपालनाले सम्भव रहेको धारणा राखे। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालमा साधु सन्तको अनन्त कालदेखि नै उचित आदर सत्कार गर्ने परम्परा रहेको बताए। विश्वका तीन प्रमुख धर्म सम्प्रदाय– सनातन, बौद्ध र जैन धर्मको आदिभूमि नेपालमा जैन आगमको प्रथम नेपाली अनुवाद ग्रन्थको लोकार्पण हुनु अत्यन्त महत्वपूर्ण कार्य रहेको उप्रेतीले बताए। 

प्रकाशित: ९ वैशाख २०७८ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App