१७ चैत्र २०८० शनिबार
राजनीति

अझै टुंगिएन कांग्रेसमा किचलो

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण र वितरणका विषयमा सभापति शेरबहादुर देउवा र इतर पक्षबीच सहमति जुट्न नसक्दा आइतबार पनि केन्द्रीय समितिको बैठक बस्न सकेन। पदाधिकारीबीच सदस्यता वितरणमा सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक सरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो केन्द्रीय समिति बैठक बोलाइएको थियो। केन्द्रीय समिति बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भएको थियो।  

संस्थापन र इतर पक्षका नेताहरूबीच सदस्यता वितरणका लागि कटअप डेट (अन्तिम मिति) तोकेर जानुपर्ने प्रस्ताव सदस्यता छानबिन समितिले गरेको थियो। त्यसमा नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले सहमति जनाएका थिए। तर संस्थापन पक्ष सदस्यता वितरणका क्रममा समस्या देखिएका जिल्ला र समस्या नभएका जिल्लालाई दुई भागमा वर्गीकरण गरी मिति तोक्नुपर्ने पक्षमा उभिएपछि सहमति हुन नसकेको हो। पदाधिकारी बैठकमा दुवै पक्ष आआफ्नो अडानमा कायमै रहँदा सदस्यता वितरण कहिलेसम्म गर्ने भन्ने टुंगो लाग्न नसकेको हो।  

त्यस्तै सदस्यता वितरणमा समस्याग्रस्त प्रदेश २ का रौतहट र महोत्तरीबाहेकका जिल्ला तथा काभ्रे र सिन्धुपाल्चोकका विषयमा पनि नेताहरूबीच सहमति जुट्न सकेको छैन। संस्थापन पक्ष क्रियाशील सदस्यता वितरण अघि बढ्न नसकेका सात जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउन चाहन्छ। तर संस्थापन इतर समूह भने केन्द्रीय प्रतिनिधि पठाउने पक्षमा छैन। निर्वाचन समितिलाई नै जिम्मेवारी दिएर अघि बढ्नुपर्ने संस्थापन इतर समूहको बुझाइ छ।

क्रियाशील सदस्यता वितरण अन्तिम मिति कहिलेलाई तोक्ने र काभ्रे, सिन्धुपाल्चोकसहितका सात जिल्लामा देखिएको विवाद कसरी समाधान गर्ने भन्नेमा पदाधिकारी बैठकमा छलफल भए पनि सहमति भएन। केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘पदाधिकारीहरूबीच सहमति जुटाउने र केन्द्रीय समिति बैठकमा सहमतिको प्रस्ताव पेस गर्ने परम्परा छ। सहमतिका लागि नेताहरूले आइतबार समय लिनुभएको हो।’ सोमबार ४ बजे बस्नेगरी आइतबारको बैठक स्थगित भएको जानकारी दिँदै उनले भने, ‘क्रियाशील सदस्यता वितरण अन्तिम मिति, विवादित जिल्लामा कसरी अघि बढ्ने र निर्वाचन समितिको संयोजक कसलाई बनाउने भन्ने टुंगो बैठकले लगाउनेछ।’ 

प्रकाशित: ६ वैशाख २०७८ ००:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App