ठगीको नयाँ तरिकाको रूपमा परिचित ‘हनी ट्र्याप’ मा संलग्न तीन जनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमार्फत एक चिकित्सकलाई फसाएर लाखौँ रुपैयाँ असुल्ने योजना बनाएका दुई जनालाई प्रहरीले मंगलबार र एक जनालाई बुधबार नियन्त्रणमा लिएको हो।
यसरी सुरु भएको थियो ठगीको जालो
भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ नयाँ ठिमीमा बस्ने २५ वर्षीया वर्षा दर्जीले सामाजिक सञ्जालमार्फत एक चिकित्सकलाई ‘मेरो खुट्टामा घाउ छ, ड्रेसिङ गर्न आइदिनुस्’ भन्दै सम्पर्क गरेकी थिइन्।
चिकित्सक मंसिर ६ गते दिउँसो १ बजे उनको कोठामा पुगे। कोठामा पुगेपछि वर्षाले ढोकाको चुकुल लगाएर चिकित्सकमाथि शारीरिक सम्पर्कको आरोप लगाउँदै ‘तपाईंलाई बलात्कारको मुद्दामा फसाउँछु’ भनेर धम्की दिइन्। सुरुमा १८ लाख रुपैयाँ माग गरिए पनि बार्गेनिङ गर्दै ८ लाख रुपैयाँमा कुरा मिलाउने प्रयास भएको थियो।
चिकित्सक कोठाबाट बाहिर निस्कन खोज्दा समृद्धि मगर नामकी अर्की एक महिला कोठा भित्र प्रवेश गर्छिन् र उनलेपनि चिकित्सकलाई बलात्कारको आरोपमा मुद्दा लगाइदिने भन्दै धम्की दिन थाल्छिन्।
डराएका चिकित्सकसँग उनीहरूले रकमको सौदाबाजी गरी भक्तपुरको कौशलटारस्थित ‘वेभ सेकुवा कर्नर’ मा रकम बुझ्ने योजना बनाउँछन्। मंसिर ११ गते बिहान ११ बजे पीडितबाट २५ हजार रुपैयाँ नगद लिन्छन् र त्यसपछि समृद्धि मगरको बैंक खातामा थप २५ हजार रुपैयाँ जम्मा गर्न भन्छन्। साँझ ४ बजेसम्म गिरोहले ७५ हजार रुपैयाँको चेकसमेत बुझ्छन्।
घटनाबारे जानकारी पाएपछि प्रहरीले मंसिर ११ मा समृद्धि मगर र दीपेन्द्र दर्जीलाई नियन्णमा लिन्छ। र मंसिर १२ मा मुख्य योजनाकार वर्षा दर्जी पक्राउ पर्छिन्।
अनुसन्धानका क्रममा उनीहरूको गिरोहले सामाजिक सञ्जाल प्रयोग गरेर मानिसलाई फसाउने र आर्थिक लाभ लिने काम गर्दै आएको तथ्य फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा थप एक जना समेत घटनामा संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ। हात ती व्यक्ति फरार छन्।
पक्राउ परेका तीनजना अभियुक्तमा वर्षा दर्जी, समृद्धि मगर र दीपेन्द्र दर्जी रहेका छन्। काभ्रेको भूम्लु गाउँपालिका–४ स्थायी घर भएकी वर्षा दर्जी भक्तपुरको नयाँ ठिमीमा बस्दै आएकी थिइन्। इलाम माइ नगरपालिका–१ स्थायी घर भएकी समृद्धि मगर पनि नयाँठीमीनै बस्दै आएकी थिइन्। दीपेन्द्र दर्जी काभ्रेको भूम्लु गाउँपालिका–४ का स्थायी बासिन्दा हुन्। उनले २०७१ सालमा ज्यानसम्बन्धी कसुरमा सजाय भुक्तान गरिसकेको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा प्रहरीले वर्षा दर्जीको नाममा काटिएको ७५ हजार रुपैयाँको चेक, नगद २० हजार ५ सय रुपैयाँ, र चारवटा मोबाइल बरामद गरेको छ।
अनुसन्धानले गिरोहले सामाजिक सञ्जाल प्रयोग गरी व्यक्तिहरूलाई फसाउने, डरत्रास देखाएर रकम असुल्ने जस्ता काम गर्दै आएको खुलेको छ।
भक्तपुर प्रहरीले यस घटनमा थप अनुसन्धान जारी राखेको छ। फरार अभियुक्तको खोजी तीव्र बनाइएको छ भने पक्राउ परेकाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित: १२ मंसिर २०८१ १९:०६ बुधबार