१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

पोखरामा ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक’ प्रतियोगिता सुरू

पोखरामा बुधबारदेखि साहसिक खेलका रूपमा परिचित ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेस’ को दोस्रो संस्करणको प्रतियोगिता सुरू भएको छ।

पोखरा महानगरपालिका–१३ आर्वाविजय गाउँमा सञ्चालन भएको प्रतियोगिता यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ। सो दौडमा नेपालसहित १३ देशका ५९ साइक्लिस्टले सहभागिता जनाएको प्रतियोगिताका डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए।

प्रतियोगितामा नेपालसहित भारत, चीन, सिङ्गापुर, अमेरिका, बेलायत, अस्ट्रेलिया, इण्डोनेसिया, श्रीलङ्का,फिलिपिन्स, न्यूजील्याण्डलगायत देशका साइक्लिस्टहरूले प्रतिस्पर्धा गरेका छन्। साइक्लिस्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्टायाइने शर्माले जानकारी दिए। शर्माका अनुसार सिनियर, जुनियर र महिलातर्फको इभेण्टमा प्रतिष्पर्धा हुनेछ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताए। उनले भने,“पोखराको आर्वामा आयोजित यस प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रियस्तरका साहसी खेलाडीलाई एउटै मञ्चमा ल्याइ साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको छ।”

खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई प्राथमिकतामा राख्न मन्त्री थापाले आग्रह गरे।

पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले आर्वामा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले बताए। समुद्री सतहदेखि एक हजार चार सय मिटर उचाइमा रहेको आर्वा–विजयडाँडा हुने माउण्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुर्‍याउने उनको भनाइ छ। 

प्रकाशित: १२ मंसिर २०८१ २०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App