४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्र त्याग गरेका चार प्रदेश सांसदको पद खारेज हुँदै

माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश २ का चार सांसदको पद आज खारेज हुँदैछ । आइतबारसम्म स्पष्टीकरणको जवाफ नआएपछि चारजना सांसदले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेश सभा सचिवालयलाई पठाएको छ । केही बेरमै सभामुख सरोज यादवले रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनकुमार कुशवाहा र मोहम्मद समीरको सांसद पद खारेज भएको जानकारी सदनलाई गराउँदैछ ।

माओवादी केन्द्रका सचेतक दीलिप साहकाअनुसार आइतबार दिनभर चारै जना सांसदलाई पार्टीमा फर्काउन गरेको कसरत सफल हुन सकेन । उनीहरु पार्टीमा फर्कन नमानेपछि दल त्याग गरेका धनुषाका रामचन्द्र मण्डल, बाराकी ज्वालाकुमारी साह, रौतहटका कुन्दनकुमार कुशवाहा र बाराका समानुपातिक सांसद मोहम्मद समीरको संसद पद खारेज हुने गर्न सभामुखलाई आइतबार नै सूचना पठाइसकिएको छ । चारै जनाले माओवादी केन्द्रका संसदीय दलका नेता भारत साहले चैत २७ गत्ते चौबीस घण्टे स्पष्टीकरण सोधेको थियो ।

चारै जना नेकपा एमालेमा गएको जनकारी पाएपछि तपाईहरु माओवादी केन्द्रमै हो वा एमालेमा जानुभयो ? चौबीस घण्टाभित्र लिखित जवाफ पेश गर्नका लागि स्पष्टीकरण सोधेका थियौं,’ उपनेता जगतप्रसाद यादवले नागरिकन्यूजसँग भने,‘ जवाफ नआएपछि मैले उहाँहरुसँग प्रत्यक्ष रुपमा समेत धारणा सोधेका थियौ । उहाँहरू नफर्किने जवाफ फर्काएपछि पद रिक्त गर्नका लागि प्रदेश सभा सचिवालयलाई पत्र पठाएको हो ।’

रामचन्द्र मण्डलले भने, ‘म नेकपा एमालेमा प्रवेश मात्र गरेको छैन । एमालेको केन्द्रीय कमिटी सदस्य समेत छु । माओवादी केन्द्रमा फर्किने सवालै आउँदैन ।’  

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा चैत २७ गते माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको संयोजकत्वमा बसेको बैठकले प्रदेश २ को प्रदेश सभामा पदाधिकारी चयन गर्ने निर्णय गर्दै दलको नेतामा भारत साह, उपनेतामा जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिपकुमार साह र सचेतकमा रुबी कर्णलाई चयन गरिएको थियो ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार प्रदेश सभामा कानून सम्बन्धी उपसचिव अहिले नभएका कारण चैत्र २९ गते निर्णय लिन असम्भव भएको थियो । सभामुख सरोज कुमार यादवले कानूनी परामर्श लिएर माओवादी केन्द्रले पठाएको पत्र प्रदेश सभाको बैठकमा पढेर सुनाएपछि स्वतः पद रिक्त हुने यादवले बताए । समानुपातिक सांसद मोहम्मद समिरको स्थानमा माओवादी केन्द्रले नयाँ व्यक्तिलाई मनोनयन गरेर पठाउने माओवादी केन्द्र प्रदेश २ का सचेतक दीलिप साहले बताए । तीनवटा निर्वाचित पदमा उप–निर्वाचन मार्फत सांसद चयन हुने छन् ।

प्रकाशित: ३० चैत्र २०७७ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App