७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद्को अङ्क गणित परिवर्तन गर्न ताजा जनादेशमा जानुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताए। प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले देशको आवश्यकता र संसद्को गणित फरक परेको भन्दै संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्ने बताए।  

'कहिले देशको आवश्यकता र संसद्को गणित फरक पर्छ। कहिले कृत्रिम ढङ्गले केही मानिसले संसदीय गणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्', उनले भने, 'संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व गर्छ भन्न सकिँदैन। त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अङ्क गणितमा यदि अनुपयुक्त खेल भइरहेको छ भने त्यसले अनुपयुक्त आकार लिइरहेको छ। त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ। त्यस्तो अवस्थामा संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ। त्यो राजनीति हो।'

प्रधानमन्त्री ओलीले देश, जनता र विकासको आवश्यकताअनुसार संसद्को अङ्क गणित बनाइनुपर्नेमा जोड दिए। उनले यदि संसदीय अङ्क गणितले देश, जनता र विकासको आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्ने जिकिर गरे। 'संसद्लाई देशको आवश्यकताअनुसार अङ्कगणितीय बनावटमा लैजानुपर्दछ। संसदीय अङ्क गणितलाई भरसक मिलाउने प्रयास गर्नुपर्दछ' उनले भने, 'यदि व्यवस्थापन भएनन् भने ताजा जनादेशमा जानुपर्दछ।'

उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा हुनुपर्ने बताए। प्रधानमन्त्रीले देशको आवश्यकतासँग अङ्क गणित मेल नखाएपछि ताजा जनादेशमा जानका लागि आफूले संसद् विघटन गरेको प्रष्टीकरण दिए। 'राष्ट्रिय आवश्यकतासँग अङ्क गणितले तादात्मयता राखेन, हामीले तादात्मयता राख्न कोसिस गर्‍यौ, भएन। तब ताजा जनादेशमा जानु पथ्र्यो', उनले भने, 'मेरो विचारमा फेरि पनि ढिलोचाँडो ताजा जनादेशबाट अहिलेको अङ्क गणितमा हेरफेर नगरी, अनुकूल अङ्क गणितबिना देश अगाडि जानै सक्दैन। त्यसकारण फेरि पनि हामी ताजा जनादेशमा जानुपर्ने हुन्छ। देशको विकास र राष्ट्रिय आकांक्षालाई परिपूर्ति गर्ने खालको अंक गणित निर्माण गर्नुपर्दछ।'

प्रकाशित: २१ चैत्र २०७७ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App