coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी ढाकामा

राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका सिलसिलामा सोमबार बंगलादेशको राजधानी ढाका पुगेकी छन्। बंगलादेश स्वतन्त्रताको स्वर्णजयन्ती तथा राष्ट्रपिता बंगबन्धु शेख मुजिवर रहमानको जन्म शताब्दीका अवसरमा सहभागी हुन उनी सोमबार बिहान ढाका पुगेकी हुन्।

राष्ट्रपति भण्डारीलाई बंगलादेशका समकक्षी मोहम्मद अब्दुल अमिदले हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भण्डारीलाई कोभिड–१९ सुरक्षा मापदण्ड पालना गर्दै स्वागत गरिएको थियो। उनको सम्मानमा बंगलादेशको सेना, नेभी फोर्स र एयर फोर्सले संयुक्तरूपमा २१ तोपको सलामी दिएका थिए।

राष्ट्रपति भण्डारीले सोमबार नै राष्ट्रिय स्मारकमा पुगेर बंगलादेशको स्वतन्त्रताका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति सम्मान व्यक्त गर्दै त्यहाँ राखिएको भ्रमण पुस्तिकामा सहिदहरूको सम्झना र सम्मानमा केही शब्द लेख्दै हस्ताक्षर गरेकी थिइन्। त्यस क्रममा उनले नेपाल बंगलादेशलाई स्वतन्त्र मुलुकको मान्यता दिने सातौं मुलुक रहेको भन्दै खुसी व्यक्त गरेकी थिइन्।

राष्ट्रपति भण्डारीसँग सोमबार नै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेट गरेकी छन्। भेटमा दुईपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

भण्डारीको भ्रमणका बेला नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र, कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादीलगायतका विषयमा छलफल हुनेछ। त्यस्तै रेल्वे, यातायात, बन्दरगाह सुविधालाई नेपालसँग जोड्ने, बंगलादेशले नेपालबाट विद्युत् खरिदका लागि गरिरहेको पहलका विषयमा पनि छलफल हुने जनाइएको छ। राष्ट्रपति भण्डारीले नेपाल बंगलादेश सम्बन्ध र बंगाबन्धु जन्म सताब्दी विषयमा सम्बोधन गर्ने कार्यक्रमसमेत छ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सचिव भरतराज पौड्याल तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्रमन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी छन्। राष्ट्रपति भण्डारी भ्रमण सकेर मंगलबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: १० चैत्र २०७७ ०१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App