५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

बढी राजस्व तिर्ने दुई उद्योग सम्मानित

कपिलवस्तुको कृष्णनगर भन्सारमा ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसमा बढी भन्सार राजस्व बुझाउने दुई उद्योगलाई सम्मान गरिएको छ। 

दिवसका अवसरमा बढी राजस्व बुझाउने कपिलवस्तुको विजया स्टिल प्रालि र सम्राट सिमेन्ट प्रालि दाङलाई सम्मानित गरिएको हो। विजया स्टिलले ५४ करोड ७७ लाख र सम्राट् सिमेन्टले ४४ करोड ८६ लाख राजस्व बुझाएको भन्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले प्रशंसा पत्रले दुवै उद्योगका प्रतिनिधिलाई सम्मान गरेका हुन्।

सो अवसरमा प्रजिअ गौतमले भन्सार बिस्तारै प्रविधिमैत्री बन्दै गएकोमा व्यापारीलाई कारोबार गर्न सहज भएको बताए। उनले सबैले वैध तरिकाबाट मालसामान भन्सार तिरेर ल्याइए सबैका लागि हितकारी हुनेसमेत बताए। उनले खुला सीमाका कारण हुने तस्करीले भन्सार राजस्वमा प्रभाव पार्ने गरेको र यसको नियन्त्रणमा सबैले साथ दिनुपर्ने बताए। उनले भन्सारले आफ्नो सेवा सुविधासमेत बिस्तारै सुधार गर्दै गएको बताए।

कार्यक्रममा भन्सारलाई सहयोग गर्ने आधा दर्जन बढी संस्था भन्सार एजेन्ट, कर्मचारीलाई समेत सम्मान गरिएको थियो। सो अवसरमा भन्सार प्रमुख फणीन्द्र खतिवडाले कृष्णनगर भन्सारले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्ब ५१  करोड लाख ५९ लाख ५८ हजार राजस्व संकलन गरेको बताए। लक्ष्यको ८६ प्रतिशत बढी राजस्व संकलन भएको र ६ महिनाको बाँकी अवधिमा वार्षिक लक्ष्यअनुसार राजस्व उठ्ने उनले बताए। उनले भन्सार विभागले छैटौँ सुधारका कार्यक्रम निर्माण गरेकाले अब भन्सारको सेवा सुविधासमेत थप प्रभावकारी र सहज बन्ने बताए।

सो अवसरमा  व्यापारी प्रेमशंकर शुक्लाले भन्सारले व्यापारीसँग थप समन्वय गर्नुपर्ने बताए। व्यापारीका लागि सहज हुने वातावरण निर्माण गरी व्यापारीमैत्री भन्सार बनाउनुपर्ने उनले बताए। कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसाल, शिवराज ओझालगायतले मन्तव्य दिएका थिए।

 उता जिल्लाको सुठौली भन्सार कार्यालयमा समेत दिवसका अवसरमा सरसफाइ र सम्मान कार्यक्रम गरिएको छ। कार्यालय प्रमुख किरण विष्टले दिवसका अवसरमा कार्यालयमा सरसफाइ र जग्गादातालगायतलाई सम्मान गरिएको बताए। सुठौली भन्सारमा ६ महिनामा ६७ करोड ८७ लाख बढी राजस्व संकलन भएको बताए। उनले लक्ष्यभन्दा बढी नै राजस्व उठेको बताए।

प्रकाशित: १३ माघ २०८२ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App