नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको नेतृत्व अब युवाहरुले गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा माधव नेपाल पक्षीय युवाहरुले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले अब युवाहरुले पार्टीको नेतृत्व गरेमा मात्र गन्तव्यमा पुग्न सकिने बताए।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चलाएको जहाज (नेकपा) दुर्घटनाग्रस्त भएको बताए। आफूहरुले अनुभवी भनेर ओली र प्रचण्डलाई विश्वास गरेको तर अहिले पार्टी दुर्घटनाग्रस्त बनाएको उनको भनाई छ।
‘हामीले दुईवटा अनुभवी क्याप्टनले चलाएको जहाजलाई गन्तव्यमा पुर्याउनुहुन्छ भन्ने विश्वास गरेका थियौं,’ उनले भने, ‘तर, आज दुर्भाग्यवस दुईवटा क्याप्टेनले चलाएको जहाज दुर्घटनाग्रस्त भएको छ।’
अब शीर्ष नेताहरुले दुर्घटनाग्रस्त बनाएको जहाज (पार्टी) लाई युवाहरुले चलाउनुपर्ने भट्टराईको भनाई छ। ‘अब त्यो जहाजलाई गन्तव्यमा पुर्याउने दायित्व तपाईं हाम्रो काँधमा आएको छ, युवाहरुको काँधमा आएको छ। म यहाँहरुलार्ई सोध्न चाहन्छु, के यहाँहरु त्यो पाइलटको सिटमा बस्न तयार हुनुहुन्छ कि हुनुहुन्न?,’ उनले प्रश्न गर्दै भने, ‘यहाँहरुले भन्नुपर्यो अब यदि त्यो जहाजको सिटमा बसेर त्यो जहाजलाई गन्तव्यमा पुर्याउन सक्छौं भन्ने हिम्मत तपाईंहरुमा छ भने हामी पक्कैपनि गन्तव्यमा पुग्न सक्छौं। त्यसकारण अब यो जहाज तपाईंहरुको हातमा आएको छ। मलाई लाग्छ पक्कैपनि यो गन्तव्यमा पुग्नेछ।’
एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। सो पार्टीको नेतृत्वको ओली र प्रचण्डले गरेका थिए। तर, पार्टीभित्रको अन्तरकलहका कारण नेकपा विभाजनको मुखमा पुगिसकेको थियो। ०७७ फागुन २३ गते सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई वैधता दिन अस्वीकार गरेपछि दुवै पार्टी औपचारिक रुपमै पूर्ववत् अवस्थामा फर्किसकेका छन्।
प्रकाशित: ७ चैत्र २०७७ ०९:४६ शनिबार