१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली र प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन बामदेव गौतमको आग्रह

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन्। बुधबार एक प्रेस विज्ञप्तिमार्फत उपाध्यक्ष गौतमले संसद विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाउन माग गरेका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु,’ गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनुपर्ने पनि उनको माग छ।  

यस्तै, गौतमले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने माग समेत अघि सारेका छन्।

संसद विघटनलाई बदर गरेरे सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको उनको भनाई छ। संसद विघटन बदर भएको दिनलाई उनले निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिनको रुपमा लिएको बताएका छन्।

गत पुस ५ गते प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णलयलाई सर्वोच्च मंगलबार बदर गरिदिएको थियो।

बामदेव गौतमले जारी गरेकाे प्रेस विज्ञप्ति:

प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७ साल फागुन ११गतेको दिन ऐतिहासिक महत्वको रहेको छ। यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। 

यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु। यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु:- 

१) सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ। 

२) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनु पर्छ। 

३) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।

वामदेव गौतम , उपाध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

१२।११।२०७७

प्रकाशित: १२ फाल्गुन २०७७ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App