१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेशसभा भंग गरे कडा प्रतिवाद : आचार्य

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा विघटन गर्ने अभिव्यक्ति दिएपछि नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आइसकेकाले सांसदलाई नधम्क्याउन चेतावनी दिएका छन् । नेकपा–दाहाल समूहका प्रदेश १ इन्चार्जसमेत रहेका आचार्यले शनिबार राजधानीमा पत्रकार भेटघाटमा प्रदेशसभा विघटन गर्ने धम्की दिएर मुख्यमन्त्री राईले सांसदलाई धम्क्याएको बताउँदै गलत कदम चाले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।  

‘मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । यस्तो अवस्थामा दलभित्रको विवादको हवाला दिँदै सांसदलाई धम्क्याउने काम राम्रो होइन । यसले राम्रो गर्दैन । मुख्यमन्त्रीले प्रदेशसभा विघटन गरेर त हेर्नुस् । म चुनौती दिन चाहन्छु, मुख्यमन्त्रीको यस्तो धम्कीले केही हुनेवाला छैन । प्रदेशसभा विघटन गरिए हामी पुनस्र्थापित गर्छौ’, आचार्यले भने ।  

आचार्यले मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको तर संसद् बैठक नबसालेर प्रदेशसभालाई बन्धक बनाउने काम भएको बताए । ‘अविश्वासको प्रस्ताव दर्ता भएको करिब दुुई महिना हुन लागिसकेको छ । यति लामो समयसम्म संसद् बैठक नराखेर अल्पमतको सरकार चलाउने ? यस्तो कहीँ पनि हुँदैन । संसद् बैठक बस्नुपर्छ । संसद्मा अल्पमत छ वा बहुमत छ, परीक्षण गरौं । प्रतिगमनकारीहरूको पक्षमा बहुमत आयो भने सरकार टिक्छ, प्रतिगमन विरोधीहरूको पक्षमा बहुमत आयो भने सरकार ढल्छ,’ उनले भने ।  

मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकार पक्षीय ओली समूहका नेताहरूले नै संसद् बैठक बस्न नदिएर अवरोध खडा गरेका थिए । ‘सरकार पक्षले नै संसद् अवरुद्ध गर्ने कहीँ नभएको प्रक्रिया देखाइएको छ । यसलाई हामीले के भन्ने’, आचार्यले भने, ‘आफ्नो फाइदाका लागि संविधान र पार्टी विधान च्यात्ने अनि अहिले त्यही पार्टीको बहुमतले हटाएर कारबाही गरिसकेपछि दलीय प्रक्रियाको वकालत गर्ने ?’ आचार्यका अनुसार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध ४० जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । ९३ सदस्यीय प्रदेशसभामा ३० जनाको पनि समर्थन नभएको सरकार कुन नैतिकताले टिकिरहेको छ भन्दै आचार्य भने, ‘अविश्वास प्रस्ताव आइसकेपछि सामना गर्नुको साटो सरकार पक्षले नै संसद् अवरोध गरेर नैतिकता गुमाएको छ ।’

आचार्यले मुख्यमन्त्री राईको धम्कीको कडा प्रतिवाद गरिनेसमेत बताए । ‘ल अल्पमतमा प¥यौं, अब तिमी छोड, लोकतान्त्रिक प्रक्रियाले चल्नुपर्छ भन्दा प्रदेशसभा भंग गरिदिन्छु भनेर धम्की दिने ? यस्तो धम्कीले हामीलाई फरक पार्दैन । त्यसो भए हामी कडा प्रतिवाद गर्छौं,’ उनले भने, ‘हामी प्रतिगमनविरोधी आन्दोलनमा छौं । जनताले साथ दिएका छन् । प्रतिगमनकारीलाई घुँडा टेकाएर छाडिन्छ ।’

आचार्यले अविश्वासको प्रस्ताव मुख्यमन्त्रीलाई सोधेर दर्ता नहुने प्रस्ट पारे । सत्ता पक्षका सांसदले नै प्रदेशसभा बैठक अवरुद्ध गरेको भन्दै उनले आक्रोश पोखे । अविश्वासको प्रस्ताव सडकमा टाउका गन्ने नभएर संसद्मा टाउको गन्ने प्रक्रिया भएको उनले बताए । ‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमपछि राजनीतिक र व्यावहारिक रूपमा पार्टी विभाजित भइसकेकाले प्रदेश सरकार रहिरहनु लोकतन्त्रमाथि थप प्रहार हो’, आचार्यले भने ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App